स्थानीय चुनावका लागि आयोगले माग्यो झण्डै नौ अर्ब
स्थानीय चुनावका लागि निर्वाचन आयोगले सरकारसँग झण्डै नौ अर्ब रुपैयाँ माग गरेको छ।
आयोगले निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार रुपैयाँ मागेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाएका छन्। यो रकम निकासाका लागि आयोगले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ।
आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदै छ। त्यसका लागि आयोगले तयारी थालेको छ। देशभरका ७५३ स्थानीय तहमा एकै पटक चुनाव हुनेछ।
यससँगै आयोगले निर्वाचनमा खटिने व्यक्तिको बीमा गर्ने प्रक्रिया पनि थालेको छ। निर्वाचनमा एक लाख १० हजार ७१३ जना खटिने भएका छन्। प्रत्येक व्यक्तिको २० लाख बराबरको बिमा गरिने आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिएका छन्।
स्थानीय तह निर्वाचनका लागि निवेदन दिने दलको सङ्ख्या पनि थपिंदै गएको छ। अहिलेसम्म २९ दलले निवेदन दिएको आयोगले जनाएको छ।
पछिल्लो पटक बहुजन एकता पार्टी, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समावेशी पार्टी र राष्ट्रिय जनमोर्चाले निवेदन दिएका छन्।
त्यस्तै, राष्ट्रिय विकास पार्टी, नागरिक उन्मुक्ति पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल संसदीय समाजवादी पार्टी, सचेत नेपाली पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, समाजवादी केन्द्र नेपाल र पिछडावर्ग निषाद दलित जनजाति पार्टीले स्थानीय चुनावमा सहभागिताका लागि निवेदन दिएका छन्।