‘ह्वीलचियरका लागि बाटो, हाम्रो अधिकार’
‘ह्वीलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ चौधौं अन्तर्राष्ट्रिय स्पाइनल इन्जुरी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१३, भैंसेपाटीस्थित स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रले दिवसको अवसरमा मंगलबार ह्वीलचियर र्याली तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो।
केन्द्रका सञ्चालक कनकमणि दीक्षितले ह्वीलचियरमैत्री नेपाल बनाउन सबैमा सचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको बताए। अस्पतालमा उपचाररत ह्वीलचियर प्रयोगकर्ताहरूका लागि वरिपरिका बस्ती र स्थानहरू अवलोकन गर्न सहज बनाउने उद्देश्यले भैंसेपाटीको अस्पताल प्राङ्गणदेखि माथिको वासुकी डाँडासम्म ह्वीलचियर गुडाउने बाटो निर्माण भइरहेको दीक्षितले जानकारी दिए। उनका अनुसार, बाटो निर्माणका लागि जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले संयोजन गरिरहेका छन्।
“अरूले डोर्याएर नभई आफैंले ह्वीलचियर चलाएर माथि रहेको वासुकी मन्दिरको दर्शन गर्ने र वरिपरिको दृश्यावलोकन गर्न सकिने आधार बनाउँदै छौं,” दीक्षितले भने, “जसले स्पाइनल इन्जुरी भएकाहरूका लागि उत्प्रेरणाको काम हुनेछ।”
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैंसेपाटीमा २० वर्ष अगाडि स्थापना भएको अस्पतालमा गम्भीर स्पाइनलकर्ड इन्जुरी भएका तीन हजार तीन सयभन्दा बढीले सेवा लिइसकेको केन्द्रले जनाएको छ। ५१ शय्याको अस्पतालमा अहिले ६५ जनाको उपचार भइरहेको अस्पतालका फिजिकल मेडिसिन एन्ड रिहाबिलिटेशन विशेषज्ञ एवं मेडिकल डाइरेक्टर डा. राजु ढकालले बताए।
अहिले सो अस्पतालमा एक सय शय्या पुर्याउन सबै प्रक्रिया अगाडि बढिसकेकाले भएका भवनहरू प्रबलीकरण गर्ने काम सम्पन्न भएपछि सेवा सञ्चालन हुने ढकालले जानकारी दिए।
अस्पतालले स्पाइनलकर्ड इन्जुरी भएका व्यक्तिलाई उपचार सेवा प्रदान गर्दै आएको छ। कार्यक्रममा स्पाइनल इन्जुरी भएका रामबहादुर तामाङ, अर्जुन दोङ लगायतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए।