स्थानीय चुनावका लागि ८ अर्ब ११ करोडको बजेट सुनिश्चितता
आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयले आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता गरेको छ।
सरकारले आगामी ३० वैशाखमा स्थानीय चुनाव गर्ने घोषणा गरेको छ। त्यसको तयारी गरिरहेको निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोड रुपैयाँ माग गरेको थियो।
अर्थ मन्त्रालयबाट आठ अर्ब ११ करोडको सुनिश्चितता प्राप्त भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। यो रकम स्थानीय चुनाव सञ्चालन एवं व्यवस्थापनमा खर्च हुने उनले बताए।
स्थानीय चुनावका लागि मतदाता नामावली अद्यावधिक गर्न पनि आयोगले अनुरोध गरेका छ। २० देखि २६ फागुनसम्म मतदाता नामावली अद्यावधि गरिने आयोगले जनाएको छ।
मतदाता नामावलीमा भएको त्रुटि सच्याउन, कसैले झुटा विवरण दिई नाम समावेश गरेको भए उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश गरिएको भए एउटामा कायम गर्न, मृत्यु भएका वा नागरिकता त्याग गरेको व्यक्तिको नाम समावेश भए जानकारी दिन आयोगले आग्रह गरेको छ।
यस पटक स्थानीय चुनावमा सहभागी हुन ८० दलले निवेदन दिएका छन्। दलका निवेदनमाथि छानबिन भइरहेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए।