ठाडो भाकाको उत्खनन
पुस्तकमा ठाडो भाकाको उत्पत्ति र विकासक्रम, गायकहरूको व्यक्तिवृत्त, घतलाग्दा प्रसङ्ग, वंशवृक्ष लगायत विषय समेटिएका छन्।
अहिलेको साइबर युगमा विदेशका हरेक चिज हाम्रो कोठाचोटामा निर्बाध पसिरहेका छन्। आयातीत संस्कृतिको अन्धानुकरणमा हामी मस्त रहँदा हाम्रा मौलिक चिनारी भने सङ्कटमा छन्। रैथाने संस्कृति ह्रास हुँदै गएको छ। आधुनिकताको रापमा पिल्सिएको त्यही रैथाने संस्कृतिलाई सुमसुम्याउँदै लालबहादुर भुजेलले लोकजीवनको मौलिक लयबारे पुस्तक ल्याएका छन्, ठाडो भाकाको लोकसांस्कृतिक इतिहास।
गण्डकी भेकमा एक समय निकै लोकप्रिय साङ्गीतिक शैली हो, ठाडो भाका। जुन भाका गाउन खास कला र सीप चाहिन्छ। समयसँगै अहिले हराउँदै र बहुसङ्ख्यकले लत्याउँदै गएको यति विशिष्ट लोकभाकालाई इन्जिनियरिङ पेशाका भुजेलले पुस्तकाकार कृतिमा बुन्नु समयको कसीमा विपरीत धारा जस्तै भइदिएको छ।
ठाडो भाकालाई नै मूल विषय बनाएर पुस्तक लेखिएको जानकारी हालसम्म छैन। भुजेलले कालातीत भइसकेका कलाकारहरूको मौलिक थातथलोमै पुगी स्थलगत अध्ययन गरेर पुस्तक तयार पारेका हुन्। पुस्तकमा ठाडो भाकाको उत्पत्ति र विकासक्रम, गायकहरूको व्यक्तिवृत्त, घतलाग्दा प्रसङ्ग, वंशवृक्ष लगायत विषय समेटिएका छन्।
पुस्तकमा कृतिकार भुजेलले प्रशस्त मिहिनेत गरेको देखिन्छ। विसर्जनोन्मुख साङ्गीतिक परम्परा जोगाउन उनको यो प्रयत्न प्रशंसनीय पनि छ।
पुस्तकमा कृतिकार भुजेलले प्रशस्त मिहिनेत गरेको देखिन्छ। विसर्जनोन्मुख साङ्गीतिक परम्परा जोगाउन उनको यो प्रयत्न प्रशंसनीय पनि छ। यति हुँदाहुँदै पुस्तकमा केही खट्किने पक्ष छन्। विषयवस्तु अनुसार ठाडो भाकाको साङ्गीतिक इतिहासलाई जसरी उधिन्नुपर्ने थियो, त्यसरी उधिन्न नसकेको प्रतीत हुन्छ। शोधविधि तथा सूचना व्यवस्थापनका दृष्टिले पनि कृतिमा धेरै कमजोरी छन्।
ठाडो भाकाको उत्पत्ति र विकासक्रमबारे चर्चा गर्दा विषयवस्तुलाई सामान्य उठान मात्र गरिएको छ। लेखकले उत्पत्ति र विकासक्रमको समयरेखा (टाइमलाइन), साङ्गीतिक खलक (ट्युन फेमिली) जस्ता पक्षलाई राम्रोसँग पर्गेल्न सकेका छैनन्। ठाडो भाकाका आधारभूत पक्षबारे पनि प्रकाश पार्न सकेका छैनन्।
पुस्तकमा ठाडो भाकाका दिवङ्गत गायकहरू बौद्धसिङ गुरुङ, देउबहादुुर दुरा, पञ्चसुब्बा गुरुङ, मोतीलाल गुरुङ, बखतबहादुर गुरुङ, मनिराम दुरा र भेडीखर्के साइँला (दीर्घराज अधिकारी) बारे मुक्तकण्ठले चर्चा गर्दा तत्कालीन प्रतिभाशाली गायिकाबारे भने थोरै मात्रै लेखिएको छ। एक समय ख्याति कमाएका पेचेरे दुरा, भक्तिमाया दुरा, धनमाया तामाङ, ज्ञानीमाया थापा आदि गायिकाको कला र गलाबारे चर्चै भएको छैन। गौरवमय इतिहास बनाएका गायिकाहरूको नाम मात्र लिएर छाडिएको छ।
लेखकले तत्कालीन समयका गायिकाबारे चर्चा गर्दा बहुचर्चित गायक देउबहादुुर दुरासँग गीतमा ठोलाबाजी गर्न सक्ने आफली घर्तिनीबारे केही हरफमै कुरो टुङ्ग्याएका छन्। जब कि, पञ्चसुब्बा गुरुङबारे १६ पृष्ठको बखाननामा पेश गरेका छन्। यसबाट कृतिमा समान हैसियत भएका कलाकारको खोजी तथा चिनारी सन्तुलित नभएको देखाउँछ।
लेखक भुजेलले पुस्तकको एक अध्यायमा आफूले रचना गरेको ठाडो भाका गीत पस्केका छन्। लोकजीवनका लागि यो अनौठो प्रसङ्ग हो। सामान्यतया, ठाडो भाका कुनै रचनाकारले रच्नेभन्दा पनि लोककण्ठबाट तत्क्षण प्रकट हुने मौखिक साहित्य हो। लोकसाहित्य मौखिक परम्परामा आधारित भएकाले यसमा लिखित परम्पराको उस्तो स्थान हुँदैन। लेखकलाई ठाडो भाकाको गीत राख्नै मन भए आफूले रचेको गीत नभई गाउँबेसी वा हाटबजारमा सुनिएका रोचक गीत पस्किएको भए पुस्तकको सान्दर्भिकता बढ्ने थियो।
कतिपय ठाउँमा मूल विषयबाट बहकिएर लेखक अन्यत्रै पुगेका छन्। पुस्तक कतै यात्रा संस्मरण जस्तो, कतै अनुभूति जस्तो त कतै स्थान परिचय जस्तो देखिन्छ।
पुस्तकले निर्धारण गरेको विषयवस्तु अनुसार यो कृति ठाडो भाका र यसको सांस्कृतिक इतिहासलाई मियो मानेर लेखिनुपर्थ्यो। तर, कतिपय ठाउँमा मूल विषयबाट बहकिएर लेखक अन्यत्रै पुगेका छन्। पुस्तक कतै यात्रा संस्मरण जस्तो, कतै अनुभूति जस्तो त कतै स्थान परिचय जस्तो देखिन्छ।
भुजेलले एउटा परिशिष्टमा आफ्नो जन्मस्थान दुराडाँडाबारे चर्चा गरेका छन्, जुन पुस्तकमा सान्दर्भिक देखिंदैन। सङ्कलित सूचनाको व्यवस्थापनमा पनि लेखक धेरै चुकेका छन्। सूचना बटुल्न धेरै शारीरिक तथा मानसिक श्रम गरे पनि त्यसको सही व्यवस्थापन नहुँदा लेखाइ खजमजिएको प्रतीत हुन्छ।
कुनै पनि शोधमूलक कृति अध्ययन गर्दा पाठकले शोधशास्त्र सम्बन्धी धेरै प्रश्न मनमा राखेर पढ्छन्। पुस्तक शोधविधि अनुरूप लेखिएको छ या छैन? शोधविधि अनुसार सूचनाको व्यवस्थापन भएको छ या छैन? उचित ठाउँमा र सही किसिमले सूचनाको स्रोत खुलाइएको छ कि छैन? सन्दर्भ सामग्री दिइएको छ कि छैन? जसका उत्तर नभेटिए कृतिको उच्च मूल्याङ्कन नहुन सक्छ।
सन्दर्भ सामग्री उल्लेख भए पनि शोधशास्त्रको विभिन्न कसीमा यो पुस्तक कमजोर लाग्छ। पुस्तकमा स्थाननाम तथा व्यक्तिका नाम लेख्दा केही छपाइ अशुद्धि पनि छन्, जुन तथ्यगत गल्ती बनेका छन्। जस्तै, हजुर दुरा हुनुपर्नेमा हचुर दुरा (पृ.४३), छेलाती (स्थाननाम) हुनुपर्नेमा छ्यालाती (पृ.४४) हुन पुगेको छ।
केही कमी-कमजोरी रहे पनि समग्रमा पुस्तक पठनीय र लोकसंस्कृतिको उत्थानको दृष्टिले प्रशंसनीय छ। ठाडो भाकाबारे चिन्तन-मनन गर्नेे सांस्कृतिक विधाका लेखक, अध्येता तथा संस्कृतिकर्मीहरूका लागि पुस्तक राम्रो खुराक हुन सक्छ।
पुस्तक: ठाडो भाकाको लोकसांस्कृतिक इतिहास लेखक: लालबहादुर भुजेल
प्रकाशक: चाँगुनारायण सांस्कृतिक समाज मूल्य: रु.५०० पृष्ठ: २४४