पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, पेट्रोल प्रति लिटर रू. १५०
सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर रु.५ का दरले बढाएको हो ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य बढाएको जनाएको छ।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर रू.१५० रुपैयाँ डिजेल र मट्टीतेल रू. १३३ तोकिएको छ। पेट्रोल तथा डिजेलको यो अहिलेसम्मकै उच्च मूल्य हो। हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रति लिटर रू.१० र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर एक सय डलर बढेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेका कारण बजारमा मूल्यमा चाप परेको छ। अन्तर्राष्ट्रय बजारमा बिहीबार कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय १७ डलरसम्म पुगेको छ।