वनस्पतिले कसरी जन्तुलाई केही घण्टामै खाइसक्छ?
पछिल्लो पटक खोजी गर्दा थाहा भयो, हामीले नेपालमा ड्रोसेरा पेल्टाटा भन्दै आएको वनस्पति त अर्कै प्रजाति पो रहेछ।
वनस्पतिले कीरा खान्छ भन्ने सुन्नु मेरा लागि आश्चर्यको कुरा थियो। यही कुरा मैले साढे तीन दशकअघि आईएस्सी पढ्दा थाहा पाएँ। त्यति वेला अहिले जस्तो बग्रेल्ती पुस्तक पाइन्नथ्यो। कम्प्युटर, इन्टरनेट थिएनन्। नेपालमा सन् १९९४ देखि इन्टरनेट शुरू भए पनि सर्वसाधारणको पहुँच थिएन।
सन् १९९८ ताका गुगलडटकम शुरू भयो। सन् २००५ मा युट्युब समेत आएपछि सूचनामा पहुँच ह्वात्तै बढ्यो। अहिले आफूलाई आवश्यक जानकारी एकै बसाइमा लिन सकिन्छ। उति वेला पाठ्यपुस्तकमा जति पढियो, त्यति थाहा हुन्थ्यो।
पृथक् वनस्पति
मैले झारले भोजनका निम्ति कीरा समाएको पहिलो पटक प्रत्यक्ष देखेको चाहिं सन् २००३ मा तेह्रथुमको तीनजुरेस्थित पाँचपोखरीमा हो। गुराँसको विविधता स्थलगत रूपमा अध्ययन गरेर मिल्के, जलजलेबाट फर्कंदा त्यहाँ बास बसेका थियौं। एक जना सहयोगी अचारका लागि वन लसुन जस्तो वनस्पति खोज्न गएका थिए। उनले वन लसुन सहित च्यापच्यापे झार ल्याएर त्यसमा ससाना झिंगा (भुसुना) टाँसिएको देखाए।
मैले केन्द्रीय प्रविधि क्याम्पस, धरानमा ‘इन्सेक्टिभोरस प्लान्ट’ बारे प्रयोगात्मक कक्षामा पढाएको सम्झिएँ। नेपालमा त्यस्ता बिरुवाबारे पुस्तकमा रहेका स्केच देखाएर पढाइन्थ्यो। हिजोआज त पावरपोइन्टबाट नक्शा वा युट्युबको भिडिओ नै देखाउन सकिन्छ। उस वेला धरानमा भने भारतमा पाइने पिचर प्लान्टको नमूना थियो। केही बेर सम्झिंदा सहयोगीले ल्याएको नमूना सिल्ड सनडिउ/पेल सनडिउ हो भन्ने थाहा पाएको थिएँ।
सन् २००५ मा स्कटल्यान्डस्थित इडिनबर्घको एक वनस्पति उद्यानमा यस्ता झारले गजबसँग झिंगा समाएको देखें। वनस्पति विज्ञ मार्क वाट्सनले नेपालबाट जाने अध्ययन-अनुसन्धान टोलीलाई यो दृश्य देखाएका थिए। त्यो झारको नाम ‘भेनस फ्लाइट्र्याप’ थियो जुन प्राकृतिक रूपमा न्यूयोर्कको दक्षिणतर्फ रहेको नर्थ र साउथ क्यारोलिनामा मात्र पाइन्छ।
सिल्ड सनडिउ/पेल सनडिउ चाहिं ड्रोसेरा जातिको वनस्पति हो। यस बाहेक नेपालमा युट्रिकुलारिया जातिको कीरा खाने झार पनि पाइन्छ। यसलाई ब्लाडरवर्ट भनिन्छ जुन अक्सर पानीभित्र रहन्छ। ब्लाडरवर्टको नेपालमा १४ सहित संसारभर करीब २६५ प्रजाति छन्। ड्रोसेराका भने संसारभर करीब २५० प्रजाति छन्। फ्लोरा अफ नेपाल भोलम ३, पृष्ठ १८३-१८५ मा ड्रोसेरा पेल्टाटा र ड्रोसेरा बुर्मान्नीको विवरण छ। तीमध्ये अघिल्लो समुद्री सतहबाट ९००-४,००० मिटर र अर्को ६००-२०० मिटर उचाइमा पाइने उल्लेख छ।
मैले ड्रोसेरा पेल्टाटा दुई दशकयता मध्य, उच्च पहाडी र हिमाली भेगमा प्रशस्त देखेको छु। तेह्रथुमको लालीगुराँस नगरपालिकाको चोत्लुङ पार्कमा भने यसले झिंगा मात्र होइन, ड्राइगन फ्लाई जस्तो कीरा पनि समाएको देखें। यसको बिरुवामा कति वटा कीरा त आधाउधी मात्र बचेका थिए, केहीका टाउका मात्र बाँकी थिए।
यसबारे पछिल्लो पटक खोजतलास गर्दै जाँदा थाहा भयो, नेपालमा ड्रोसेरा पेल्टाटा नपाइने रहेछ। हामीले ड्रोसेरा पेल्टाटा भन्दै आएको प्रजाति त अर्कै रहेछ। ड्रोसेरा पेल्टाटा न्यू साउथ वेल्स, न्यूजिल्यान्ड नोर्थ, साउथ अस्ट्रेलिया, तास्मानिया र भिक्टोरियामा मात्र पाइँदो रहेछ।
ड्रोसेरा लुनाटा
रोयल बोटानिक गार्डेन्स अफ क्यु लन्डनको सङ्ग्रहालयमा नेपालबाट सङ्कलित ड्रोसेरा जातिका जम्मा ६ वटा ‘हर्बेरियम स्पेसिमेन्स’ सङ्गृहीत छन्। तीमध्ये पाँच वटा नाथानियल वालिच र अर्को एउटा जेई स्मिथले सङ्कलन गरेका हुन्। वालिच सन् १८२०-१८२१ मा नेपाल आएका थिए। जेई स्मिथले सङ्कलन गरेको मिति पनि सन् १८२१ नै छ, उनी जीवजन्तु अध्येता हुन्।
वालिचले सङ्कलन गरेको एउटा हर्वेरियमको मिति चाहिं सन् १८३२ लेखिएको छ। वालिच त्यस वेला नेपाल नआएकाले त्यो उनको सङ्कलन नहुन सक्छ। तपसिलका ६ वटा सिल्ड सनडिउ/पेल सनडिउको नमूनामा वैज्ञानिक नाम ड्रोसेरा लुनाटा र ड्रोसेरा पेल्टाटा भेराइटी लुनाटा लेखिएको छ। हर्बेरियम सिटमा पहिले लेखिएको नाम सही नै हुन्छ भन्ने हुँदैन।
रोयल बोटानिक गार्डेन्स अफ क्यू लन्डनको हर्बेरियम पोर्टलमा उपलब्ध तस्वीर अनुसार नेपालमा पहिलो पटक सिल्ड सनडिउ/पेल सनडिउ सङ्कलन गर्ने व्यक्ति नाथानियल वालिच हुन्। तिनले काठमाडौंको स्वयम्भूबाट सन् १८२१ मा सङ्कलन गरेको नमूनालाई बुचनन ह्यामिल्टनले ड्रोसेरा लुनाटा नामकरण गरे। तर, सन् १८२५ मा प्रकाशित प्रोडोमस फ्लोरा नेपालेन्सिस पुस्तकमा भने यसको नाम ड्रोसेरा पेल्टाटा लेखियो। प्रोडोमस फ्लोरा नेपालेन्सिस नेपालको वनस्पति सम्बन्धमा लेखिएको पहिलो पुस्तक हो जुन डेभिड डनले ल्याटिन भाषामा लेखेका छन्।
वनस्पति तथा जन्तुबारे जति अध्ययन हुँदै जान्छ, नाम त्यति फेरिंदै जान्छ। विज्ञानमा अक्सर पछिल्लो तथ्यलाई मान्नुपर्ने प्रचलन छ। हिजोआज त आनुवंशिक तहसम्म अध्ययन गरिन्छ। सूक्ष्म संरचना अध्ययन गर्न स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोप प्रयोग हुन्छ। यसबाट पहिलेभन्दा हिजोआजको अध्ययन धेरै परिष्कृत भइरहेको छ।
सन् २०१७ मा प्रकाशित ड्रोसेरा अफ द वर्ल्ड, भोलम वन शीर्षक पुस्तक अनुसार, नेपालमा ड्रोसेरा बुर्मान्नी र ड्रोसेरा लुनाटा पाइन्छ। अघिल्लो प्रजातिप्रति द्विविधा छैन, तर पछिल्लो नेपालका लागि अहिलेसम्म अभिलेख नभएको नयाँ प्रजाति हाे।
सन् १९७९ मा प्रकाशित एन इनुमेरेसन अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल, भोलम टुमा त ड्रोसेरा ड्रोसेरा बुर्मान्नी र ड्रोसेरा पेल्टाटा भेराइटी लुनाटा पाइन्छ भन्ने लेखिएको छ। पढ्दा ड्रोसेरा पेल्टाटा र ड्रोसेरा पेल्टाटा भेराइटी लुनाटा उस्तै जस्तो लागे पनि तिनीहरूको वास्तवमै अस्तित्व हुँदो हो त संरचना निकै भिन्न हुन्थ्यो।
जे होस्, वनस्पति विज्ञहरूले सन् २०१७ अघिसम्म हामीकहाँ भएको ड्रोसेरा लुनाटालाई ड्रोसेरा पेल्टाटा र ड्रोसेरा पेल्टाटा भेराइटी लुनाटा भनेर पहिचान गरेका रहेछन्। नेपाल सम्बद्ध जे-जति पुस्तक तथा लेख छन्, ती सबैमा ड्रोसेरा लुनाटा पाइन्छ भन्ने जानकारी अहिलेसम्म प्रकाशित भएको छैन।
भोजन ग्रहणशैली
बिरुवाको जराले पानी तथा मिनरल्सहरू सोस्छ। तिनीहरु अन्त्तत विभिन्न भागका कोष कोषमा पुग्छन्। सूर्यको प्रकाशको उपस्थितिमा क्लोरोफिल अर्थात् हरितकणको सहायताले हरिया पात, बोक्रा आदि कोषमा भोजन बन्छ। यो भनेको विशेषतः पानी र कार्बनडाइअक्साइडको संयोजन भएर ग्लुकोज बनेको हो। यसरी बिरुवाले प्रकाशशक्तिलाई रासायनिक पदार्थमा परिवर्तन गर्छ जुन श्वासप्रश्वास प्रक्रियामा टुक्रिएर शक्ति निस्कन्छ।
हरितकण नभएको वनस्पतिले जराबाट सडेगलेको चिजबिच सोसेर लिन्छ। यस कारण वनस्पतिले जन्तुलाई भोजनका रूपमा ग्रहण गर्छ भन्नु अझै पनि आश्चर्य नै हो। त्यस्तै वनस्पतिमा भोजन गर्ने मुख हुँदैन। केही वनस्पतिले अतिरिक्त भोजनका निम्ति जन्तुलाई मारेर तिनमा भएको पौष्टिक पदार्थ सोसेर लिन्छ। यसका निम्ति वनस्पतिले विशेषतः पातबाट जन्तुमा रहेको आवश्यक पदार्थ ग्रहण गर्छ। यस काममा तिनको पात हतियारमा रूपान्तरित भएको हुन्छ।
भेनस फ्लाइट्र्यापको पात झण्डै सानो दुनो जस्तो हुन्छ। भित्रपट्टि कीरालाई आकर्षित गर्न रसायन निस्कन्छ र सतहमा ससाना रौं जस्ता आकृति (टेन्टाकल) हुन्छन्। कीरा जब त्यहाँ बस्छ, त्यो बिस्तारै बन्द हुन्छ। कीराले त्यसको अनुभूति नै गर्न पाउँदैन। यसरी पात बन्द हुँदा थैली जस्तो आकृति बन्छ। त्यसपछि किरा छटपटिँदै निस्सासिएर मर्छ। चार्ल्स डार्विनले नोर्थ र साउथ क्यारोलिनामा भेनस फ्लाइट्र्यापलाई ज्यादै चाख दिएर अध्ययन गरेका थिए। भनिन्छ, डार्विनलाई सबैभन्दा मन पर्ने वनस्पति त्यही हो।
सनडिउको पात डाडु जस्तो आकारको हुन्छ। भित्रपट्टि ससाना गुलियो चिपचिपे रस उत्पादन गर्ने त्यान्द्रा जस्ता संरचना अर्थात् टेन्टाकल प्रशस्त मात्रामा हुन्छन्। किरा समाउनका लागि केही टेन्टाकल्सहरू निकै लामा हुन्छन्।
कीराहरू आहारका निम्ति जब त्यहाँ बस्छन्, चिपचिपे पदार्थमा टाँसिन्छन् अनि टेन्टाकलले चारैतिरबाट बाँधिन्छन्। किरा त्यहाँबाट निस्कने प्रयास गर्दागर्दै गलेर मर्छन्। डाडु आकारको पात बिस्तारै बन्द हुँदै गरेको थैलीको मुख जस्तो आकृतिमा मोडिन्छ। कीरा थैलीको मुखमा टाँसिए जस्तो हुन्छ। त्यसपछि वनस्पतिले बिस्तारै कीरा टाँसिएको भागमा सडाउने रसायन पुर्याउँछ।
त्यसरी सडेको भाग पातले सोसेर लिन्छ। यसरी, कीरा बिस्तारै त्यहीं सकिन्छ। त्यो दृश्य हेर्दा वनस्पतिले नदेखिने गरी कीरा चपाउँदै, निल्दै गरे जस्तो देखिन्छ। यस्ता बिरुवालाई राम्ररी हेर्दा केही पातमा अलिकति कीराको भाग सकिएको, कुनैमा आधा रहेको र कुनैमा टाउको मात्र बाँकी रहेको देखिन्छ।
हाम्रा वरपर कीरालाई अतिरिक्त भोजन बनाउने थुप्रै वनस्पति छन्। तिनलाई घर, बगैंचामा रोपेर शोभा बढाउन सकिन्छ। यिनलाई झिंगा तथा भुसुना नियन्त्रणमा पनि उपयोग गर्न सकिन्छ। बालीनालीको निम्ति हानिकारक किरा पनि नियन्त्रण गर्न सकिएला। यसबाट जैविक विविधतामा के-कस्तो प्रभाव परेको छ भन्ने अध्ययन भए यसको उपयोगिताबारे जानकारी हुने थियो। यसतर्फ अध्येताहरू लाग्न जरुरी छ।