बुद्धको बाटो (तस्वीरहरू)
बौद्ध धर्मावलम्बीले नयाँ वर्ष अर्थात् ग्याल्पो ल्होसार विविध कार्यक्रमको आयोजना गरी मनाउँदै छन्।
बौद्ध धर्म मान्ने शेर्पा, तामाङ तथा तिब्बतियन समुदायले नयाँ वर्षका रूपमा तीन दिन ग्याल्पो ल्होसार मनाउने गर्छन्। आज २१४९औं ग्याल्पो ल्होसार मनाइँदै छ।
यसको पहिलो दिन बिहान उठेर घरमा पूजापाठ गर्छन् र गुम्बामा गुरुको दर्शन गरी आशीर्वाद लिन्छन्, यसलाई ‘लामा ल्होसार’ भनिन्छ।
त्यस्तै, दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठामीठा परिकार खाने गरिन्छ, यसलाई ‘परिवार ल्होसार’ भनिन्छ।
तेस्रो दिन बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल (भैरव, महाकाल आदि) को पूजा गरिन्छ, यसलाई ‘धर्मपाल ल्होसार’ भनिन्छ।
आज पहिलो दिन बौद्धस्थित बुद्धनाथ स्तूपमा पूजापाठ गरिएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी पूजापाठका लागि बौद्ध स्तूप पुगेका छन्।