वृषेशचन्द्र लाल तमलोपाको अध्यक्ष चयन
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को अध्यक्षमा वृषेशचन्द्र लाल चयन भएका छन्।
जनकपुरमा आइतबार सम्पन्न तमलोपाको विशेष केन्द्रीय भेलाले लाललाई अध्यक्ष चयन गरेको हो। भेलामा निवर्तमान अध्यक्ष रविशंकर लाल कर्णले लाललाई अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव गरेका थिए। उनको प्रस्तावलाई भेलाले सर्वसम्मत रूपमा पारित गरेको हो।
त्यस्तै, विशेष केन्द्रीय समिति भेलाले विजयकुमार सिंहलाई वरिष्ठ नेता चयन गरेको छ। यससँगै तमलोपाको ५६ सदस्यीय केन्द्रीय कार्यसमिति पनि गठन गरिएको छ। पदाधिकारी पछि चयन गरिने जनाइएको छ।
भेलाले पारित गरेको पाँच बुँदे प्रस्तावमा मधेशका तमाम आन्दोलन र संघर्षबाट प्राप्त समानता र सम्मान सहितको मधेशको पहिचानको निमित्त सबै एक ठाउँमा आउनुपर्ने आवश्यक भएकाले तमलोपा गठन गरिएको उल्लेख छ। त्यस्तै, मधेश आन्दोलनमा सहभागी भएकै कारणबाट चलाइएका सबै मुद्दाको खारेजी र कारागारमा रहेका व्यक्तिलाई तत्काल रिहा गर्न माग गरिएको छ।
यसैगरी, तमलोपाले संसद्मा विचाराधीन नागरिकता सम्बन्धी विधेयक अगाडि बढाउन आग्रह गरेको छ। संविधानको मर्म र भावना अनुसार यस न्यायोचित विषयवस्तुको शीघ्र सम्बोधन गर्न पनि भेलाले माग गरेको छ।