यसरी पाएका थिए बेलायती महिलाले मताधिकार
सामाजिक–राजनीतिक हरेक अधिकारबाट वञ्चित बेलायती महिलाहरूलाई औद्योगिक क्रान्तिले आर्थिक आत्मनिर्भरताको अवसरसँगै आफ्ना हकअधिकारबारे बोल्ने साहस दियो।
विश्वमा औद्योगिक क्रान्तिले कैयौं महिलालाई पूर्ण समयको रोजगारी दिलायो। उनीहरूलाई ठूलो समूहमा भेटघाट र राजनीतिक तथा सामाजिक समस्याहरूमा छलफल गर्ने मौका पनि दियो।
बेलायतमा पहिलो विश्व युद्धताका महिलाहरू सम्पूर्ण रूपले राजनीतिबाट बाहिरै थिए। उनीहरू उम्मेदवारका रूपमा चुनावमा सहभागी हुन सक्दैनथे; मतदान गर्ने अधिकार पनि थिएन। रानी भिक्टोरिया महिलाको राजनीतिक प्रभावप्रति सकारात्मक थिइनन्।
परम्परागत मान्यता अनुसार महिलालाई राजनीतिक वातावरणबाट टाढा राखिनुपर्छ भन्ने विश्वास गरिन्थ्यो। महिलालाई शारीरिक, मानसिक भावनात्मक र नैतिक रूपले पुरुषभन्दा तल्लो स्तरमा राखिन्थ्यो।
महिलाको स्थान घरमा रहनु र बच्चा हुर्काउनु हो भन्ने मान्यता थियो। सार्वजनिक जीवन अनि राजनीतिक संलग्नता पुरुषकै स्वामित्वमा रहेको विश्वास गरिन्थ्यो। महिला राजनीतिमा लागे घरलाई बेवास्ता गर्छन् भन्ने मान्यताले जरो गाडेको थियो। यसै कारण कतिपय महिला नै यस्तो सोच्थे कि उनीहरू राजनीति बुझ्न सक्षम नै छैनन्।
महिलालाई कानूनी अधिकार पनि थोरै थियो। विशेष गरी जब महिलाले विवाह गर्थिन्, उनीमाथिको सम्पूर्ण अधिकार लोग्नेको हुन्थ्यो। घरेलु दुर्व्यवहार सामान्य र स्वीकार्य थियो।
त्यही क्रममा महिलाको अवस्था सुधार्न भनी केही कानून बने। इन्फेन्ट कस्टडी एक्ट, विवाहित महिलाको सम्पत्ति ऐन अनि शिक्षा ऐन लगायत आए। शिक्षा ऐनले छोराछोरी दुवैलाई अनिवार्य शिक्षाको कानून ल्यायो।
सार्वजनिक जीवन अनि राजनीतिक संलग्नता पुरुषकै स्वामित्वमा रहेको विश्वास गरिन्थ्यो। महिला राजनीतिमा लागे घरलाई बेवास्ता गर्छन् भन्ने मान्यताले जरो गाडेको थियो।
सन् १८९४ मा स्थानीय सरकार ऐनले महिलालाई मतदानको अधिकार दिंदै स्थानीय काउन्सिल चुनावमा उम्मेदवार समेत हुन पाउने तर सम्पत्ति र करका लागि योग्यता पुगेको हुनुपर्ने नियम ल्यायो।
महिलाप्रति समानता झल्किने यस्ता ऐन–कानूनको निर्माणपछि बेलायतमा महिलाहरूको आर्थिक आत्मनिर्भरताका क्षेत्रमा सहभागिता पनि बढ्न थाल्यो। शिक्षण तथा नर्सिङ जस्ता पेशाले उनीहरूको जीवनस्तर सुधारियो।
सामाजिक र आर्थिक परिवर्तनले पुरुष आधिपत्य घटाउन मद्दत पुग्यो। पुरुषकेन्द्रित विश्वमा महिलाहरू कतिपय स्थानमा सफल पनि भए जुन पुरुष समाजका लागि पनि स्वीकार्य बन्यो। पुरुषहरू पनि महिलाप्रतिको परम्परागत दृष्टिकोण छोड्न थाले।
सन् १८६६ तिरै राजनीतिमा महिला सहभागिता अभियानको शुरूआत भएको थियो। उक्त अभियान मार्फत महिला सामाजिक तथा राजनीतिक युनियनले महिलाप्रतिको राजनीतिक अन्यायबारे आवाज उठायो।
जोन स्टुआर्ट मिलले महिलालाई पनि पुरुष सरह मतदानको अधिकार दिन प्रस्ताव गरे। तर, यो प्रस्ताव १९४ का विरुद्ध ७३ मतले अस्वीकृत भयो। यद्यपि, अहिले बेलायतमा महिलाले मतदान गर्न पाउने अधिकार प्रत्याभूत भएको एक सय चार वर्ष पुगेको छ।
अहिले त हामी सबै ठाउँका महिला मतदान गर्न सक्छौं, आफ्नो मुलुकमा परिवर्तन ल्याउन सक्छौं। औद्योगिक क्रान्तिले धेरै महिलालाई काम गर्ने र आफ्नो जीवनबारे बोल्ने मौका दियो।
महिलाहरूको अथक प्रयास र आन्दोलनले नै मतदानको अधिकार दिलाएको हो। हुन त सन् १८१८ तिरै जेरेमी बेन्थम नामका बेलायती लेखकले आफ्नो पुस्तक ए प्लान फर पार्लियामेन्ट्री रिफर्ममा महिलाको मताधिकारको वकालत गरेका थिए।
सामाजिक र आर्थिक परिवर्तनले पुरुष आधिपत्य घटाउन मद्दत पुग्यो। पुरुषकेन्द्रित विश्वमा महिलाहरू कतिपय स्थानमा सफल पनि भए जुन पुरुष समाजका लागि पनि स्वीकार्य बन्यो।
सन् १८६४ मा इङ्ल्यान्डमा पहिलो सङ्क्रामक रोग अधिनियम पारित गरियो जसको उद्देश्य यौनकर्मी तथा अन्य महिलाको जाँच र उपचार अस्पतालमै राखेर गरिनु थियो। अस्पतालभित्रै महिलामाथि चरम ज्यादती भएको कुरा बाहिर आएपछि महिला आन्दोलन झन् सशक्त बन्न पुग्यो। सन् १८६५ मा जोन इस्टुआर्ट मिल महिलाको मताधिकारका लागि प्रत्यक्ष समर्थन देखाउँदै सांसदका रूपमा चुनिए।
सन् १८७४ मा इङ्ल्यान्डमा सेफिल्ड फिमेल पोलिटिकल एसोसिएशनको स्थापना भयो। यसले हाउस अफ लर्ड्समा महिलालाई मताधिकारको याचिका पनि दर्ता गरायो।
सफ्राजिस्ट र सफ्रागेस्ट आन्दोलन
सन् १९०७ मा आर्टिस्ट सफ्रेज लिग, सन् १९०७ मा महिला स्वतन्त्रता लिग, सन् १९०८ मा एक्ट्रसेस फ्रेन्चाइज लिग तथा १९०८ मा विमन राइट सफ्रेज लिगको स्थापनासँगै महिला मताधिकारको आन्दोलन शुरू भएको थियो।
संयुक्त अधिराज्यमा सफ्राजिस्ट र सफ्रागेट आन्दोलनको खूबै चर्चा हुने गर्छ। मताधिकारवादी महिलाहरूको यो आन्दोलनको प्रारम्भिक चरण शान्तिपूर्ण र भद्र थियो। तर, सरकारबाट कुनै सुनुवाइ नभएपछि सफ्राजिस्टहरूले कठोर आन्दोलन छेडे।
महिला नेताहरूले सन् १९०३ मा महिला सामाजिक तथा राजनीतिक युनियन स्थापना गरे। उक्त आन्दोलनको नारा थियो– ‘शब्द होइन काम’। उक्त नारालाई बेलायती पत्रिका डेली मेलले पनि प्राथमिकतासाथ स्थान दियो।
विश्वयुद्धका दौरान पुरुषहरू उद्योगधन्दा सञ्चालन गर्न असक्षम हुँदा महिलाले नै उद्योगका काम सहज र कुशलतापूर्वक निप्ट्याइरहेका थिए। यसले महिलाहरू घरभित्र मात्र नभई बाहिरी पेशामा पनि सक्षम रहेछन् भन्ने पुरुषप्रधान समाजले बुझ्न थाल्यो।
सफ्राजिस्टहरूले सरकारले आन्दोलन र मागलाई बेवास्ता गरेको भन्दै पोस्ट अफिस तोडफोड गर्न थाले। प्रहरीले आन्दोलनकारीहरूलाई धरपकड गर्यो। भिक्टोरिया युगको राष्ट्रिय आन्दोलन थियो यो।
सन् १९१४ मा प्रथम विश्वयुद्धका कारण महिलाहरूको पार्टी राजनीति पनि निलम्बन गरियो जसमा उग्रवादी मताधिकारवादी पनि सामेल थिए। विश्वयुद्धका दौरान पुरुषहरू उद्योगधन्दा सञ्चालन गर्न असक्षम हुँदा महिलाले नै उद्योगका काम सहज र कुशलतापूर्वक निप्ट्याइरहेका थिए। यसले महिलाहरू घरभित्र मात्र नभई बाहिरी पेशामा पनि सक्षम रहेछन् भन्ने पुरुषप्रधान समाजले बुझ्न थाल्यो।
सन् १९१८ मा एक गठबन्धन सरकारले जनप्रतिनिधि अधिनियम पारित गर्यो जसमा २१ वर्षभन्दा माथिका सबै पुरुष र ३० वर्षभन्दा माथिका सबै महिलालाई मताधिकार दिइयो।
तर, उक्त अधिकारमा व्यक्तिको न्यूनतम सम्पत्तिको योग्यता पुगेको हुनुपर्थ्यो। सन् १९२८ मा कन्जर्भेटिभ पार्टीको सरकारले समान मताधिकार अधिनियम पारित गर्यो जसमा २१ वर्षभन्दा माथिका पुरुष–महिला सबैलाई समान शर्तमा मताधिकार दियो।
सन् १८३२ सम्म पुरुषलाई मात्र मताधिकार अधिकार थियो। यद्यपि, केही महिला सम्पत्तिको स्वामित्वका कारण संसदीय चुनावमा मतदान गर्न सक्षम थिए। सन् १९०० सम्म इङ्ल्यान्डमा स्थानीय सरकारको चुनावमा मतदानका लागि भनेर १० लाख महिलाले नाम दर्ता गराएका थिए।
महिलावादी आन्दोलनकारी इम्मेलिन पंकहर्स्टले आफ्ना दुई छोरीसँग मिलेर महिला सामाजिक तथा राजनीतिक संघको स्थापना गरिन्। उनका पति रिचर्ड पंकहर्स्टले पनि महिलाको मताधिकार सम्बन्धी विचारलाई समर्थन गरे। रिचर्ड पहिलो ब्रिटिश महिला मताधिकार विधेयक तथा विवाहित महिला सम्पत्ति अधिनियमका लेखक पनि थिए।
बेलायती महिलाका अधिकारबारे अध्ययन गर्दा कुनै वेला संसारमै महिलाहरूको सामाजिक सहभागिता शून्य रहेछ भन्ने भेउ पाइन्छ। तर, महिलाहरू आफ्नै सचेतनाले अधिकारको लडाइँमा अग्रपङ्क्तिमा खटिइरहेकै छन्।
पतिको मृत्युपछि इम्मेलिनले मताधिकारको लडाइँमा सबैभन्दा अगाडि जाने निर्णय गरिन्। उनले आफ्नो संगठन मार्फत १८८९ मा महिला अधिकार लिग र १९०३ मा महिला सामाजिक तथा राजनीतिक संघको स्थापना गरेकी थिइन्।
उनीहरूले सरकारको झूटो आश्वासन तथा निष्क्रियताबाट निराश भई उग्रवादी तरीकाले आन्दोलन छेडे। यो आन्दोलन यति प्रभावशाली भयो कि पछि मताधिकार चाहने दुनियाँभरका महिलाको आवाज बन्यो।
सन् १९०८ मा चिकित्सक तथा नारीवादी अभियन्ता गेरेन्ट एन्डरसन सानो नगर एल्डेबर्गको मेयर चुनिइन्। ब्रिटेनमा नै एन्डरसन पहिलो महिला चिकित्सक थिइन्।
बेलायतमा नारीवादी आन्दोलनमा पुरुषहरूको पनि भूमिका थियो। लरेस हाउसमेन नारीवादी पुरुष थिए। लरेस र उनकी बहिनी क्लेमेन्स हाउसमेन मिलेर सफरेज एटेलियर नामक स्टुडिओ नै बनाए।
उनीहरूले कला मार्फत महिला मताधिकार आन्दोलनको प्रचारप्रसार गरे। महिलाद्वारा सञ्चालित पत्रपत्रिकामा लेख पनि लेखे। लरेसले आफ्ना पुरुष साथीहरूलाई पनि यस आन्दोलनमा जोडे। यसरी बेलायतमा पनि अन्य राष्ट्रमा जस्तै राजनीतिक, सामाजिक र आर्थिक समानताको आवाज नै महिलावादको लडाइँ बन्यो।
साथै, सन् १९१८ तथा १९२८ मा गरी महिलाहरूले पनि मतदान तथा राजनीतिमा सहभागी हुन पाउने अधिकार पाए। यसरी बेलायती महिलाका अधिकारबारे अध्ययन गर्दा कुनै वेला संसारमै महिलाहरूको सामाजिक सहभागिता शून्य रहेछ भन्ने भेउ पाइन्छ। तर, महिलाहरू आफ्नै सचेतनाले अधिकारको लडाइँमा अग्रपङ्क्तिमा खटिइरहेकै छन्, विभेदका जालोहरू निरन्तर पन्छाउँदै छन्।