हाम्रो आन्दोलनले प्रधानन्यायाधीशमाथि महाअभियोग लाग्यो: नेपाल बार
नेपाल बार एसोसिएशनले आफूले गरेको आन्दोलनका कारण निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाअभियोग लागेको जनाएको छ।
काठमाडौंमा सम्पन्न १५औं सम्मेलनको निष्कर्ष सार्वजनिक गर्दै बारले यस्तो दाबी गरेको हो।
बारको काठमाडौं घोषणापत्रमा भनिएको छ, “निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बहिर्गमन र न्यायायिक शुद्धीकरण एवं सुधारका लागि नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीश, पूर्व न्यायाधीश समाज र नागरिक समाजको समेत सहभावमा गरेको आन्दोलनको परिणाम निज विरुद्धको महाअभियोगको प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत भएर निलम्बित भएको र जुनसुकै अवस्थामा पनि चोलेन्द्र शम्शेर जबरालाई न्यायपालिका र सार्वजनिक दायित्वको पदमा स्वीकार गर्न नसक्ने यो सम्मेलन घोषणा गर्दछ।”
बारका अध्यक्ष चन्देश्वर श्रेष्ठले संसद्मा दर्ता भएको महाअभियोग पारित गर्न समेत माग गरेका छन्।
१ फागुनमा सत्ता गठबन्धनले प्रधानन्यायाधीश जबरा विरुद्ध ९८ सांसदको हस्ताक्षर सहित दर्ता गरेको महाअभियोग प्रस्ताव संसद्मा विचाराधीन छ।