पूँजी बजारमा भइरहेको भित्री कारोबार रोक्न अर्थ मन्त्री शर्माको निर्देशन
अर्थ मन्त्री जनार्दन शर्माले पूँजी बजारमा भित्री कारोबार भइरहेको बताएका छन्।
नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका नवनियुक्त अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको स्वागत कार्यक्रममा अर्थ मन्त्री शर्माले यस्ता क्रियाकलाप बजारको हित विपरीत भएकाले रोकिनुपर्ने बताएका हुन्। उनले इन्साइडर ट्रेडिङ (भित्री कारोबार), पम्प एड डम्प र सर्कुलर कारोबार जस्ता विकृत क्रियाकलाप आउँदो दिनमा पूँजी बजारमा नदेखिने गरी काम गर्न निर्देशन दिएका छन्।
“म मन्त्रीका रूपमा आएपछि भित्री कारोबार लगायत विकृतिबारे बोलिएको र छानबिन गरी कारबाहीको दायरामा ल्याइएको छ,” उनले भने, “त्यसैले आउँदा दिनमा पनि यस्ता विकृत कारोबार मान्य हुँदैन।”
मन्त्री शर्माले साना लगानीकर्ताको पूँजी बजारमा प्रवेश गराउने, अहिले कारोबार गरिरहेका साना लगानीकर्तालाई सुरक्षित गर्ने, ओटीसी बजारलाई प्राथमिकता दिने, नेप्से र धितोपत्र बोर्डबीच आपसी तालमेल गर्ने, शेयर सूचीकरणमा आउन नसकेका कम्पनीलाई सहजीकरण गर्ने, ब्रोकरको क्षमता बढाउने, सफ्टवेयरको क्षमता विकास गर्ने, ‘टीएमएस’ बाट थप सेवा सुचारु गर्ने लगायत ११ वटा निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो। खुला प्रतिस्पर्धाबाट छनोट भएर आएको नयाँ नेतृत्वलाई कसैको दबाब र प्रभावमा परेर काम नगर्न पनि अर्थ मन्त्री शर्माले निर्देशन दिए।
उनले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पूँजी बजारबाट आउने वातावरण सिर्जना गर्नुपर्ने बताए। “जनतासँग भएको पैसा पूँजीबजारमा त आयो। अब यो पैसालाई पूँजी निर्माणमा लगाउन सक्नुपर्यो। ठूला परियोजनामा पूँजी लगानी गर्ने विषयमा तपाईंहरू (धितोबोर्ड र नेप्सेका अधिकारी) ले ध्यान दिनुपर्छ,” उनले भने, ‘राष्ट्रिय महत्त्वका आयोजनामा कसरी लगानी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु अहिलेको पूँजी बजारको आवश्यकता हो।”
मन्त्री शर्माले पूँजी बजारलाई स्वचालित ढङ्गमा चल्न दिनुपर्ने र यसमा राजनीति गर्न नहुने बताए।
कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्त्वले पूँजी बजारलाई सकारात्मक बाटोमा डोर्याउने विश्वास लिएको बताए।
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले वित्तीय साक्षरताका क्षेत्रमा धेरै काम गरेर शेयर लगानीकर्तालाई सुसूचित गर्ने बताए। उनले साक्षरताकै अभावमा लगानीकर्ताहरू हल्ला गर्ने वा हल्लाको पछि लाग्ने प्रवृत्ति देखिएको बताए। त्यस्तै, ठूलो ‘मार्केट मेकर’ को अभाव देखिएको उनको भनाइ थियो।