युक्रेनले कसरी प्रतिरोध गर्दै छ रूसी आक्रमण?
रूसले चौथो दिन पनि बिहानैदेखि आक्रमण जारी राखेको छ भने युक्रेनले डटेर सामना गरिरहेको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश दिएसँगै १३ फागुन बिहानैदेखि रूसी सैनिकले युक्रेनमाथि आक्रमण थालेका थिए। पहिलो दिनमै रूसी सेना युक्रेनको राजधानी किइभ प्रवेश गरेका थिए। त्यति वेला रूसीले राजधानी कब्जा गर्न सक्ने अनुमान गरिएको थियो।
तर, युक्रेनी सैनिकसँगै नागरिक पनि प्रतिरोधमा उत्रिएपछि रूसी सेना सोचे अनुसार अगाडि बढ्न सकेको छैन। पहिलो र दोस्रो दिन कब्जा गरेका केही क्षेत्रबाट पनि रूसी सैनिक तेस्रो दिन पछि हट्नुपरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
चौथो दिन बिहानैदेखि रूसी र युक्रेनी सैनिकबीच भिडन्त भएका समाचार आएका छन्। युक्रेनी सेनासँगै नागरिक पनि हतियार बोकेर प्रतिरोधमा आएका छन्। नागरिकसँगै पूर्व राष्ट्रपति पेट्रो पोरोसेन्को पनि हतियार बोकेर प्रतिरोधमा उत्रिएका छन्। केही युक्रेनी सांसद पनि हतियार बोकेर सेनालाई सघाउन उत्रिएका छन्।
पूर्व राष्ट्रपति सहित सांसद पनि हतियार बोक्न थालेपछि नागरिकले पनि स्वस्फूर्त रूपमा हतियार बोक्न थालेका छन्। युक्रेनी सरकारले नागरिकलाई हतियार उपलब्ध गराएको छ।
रूसी आक्रमणको चौथो दिनसम्म १४ बालबालिका सहित ३५२ युक्रेनी नागरिकको मारिएको युक्रेनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। एक हजार ६८४ नागरिक घाइते भएका छन्।
त्यस्तै, तीन लाख ६८ हजार युक्रेनी नागरिकले देश छोडेका छन्। करीब दुई लाख युक्रेनी शरणार्थीका रूपमा पोल्यान्ड पुगेको बीबीसीले जनाएको छ।
युक्रेनी विदेश मन्त्रालयका अनुसार, चार हजार पाँच सय रूसी सैनिक मारिएका छन्। तर, यसको स्वतन्त्र पुष्टि नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
रूसले भने क्षतिबारे कुनै जानकारी सार्वजनिक गरेको छैन। केही रूसी सैनिकले ज्यान गुमाएको भनेर रूसी अधिकारीहरूले स्विकारेका छन्। युक्रेनका सडकमा थुपै रूसी सैनिक ट्यांक लजाएका तस्वीर र भिडिओ बाहिर आएका छन्। क्षतिबारे यकिन जानकारी सार्वजनिक नगरे पनि रूसी राष्ट्रपति पुटिनले ‘न्युक्लियर फोर्स ’लाई ‘हाइ अलर्ट ’मा रहन निर्देशन दिएको सीएनएनले उल्लेख गरेको छ।
युक्रेनमाथिको हमला रोक्न रूसमा पनि प्रदर्शन भइरहेको छ। युद्ध रोक्न माग गर्दै भएका प्रदर्शनमा उत्रिएका ६ हजारभन्दा बढी रूसी नागरिकलाई सरकारले नियन्त्रणमा लिएको छ।
चार दिनदेखि रूसी सेना युक्रेनको राजधानी किइभ कब्जा गर्ने प्रयासमा छ। यसअघि आइतबार युक्रेनको दोस्रो ठूलो शहर खार्किभ कब्जा गरेको थियो। तर, आइतबार साँझसम्म युक्रेनी सेनाले नियन्त्रणमा लिइसकेको त्यहाँका गभर्नरलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घण्टा ‘क्रूसिअल’ भएको बताएका छन्। उनले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग टेलिफोन वार्ता गर्दै गत २४ घण्टा युक्रेनी सेनाका लागि एकदम कठिन रहेको र अबका २४ घण्टा ‘क्रूसिअल’ रहेको बताएका हुन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यूरोपियन युनियनमा आबद्ध र अन्य देशका प्रमुखसँग टेलिफोन गरी सहयोगका लागि आग्रह गर्दै आएका छन्। यूरोपियन युनियनले सहयोग गर्ने भएको छ भने युरोपको आकाशमा रूसी जहाजलाई प्रतिबन्ध लगाएको छ।
त्यस्तै, संयुक्त राष्ट्रसंघले आकस्मिक साधारण सभा बोलाएको छ। आज बोलाइएको साधारणसभामा युक्रेनमाथि रूसले गरिरहेको आक्रमणबारे छलफल हुने भएको छ। यसअघि सुरक्षा परिषद्मा छलफल भएको थियो। तर, रूसले भिटो प्रयोग गरेपछि युक्रेनमाथिको आक्रमण विरुद्ध कुनै निर्णय हुन सकेको थिए। राष्ट्रसंघको साधारण सभामा भने कसैले भिटो प्रयोग गर्न पाउँदैन।
यससँगै रूस र युक्रेनबीच शान्तिवार्ताका लागि पनि पहल भइरहेको छ। युक्रेन र बेलारुसको सीमा क्षेत्रमा रूसी र युक्रेनी टोलीबीच आज वार्ता हुने जनाइएको छ। यसअघि रूसले बेलारुसमा वार्ता गर्न प्रस्ताव गरेको थियो। तर, बेलारुसमा बसेर नै रूसी सेनाले युक्रेनमाथि आक्रमण गरिरहेकाले त्यहाँ वार्ता गर्न युक्रेनी राष्ट्रपतिले अस्वीकार गरेका थिए।
आज बेलारुससँगैको युक्रेनी सीमा क्षेत्रमा वार्ताको तयारी गरिएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले टेलिभिजन सम्बोधन मार्फत युक्रेनी नागरिकलाई आजको वार्ताबाट खासै उपब्धि हासिल हुने विश्वास नगर्न आह्वान गरेका छन्।