मछिन्द्र ठूलो अन्तरले बन्यो च्याम्पियन
मछिन्द्र फूटबल क्लब ठूलो अंकको अन्तरले शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ।
दशरथ रंगशालामा शनिबार भएको अन्तिम खेलमा पनि मछिन्द्रले जित निकालेको छ। अन्तिम खेलमा एपीएफलाई २-१ गोलले पराजित गरेको छ।
यो जितसँगै मछिन्द्रको अंक ३५ बनेको छ। दोस्रो स्थानमा रहेका त्रिभुवन आर्मी फूटबल क्लब र तेस्रो स्थानमा रहेको न्यूरोड टिमको २३-२३ अंक छ।
डिफेन्डिङ च्याम्पियन मछिन्द्र यो सिजनमा अपराजित रह्यो। १३ चरणका खेलमा कुनै पनि हार ब्यहोर्नु परेन।
शनिबार भएको अन्तिम खेलमा मछिन्द्रका लागि ४२औं मिनेटमा अभिशेष गुरुङले र ८१औं मिनेटमा रेजिन सुब्बाले गोल गरे। त्यस्तै, एपीएफका लागि ६८औं मिनेटमा प्रदीप लामाले गोल गरेका थिए।
नवप्रवेशी सातदोबाटो युथ क्लबले राम्रो प्रदर्शन गर्यो। २१ अंक जोडेर चौथो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ।
त्यस्तै, बिग्रेड ब्वाइज र च्यासल युथ क्लब भने रेलिगेसनमा परेका छन्। अंक तालिकाको पुछारमा रहेका दुवै क्लब ‘बी’ डिभिजनमा झरेका छन्।