युक्रेन छोडेका २४४ नेपाली सुरक्षित गन्तव्यमा
रूसी आक्रमणपछि युक्रेन छोडेका २४४ नेपाली सुरक्षित गन्तव्यमा पुगेको गैरआवासीय नेपाली संघले जनाएको छ।
संघको रूस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार, युक्रेन छोडेर सुरक्षित रूपमा छिमेकी देश पुगेका नेपाली सम्पर्कमा आएका छन्। युक्रेन छोडेर पोल्यान्डमा ६०, स्लोभाकियामा १२, हंगेरीमा चार, रोमानियामा १२ र माल्डावामा दुई जना सकुशल पुगेको समितिका प्रेस संयोजक चिरन शर्माले जनाएका छन्।
यसै गरी युक्रेनबाट सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्यान्डको सीमामा १३० जना, स्लोभाकियाको सीमामा १२ जान, रोमानियाको सीमामा १० जना र माल्डावाको सीमामा दुई जना नेपाली पुगेका छन्। उनीहरूले सोमबार साँझसम्म सीमा पार गर्ने संघको अनुमान छ।
गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार, युक्रेनमा ४० परिवार स्थायी रूपमा बसोबास गर्दै आएका छन्। अझै पनि केही नेपाली पर्ख र हेरको अवस्थामा युक्रेनमै बसिरहेको संघले जनाएको छ।
रूस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अध्यक्ष जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको बताए।
उच्चस्तरीय समितिका संयोजक तथा बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीले गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त नेपालीको उद्धारका लागि पोल्यान्डको सीमा क्षेत्रमा खटिएको जानकारी दिए।
गैरआवासीय नेपाली संघ पोल्यान्डका अध्यक्ष जीवन केसीले धेरै जना नेपाली सीमा क्षेत्रमा रोकिएको बताए। सोमबारदेखि सीमा क्षेत्र केही खुकुलो बनाइएकाले नेपालीलाई पनि बाहिर निस्कन सहज भएको उनले बताए।
स्वास्थ्य समितिका संयोजक बोधराज सुवेदीले सीमा क्षेत्रमा आफैं पुगेर ११ जना नेपालीलाई उद्धार गरेर सुरक्षित स्थानमा पुर्याएको जानकारी दिए। युक्रेन र पोल्यान्डको सीमा क्षेत्रमा नेपालीका लागि खानाको कुनै समस्या नरहेको उनले बताए।
एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले अप्ठ्यारोमा परेका आठ जना नेपालीलाई आफ्नै रेस्टुरेन्ट खाली गरेर खानेबस्ने प्रबन्ध गरेको बताए। स्लोभाकिया पुगेका नेपालीहरूलाई सुरक्षित क्षेत्रमा पुर्याउन खटिएको उनले जानकारी दिए।
त्यस्तै, रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले १२ जना नेपाली सुरक्षित रूपमा रोमानिया भित्रिएको जानकारी दिए।