प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रक्रियामा जान्छ: कानून मन्त्री
कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाअभियोग प्रस्ताव अघि बढ्ने बताएका छन्।
संसद् भवनमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बडूले आगामी बैठकमा छलफल गर्ने विषयमा सल्लाह भइरहेको बताए। “प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावले स्वाभाविक प्रक्रिया लिन्छ,” मन्त्री बडूले भने।
प्रतिनिधि सभामा प्रस्ताव दर्ता भएको सात दिनपछि कुनै पनि बैठकमा राख्ने व्यवस्था भएको उनले उल्लेख गरे। त्यस अनुसार प्रक्रिया अघि बढ्ने उनको भनाइ थियो।
“प्रतिनिधि सभाको आउने बैठकमा अगाडि बढ्छ, यसबारे सल्लाह भइरहेको छ,” मन्त्री बडूले भने। प्रतिनिधि सभाको अर्को बैठक २२ फागुनमा बोलाइएको छ।
प्रधानन्यायाधीश जबरा विरुद्ध १ फागुनमा प्रतिनिधि सभामा महाअभियोगको प्रस्ताव दर्ता भएको थियो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदले प्रस्ताव दर्ता गराएका थिए।
महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका छन्। अहिले कायममुकायम प्रधानन्यायाधीश दीपकुमार कार्कीले सर्वोच्च अदालतको नेतृत्व गरिरहेका छन्।