चार करोडको स्रोत खुलाउन नसकेपछि पूर्व मन्त्री श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा
सम्पत्तिको स्रोत खुलाउन नसकेपछि पूर्व मन्त्री रामकुमार श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुन्धान आयोगले मुद्दा दायर गरेको छ।
पूर्व मन्त्री श्रेष्ठ विरुद्ध आइतबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन्। आयोगका अनुसार, पूर्व मन्त्री श्रेष्ठले चार करोड ४५ लाख २७ हजार ६६६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन सकेका छैनन्।
पूर्व सचिव समेत रहेका श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनले पदमा रहँदा भ्रष्टाचार गरेको भन्दै परेको उजुरीमाथि आयोगले छानबिन थालेको थियो।
आयव्ययको विश्लेषण गर्दा उनीको कुल आयआर्जन ६ करोड ९० लाख १६ हजार ६२७ रुपैयाँ रहेको र कुल खर्च (व्यय) ११ करोड ३५ लाख ४४ हजार २९४ रहेको पाइएको छ। त्यस अनुसार, चार करोड ४५ लाख २७ हजार ६६६ रुपैयाँ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत नखुलेको आयोगले जनाएको छ।
आयोगले अभियोगपत्रमा भनेको छ, ‘नेपाल सरकारको शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव (विशिष्ट श्रेणी) तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालयको मन्त्री जस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आयो।’