एकदिवसीय कप्तान बनेपछि सन्दीपको प्रतिक्रिया- एउटै टोली हौं, मिलेरै लक्ष्य हासिल गर्नेछौं
एकदिवसीय राष्ट्रिय टोलीको कप्तान बनेपछि सन्दीप लामिछानेले अब विवाद नरहेको जनाउँदै सबै मिलेर लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
यूएईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेको नेतृत्वमा नेपाली टोली घोषणा गरेको छ। त्यसका लागि तयारी गर्न नेपाली टोली शनिबार श्रीलंका जाँदै छ।
यसअघि उनले टी-२० राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए। उनकै नेतृत्वमा नेपालले टी-२० विश्वकप ग्लोबल छनोट खेलेको थियो।
ज्ञानेन्द्र मल्ललाई हटाएर टी-२० राष्ट्रिय टोलीको जिम्मेवारी लामिछानेलाई दिइएको थियो। अहिले एकदिवसीय टोलीको नेतृत्व पनि उनले पाएका छन्।
एकदिवसीय टोलीको कप्तान बनेपछि पहिलो पटक उनले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाएका छन्। शुक्रबार उनले ट्वीटर मार्फत नेपाली टोलीको फोटो ट्वीट गर्दै नेपालका लागि फेरि एकजुट भएर खेल्ने बताएका छन्।
नेपालका लागि सबैले सक्दो प्रयास गर्ने बताउँदै लामिछानेले भनेका छन्, “हामी एउटै टोली हौं र एकजुट भएर जे पनि हासिल गर्न सक्छौं।”
टी-२० विश्वकपका लागि नेपाल छनोट हुन सकेको थिएन। उनले त्यसलाई स्मरण गर्दै भनेका छन्, “हामी सँगसँगै फेरि उठ्नेछौं।”
लिग-२ का लागि लामिछानेको नेतृत्वमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम सोब र भीम सार्की छनोट भएका छन्।
लिग-२ को तयारीका लागि नेपालले श्रीलंकामा चार वटा खेल खेल्नेछ। दुई वटा खेल श्रीलंकन नाभीसँग तथा एक-एक खेल श्रीलंकन प्रहरी र संयुक्त टोलीसँग खेल्नेछ।