युद्धको घाउले बिथोलिएको दैनिकी
कुन पक्ष विजयी हुन्छ भन्ने आधारमा पनि युद्धलाई भिन्न नाम भिराइन्छ। तर, जुनै पक्षले जिते पनि दुवै पक्षबाट युद्धको मारमा परेकालाई भने कसैले हेर्दैन।
तिमीले लडेका थियौ
यस देशमा आफ्नो अमूल्य जीवनको बलिदान दिएर कमरेड
तिम्रो त्यो रातो रगतले यो वसन्त ऋतुको छाती रङ्गायो।
- तातो रगतको बदला, जुनमाया नेपाली।
बाल्यकालदेखि नै मामाघरको हजुरबाको कोठामा एउटा फोटो झुन्डिएको देखेको थिएँ। सानो छँदा त्यो फोटो हजुरबाको बुबाको भनिएको थियो। भित्ताबाट झिकिएपछि मात्रै जिजुबुबाको नभएर जोसेफ स्टालिनको फोटो भएको थाहा भयो।
मेरा हजुरबुबा क्रान्तिकारी कम्युनिष्ट थिए। र, उनको आदर्श थिए, स्टालिन। किनभने, उनलाई कम्युनिज्मले नै समाज परिवर्तन गर्छ भन्ने विश्वास थियो। तेत्रो वर्ष हामीलाई स्टालिनले पो हेर्दै गरेका छनु भन्ने बुझाई मेरो राजनैतिक चेतको जागरण एकै समयमा हुन गयो । म काठमाडौंमा रहेकाले माओवादी युद्धका शुरूआती दिनमा देशका अन्य ठाउँमा जस्तो अप्ठ्यारो भोग्नु परेन।
त्यति खेर त खासखुस कुरा मात्र सुनिन्थ्यो, दुई प्रहरी एम्बुसमा मारिए, सात गाउँलेलाई माओवादी भएको शङ्कामा सुरक्षाकर्मीले गोली हानेर मारे। तर, २०५८ सालमा सङ्कटकाल घोषणा गरिएपछि मुलुकमा जारी द्वन्द्वबारे कोही पनि अनभिज्ञ भएन। म पनि यसबाट अछुतो रहिनँ। समय क्रममा हिंसाका घटना बढ्दै गए, मृत्यु हुनेको सङ्ख्या बढ्दै गयो र नागरिक अधिकार कुण्ठित हुँदै गए।
फागुन २०५२ मा रोल्पाको होलेरीस्थित प्रहरी चौकीमा आक्रमण गरेर माओवादी विद्रोह शुरू भएको थियो। होलेरीको त्यो आक्रमण दशक लामो माओवादी विद्रोहको शुरूआत थियो, जसले देशलाई अधोगतितिर धकेल्यो। माओवादीको पकड भएको रोल्पा, रुकुम विद्रोहको केन्द्र बने। ती जिल्लामा राज्यका सुरक्षा निकायले गरेको क्रूर कारबाहीको साक्षी बन्न स्थानीय बासिन्दा बाध्य भए। जसै राज्यले आफ्नो कारबाही बढाउँदै गयो माओवादी सेनामा आवद्ध हुनेको सङ्ख्या बढ्दै गयो।
माओवादी सेनामा आबद्ध सबै स्वेच्छाले त्यहाँ भर्ती भएका थिएनन्। धेरैलाई बाध्य पारिएको थियो। तर, अन्य कैयौंले माओवादीको मागलाई समर्थन गरेका थिए, किनभने उनीहरूलाई ‘बन्दूकका भरमा टिकेको व्यवस्थालाई बन्दूकले नै ध्वस्त पार्न सक्छ’ भन्ने विश्वास थियो।
पूर्व माओवादी सेनाका लडाकु तथा पत्रकार मौसम रोका भन्छिन्, “लडाइँमा जानुअघि यदि भिडन्तमा शहीद भइएछ भने अर्को जन्ममा भेटौंला भन्दै एकअर्कासँग हात मिलाउँथें। मलाई अझैसम्म के अचम्म लाग्छ भने मान्छेहरूले कुन विचारले उत्साहित भएर मृत्युलाई अङ्कमाल गर्न सकेका होलान्।”
धेरैजसोलाई कुनै न कुनै पक्षमा लाग्न प्रेरित गर्ने तत्त्व थियो– प्रतिशोध। उदाहरणका लागि निमबहादुर पुनलाई नै लिऔं, उनका बुबालाई माओवादीले मारिदिएपछि उनी प्रहरीमा भर्ना भए। अर्कातिर प्रहरीले आफन्त मारिदिएको बदला लिन पनि माओवादीमा भर्ती हुनेहरू थिए।
तीमध्येकै एक हुन्, गणेश खड्का। उनी आफ्नो बुबालाई मारिदिने प्रहरीको प्रतिशोध लिन जनमुक्ति सेनामा भर्ती भए। युद्धकालमा यो प्रतिशोधको चक्र सामान्य बन्यो। यद्धकालमा जुनमाया नेपाली माओवादीको दलित सङ्गठनकी सदस्य थिइन्। सेनाहरुबाट छलिँदै रोप्लाको जंगलमा आफ्ना दुई साना छोरा च्याप्दै भूमिगत हुनुपरेको उनले बिर्सेकी र्छनन् । कहिलेकाहीं त खानका लागि एक गेडा मकै मात्र हुन्थ्यो। त्यो पनि उनी दुई फ्याक पारेर एउटा आफू खान्थिन् र अर्को आफ्नो सन्तानलाई दिन्थिन्।
१० वर्ष लम्बिएको विद्रोहमा १७ हजार मान्छे मारिए, एक हजार ३५० बेपत्ता भए, हजारौं अङ्गभङ्ग भए भने लाखौं विस्थापित भए। मंसीर २०६३ मा सशस्त्र युद्ध समाप्त भयो। युद्ध सकिएको दुई वर्षपछि राजतन्त्र हटेर देश संघीयतामा गएसँगै माओवादी सरकारमा गयो। त्यसयता माओवादी दल चार पटक सरकारमा गइसकेको छ भने देशमा ऐतिहासिक परिवर्तन भएका छन्।
कुन पक्ष विजयी हुन्छ भन्ने आधारमा पनि युद्धलाई भिन्न नाम भिराइन्छ। तर, जुनै पक्षले जिते पनि दुवै पक्षबाट युद्धको मारमा परेकालाई भने कसैले हेर्दैन। तर, त्यो युद्ध जहाँ कोही स्पष्ट विजेता छैन, त्यसलाई कसरी बुझ्ने? अनि यसलाई के नाम दिने? जनयुद्ध? गृहयुद्ध? सशस्त्र क्रान्ति? विद्रोह? वा सशस्त्र द्वन्द्व?
रोल्पा र रुकुममा भ्रमण गर्ने क्रममा मैले युद्धका दुवै पक्षमा सहभागी धेरैलाई भेटें। तिनीहरूका कथाव्यथा सुनें। दुवै पक्षबाट आततायी व्यवहार भएका थिए। आज जब दुवै पक्ष एक भएका छन् तब तिनले एकअर्कालाई कसरी लिएका छन्?
द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घनका घटनामा न्याय र मेलमिलापको प्रतिबद्धता गरिएको सन्धि युद्धका पीडितका लागि कागजी सपना सरह मात्र भयो। पार्टीका नेताले भनेका न्यायपूर्ण, समतामूलक समाजको सुन्दर छवि निर्माणको विश्वासमा युद्धमोर्चाको अग्रपङ्क्तिमा रहेर लडेका लडाकूले अहिले ती कुरा पत्याउन छाडिसके। कुनै वेला पार्टीप्रति प्रतिबद्ध कमरेड लाल पश्चात्तापपूर्ण अभिव्यक्ति दिन्छन्, “यति विजयको नजिक पुगेको युद्धलाई भताभुङ्ग पारिन्छ भने क्रान्तिको अर्थ के नै भयो र?”
(रोशन महर्जनको सहयोगमा।)