मधेशमा कांग्रेस नेतृत्वका लागि निधि पक्ष पनि प्रतिस्पर्धामा
नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेका मधेशका जिल्लामा चुनावी सरगर्मी बढेको छ।
कांग्रेस जिल्ला नेतृत्वका लागि छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धा हुन थालेको छ। केही जिल्लामा संस्थापन पक्षधर र इतर पक्षबीच प्रतिस्पर्धा छ भने केही जिल्लामा विमलेन्द्र निधि पक्षले उम्मेदवार खडा गरेको छ।
कांग्रेसको धनुषा सभापतिमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। नयाँ नेतृत्वका लागि २३ फागुनमा हुने निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट सन्तोष यादवले उम्मेदवारी दर्ता गराएका छन् भने डा. शेखर कोइराला पक्षबाट दिनेश परसैला उम्मेदवार बनेका छन्। त्यस्तै, निधि पक्षबाट योगेन्द्र पञ्जियारले उम्मेदवारी दिएका छन्।
तीन जनाको उम्मेदवारी परेपछि कांग्रेसको जिल्ला सभापतिको छिनोफानो दोस्रो चरणबाट हुने देखिएको छ।
त्यस्तै, जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। गणेशप्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले उम्मेदवारी दिएको जिल्ला निर्वाचन समितिले जनाएको छ।
यसै गरी सचिव पदमा नौ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार, नरेश यादव, श्यामचन्द्र यादव, नवलकिशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धीरेन्द्रमोहन झा, शिवशंकरकुमार गोइत, दीपेन्द्रकुमार भडखेर र कन्हैयाकुमार कर्ण उम्मेदवार बनेका छन्।
सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेशकुमार बस्नेत, इन्द्रकुमार महतो, विजयकुमार यादव र मोहम्मद साकिर राइनले उम्मेदवारी दिएका छन्।
त्यस्तै, महोत्तरीमा पनि सभापतिमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। महोत्तरीमा आज निर्वाचन हुँदै छ।
जिल्ला सभापति पदमा नागेश्वर यादव, बजरंग नेपाली र सुशील यादवले उम्मेदवारी दर्ता गराएका हुन्।
सप्तरीमा सभापति लगायत कार्यसमितिका लागि शुक्रबार निर्वाचन हुँदै छ। यहाँ भने सभापतिमा दुई जना उम्मेदवार छन्।
सभापतिमा देउवा पक्षबाट शत्रुधनप्रसाद यादव र डा. कोइराला पक्षबाट रामदेव साह उम्मेदवार छन्।
यसै गरी, रौतहटमा २१ फागुनमा चुनाव हुँदै छ। सभापतिका लागि सुनील यादव जितेन्द्रले देउवा पक्षबाट र हृदयनारायण यादवले डा. कोइराला पक्षबाट उम्मेदवारी दिएका छन्। सुनीललाई प्रदेश सभापति कृष्णा यादव र हृदयनारायणलाई अफताब आलम लगायतको समर्थन छ।
बारामा २१ फागुनमा चुनाव हुँदै छ। यहाँ भने तीन जना उम्मेदवार छन्। देउवा पक्षबाट शम्भुबहादुर बुढाथोकी र राजेशराय यादवले उम्मेदवारी दिएका छन्। डा. कोइराला पक्षबाट रामानन्दप्रसाद यादव उम्मेदवार बनेका छन्।
सिरहामा चुनाव अन्योल बनेको छ। २० फागुनमा चुनाव तय भए पनि विवाद उत्पन्न भएको छ।
सभापतिका लागि रामचन्द्र यादव र रामसुन्दर चौधरीले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। दुवै जना संस्थापन पक्षकै हुन्।
पर्सामा भने संस्थापक पक्षका जनार्दनसिंह क्षेत्री सभापतिमा निर्वाचित भइसकेका छन्। उनी प्यानल सहित निर्वाचित भएका हुन्।