एमसीसीका आयोजनालाई मेलम्ची बन्न दिंदैनौंः सञ्चार मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदानबाट सञ्चालन हुने आयोजना निर्धारित मितिमै सम्पन्न हुने प्रतिबद्धता जनाएका छन्।
एमसीसी कम्प्याक्ट संसद्बाट अनुमोदन भएको चार दिनपछि बिहीबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तरक्रियामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
“संसद्बाट अनुमोदन भए पनि एमसीसी सम्पन्न गर्न चुनौतीहरू बाँकी नै छन्,” मन्त्री कार्कीले भने, “नेपालको विद्युत् र सडक विकासका लागि अति नै महत्वपूर्ण यो परियोजनालाई मेलम्ची जस्तो बन्न दिंदैनौं।”
२९ भदौ २०७४ मा अर्थ मन्त्री भएका वेला कार्कीले एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार नेपालले ५० करोड डलर अनुदान प्राप्त गर्नेछ। जसबाट ३१५ किलोमिटर विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडकलाई अन्तराष्ट्रिय मापदण्डको बनाउने मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालले जनाएको छ।
एमसीसीको अनुदानबाट सञ्चालन हुने परियोजना प्रारम्भ भएको पाँच वर्षभित्र सम्पन्न भइसक्नुपर्छ।