अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीनदिने राजकीय भ्रमणका सिलसिलामा लन्डन आइपुगेका छन् ।
लन्डन ओर्लनासाथ राष्ट्रपति ट्रम्पले लन्डनका मेयर सदिक खान विरुद्ध घृणामिश्रित आलोचना गर्दै ट्वीट समेत गरेका छन् ।
विरोधका बीच राष्ट्रपति ट्रम्पलाई बेलायत सरकारले रातो कार्पेट बिछ्याएर स्वागत गरेको छ ।
राष्ट्रपति ट्रम्प बेलायतकी महारानी एलिजाबेथ द्वितीयले आयोजना गर्ने राजकीय रात्रिभोजमा सहभागी हुनेछन् ।
राष्ट्रपति ट्रम्पले गरेको ट्वीटमा अमेरिकाको महत्वपूर्ण साझेदार मुलुक बेलायतको भ्रमण गर्दा आफूलाई लन्डनका मेयर सदिक खानले गरेको व्यवहार मूर्खतापूर्ण रहेको बताएका छन् ।
यी दुवै नेताबीच बेलाबखत एकअर्काका नीतिमाथि ट्वीटर मार्फत सार्वजनिक रूपमै आरोप प्रत्यारोप हुने गरेको छ ।
ट्रम्पले भनेका छन्, “खानले लन्डनका बारेमा चिन्ता लिए पुग्छ, मेरा बारेमा होइन ।” खानले आइतबार एक अखबारमा लेख लेख्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन् १९३० र १९४० को दशकका युरोपेली अधिनायकवादी नेतासँग तुलना गरेका थिए ।
राष्ट्रपति ट्रम्पको भ्रमणका क्रममा सोमबार र मंगलबार लन्डनमा दुई विशाल प्रदर्शनको तयारी भएको छ ।