एमसीसीमाथि आइतबार प्रतिनिधि सभामा छलफल हुने
प्रतिनिधि सभाको आइतबारको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि छलफल हुने भएको छ।
संघीय संसद्का महासचिव भरतराज गौतमले शनिबार जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफल पनि रहेको उल्लेख छ। अर्थ मन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
अर्थ मन्त्री शर्माको तर्फबाट सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १२ फागुनमा प्रतिनिधि सभामा एमसीसी सम्झौता टेबल गरेका थिए। तर, सत्तारूढ दलबीचको मतभिन्नताले त्यसमाथि छलफल हुन सकेको छैन।
सभामुख अग्निप्रसाद सापकोटाले दुई पटक प्रतिनिधि सभाको बैठक स्थगित गरिसकेका छन्। अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने तय भएको छ।
एमसीसी सम्झौता पारित गर्ने विषयमा पाँच दलीय गठबन्धनमा विवाद उत्पन्न भएको छ। नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) यसको पक्षमा छन् भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा विपक्षमा छन्।
नेकपा (एमाले) ले यस विषयमा अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन। प्रधानमन्त्री शेरबहादुर देउवाले सहयोग जुटाउन एमालेसँग संवाद गर्दै आएका छन्।