प्रतिनिधि सभाबाट आजै एमसीसी पारित गर्ने तयारी
प्रतिनिधि सभाको आजै दुई वटा बैठक राखेर अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पारित गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले आजै एमसीसी सम्झौता पारित गर्ने सहमति गरेको हो। “शङ्का-उपशङ्का उठेका विषयमा व्याख्यात्मक टिप्पणी गरेर आजै एमसीसी सम्झौता पारित गर्ने सहमति भएको छ,” बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने।
सत्तारूढ गठबन्धनमा एमसीसी सम्झौताका विषयमा विवाद हुँदा प्रतिनिधि सभाको बैठक पनि स्थगित हुँदै आएको थियो। यसअघि दुई पटक स्थगन भएको प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ।
प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी सम्झौताका विषयमा उठेका प्रश्न सम्बोधन गर्ने गरी व्याख्यात्मक टिप्पणी पेश गर्ने तयारी छ। त्यसमाथि छलफल भएपछि पहिलो बैठक सकिनेछ।
त्यसपछि आजै प्रतिनिधि सभाको दोस्रो बैठक बस्ने तयारी गरिएको छ। “दोस्रो बैठकबाट एमसीसी सम्झौता अनुमोदन हुन्छ,” नेता पौडेलले भने, “गठबन्धनको बैठकले आजै एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ।”
यसमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को पनि सहयोग रहने पौडेलको भनाइ छ। “प्रमुख प्रतिपक्ष दलको सकारात्मक भूमिका हुन्छ,” एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक पटक छलफल गरेका नेता पौडेलले भने, “प्रमुख प्रतिपक्षी दलकै नेता प्रधानमन्त्री भएको वेला संसद्मा दर्ता गर्ने, अगाडि बढाउने भनेर निर्णय भएको हो। उहाँहरू त पूरै बाँधिनुभएको छ।”
अहिलेको सरकारले नेपालको पक्षमा हुने गरी थप व्याख्यात्मक टिप्पणी गर्न लागेको उनको भनाइ छ। “नेपालको पक्षमा जो प्रष्ट गर्नुपर्ने थियो, त्यसलाई प्रष्ट गरेर यो सरकार अगाडि बढ्छ,” पौडेलले भने, “यसअघिको भन्दा राष्ट्रहितका पक्षमा एक कदम अगाडि बढेर यो सरकारले लागू गर्छ।”
एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका वेला एमसीसी सम्झौता संसद्मा दर्ता भएको थियो। यसलाई ८ फागुनमा प्रतिनिधि सभामा टेबल गरिएको हो। सत्तारूढ दलभित्रको विवादले यसमाथि छलफल हुन सकेको थिएन्।
आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले सहमति गरेसँगै एमसीसी सम्झौता अगाडि बढ्ने भएको हो। सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।