‘बालबच्चासँग खेलेको, स्कूल पुर्याएको खूब याद आउँछ’
साउदीबाट बुबाले एउटा चिठीमा लेख्नुभएको थियो, ‘यदि मैले पढे-लेखेको भए, आज यो ठाउँमा आएर माली भएर काम गर्नुपर्ने थिएन। मेरो पदोन्नति पनि हुनेथियो, तर मालीको कुनै पदोन्नति नहुने रहेछ। त्यसैले तिमीहरूले पढ्नु जरुरी छ।’
मलाई थाहा छैन, मेरो जीवनयात्राको कथा कहाँबाट शुरू गरौं।
म सामान्य परिवारमा हुर्कें। मेरा बुबा अदालतको सन्देशवाहक हुनुहुन्थ्यो। उहाँको कानूनी कागजात ओसारपसार गर्ने जागीरले परिवारको पेट पाल्न निकै गाह्रो थियो। त्यसैले २०५० सालमा साउदी अरब जानुभयो र मालीको जागीर खानुभयो। साउदीको उधुम गर्मीमा बाहिरै बसेर काम गर्नुपर्थ्यो।
हामीले चिठीको माध्यमबाट बुबासँग सम्पर्क गर्न थाल्यौं। जब दुई महीनासम्म चिठी आउँदैनथ्यो, आमा रुन थाल्नुहुन्थ्यो। म र मेरा दिदीबहिनीले आफैंले चिठी लेख्थ्यौं, जुन निकै औपचारिक हुन्थे। विद्यालयमा जसरी सिकाइएको हुन्थ्यो, त्यसरी नै लेख्ने गर्थ्यौं।
२०६१ सालमा सुरक्षा गार्डका रूपमा काम गर्न कुवेत उडें। कुवेत आएर दैनिक १२ घण्टा काम गर्दा बेसरी थाक्थें। कहिलेकाहीं त रिगँटा लाग्थ्यो।
‘श्री पूजनीय बाबा, साष्टाङ्ग दण्डवत्’।
प्राय: सबै चिठीहरूमा हामीलाई विद्यालयमा राम्ररी पढ्नु भनेर सम्झाउनुहुन्थ्यो।
बुबाले एउटा चिठीमा लेख्नुभएको थियो, “यदि मैले पढे-लेखेको भए आज यो ठाउँमा आएर माली भएर काम गर्नुपर्ने थिएन। साउदीमा भए पनि राम्रो काम पाउँथे होला। मेरो पदोन्नति पनि हुनेथियो। तर, मालीको कुनै पदोन्नति नहुने रहेछ। त्यसैले तिमीहरूले पढ्नु जरुरी छ। तिमीहरूले पढ्न सके भनेरै म यहाँ काम गरिरहेको छु।”
जब बुबा ५० वर्ष पुग्नुभयो, उहाँलाई साउदी अरबबाट घर फिर्ता ल्यायौं। उहाँले १० वर्षसम्म धेरै मिहिनेत गरेर काम गर्नुभयो, अब मेरो पालो हो।
बुबा फर्किनुभयो र वैदेशिक रोजगारीको छडी मलाई हस्तान्तरण गर्नुभयो। २०६१ सालमा सुरक्षा गार्डका रूपमा काम गर्न कुवेत उडें। यति धेरै गर्मी कि त्यहाँ बसेर काम गर्न त्यति सजिलो थिएन। मेरा दर्जनौं नेपाली साथीहरू एक-एक गर्दै नेपाल फर्किरहेका थिए। कोही काम गर्दा गर्दै सुत्ने, कोही ढल्ने त कोही गर्मी सहन नसकेका कारण फर्केका थिए।
काम गर्न जस्तोसुकै गाह्रो भए पनि म भने त्यहीं रहें। काम गर्न थालेको १७ वर्ष भयो। यो अवधिमा कैयौं पटक पदोन्नति भयो, सिफ्ट सुपरभाइजरदेखि प्याट्रोलिङ सुपरभाइजर, अपरेशन सुपरभाइजरबाट एसिस्टेन्ट अपरेशन सुपरभाइजर, अपरेशन म्यानेजरबाट हाल असिस्टेन्ट म्यानेजिङ डाइरेक्टरसम्म पुगेको छु।
वैदेशिक रोजगारीमा जानुअघि बिहान ३ बजे उठेर पोखराका घरघरमा पत्रपत्रिका बाँड्न जान्थें। कुवेत आएर दैनिक १२ घण्टा काम गर्दा बेसरी थाक्थें। कहिलेकाहीं त रिगँटा लाग्थ्यो।
कुवेतमा काम गर्न थालेदेखि नै राम्रो स्थानमा पुग्ने सपना देखेको थिएँ। त्यो कुरा साथीभाइलाई पनि सुनाउँथें, तर साथीभाइ हाँस्थे। त्यो सपना आज साँचो भएको छ। यहाँसम्म आइपुग्न मेरो पढाइले साथ दिएको होइन, मेरो अङ्ग्रेजी बोल्ने शैली, इमान र इमानदारीपूर्वक काम गर्ने व्यवहारले सम्भव भएको हो।
प्रायः जब हामी विदेश जान चाहन्छौं, तब शुरूआतमा म्यानपावर कम्पनी धाउँछौं। जागीर खोजिदिन हारगुहार गर्छौं, लगातार फोन र मेसेज गर्छौं। तर, विदेशमा जान हवाईजहाज चढेको केही मिनेटमै उनीहरूलाई गाली गर्न थाल्छौं। मलाई कुवेत पठाउने म्यानपावर कम्पनीको मालिकलाई भेटें भने ‘धेरै धन्यवाद’ भन्छु।
मेरो सफलता भनेकै मेरो घरपरिवारलाई गरीबीबाट उकास्नु नै हो। मेरा आफन्त र गाउँका मानिसलाई पनि उचित पारिश्रमिक भएको काममा लगाएको छु। मेरो आर्थिक बलले मसँग सम्बन्धित व्यक्तिलाई पनि उन्नतिको पथमा डोर्याउन सहयोग गरेको छु।
मेरा बुबाको साउदीको बसाइले कुनै रकम बचत नभए पनि हाम्रो परिवारलाई एक छाकको खाना र सामान्य आवश्यकता पुर्याउन मद्दत गरेको थियो। मेरो अनुभव र कमाइले मेरो परिवारलाई अझै खुशी बनाएको छ।
के नेपाल सरकारले मलाई सहयोग गरेको हो त? होइन। म्यानपावर कम्पनीहरूले गर्दा नै म सफल भएको हुँ। उनीहरू धेरैजसो गाली र आरोप खेप्छन्। त्यस्ता म्यानपावर कम्पनी जसले कामदारलाई एक ठाउँमा भनेर अर्कै ठाउँमा काम लगाउँछन्, भने अनुसार पारिश्रमिक मिल्दैन भने त्यसमा म्यानपावर कम्पनीलाई कारबाही गर्नैपर्छ। तर, एउटा कुरा स्मरण गर्नुपर्छ, म्यानपावर कम्पनीहरूले सरकारले भन्दा बढी मान्छेलाई काम दिलाएका छन्।
मेरा बुबाको साउदीको बसाइले कुनै रकम बचत नभए पनि हाम्रो परिवारलाई एक छाकको खाना र सामान्य आवश्यकता पुर्याउन मद्दत गरेको थियो। मेरो अनुभव र कमाइले मेरो परिवारलाई अझै खुशी बनाएको छ। यसको सबै श्रेय वैदेशिक रोजगारीलाई नै जान्छ।
म जस्तै राम्रो गर्नेहरू धेरै छन्। धेरैजसो नेपाली आउन त आउँछन्, तर थोरै कमाइमै फर्किन्छन्।
मिहिनेत नै सफलतको साँचो हो। योजना तथा दूरदृष्टिले आफ्नो लक्ष्य हासिल गर्न सकिन्छ। हामी कतिले सही मार्गनिर्देशन पाउँदैनौं, जसले गर्दा राम्रो मौकाबारे जानकारी नै हुँदैन।
कम्प्युटर तथा अङ्ग्रेजी भाषाको सीपले धेरै अवसर प्राप्त हुन्छ। तर, प्रायः वैदेशिक रोजगारीमा आउने नेपालीले यसबारे बुझेका देखिंदैनन्। आफैंलाई नतिखारी कसरी हाम्रा अगाडि अवसर आउँछन्?
मैले सुरक्षा गार्डका रूपमा काम थालेको थिएँ, तर मेरा नजिकका मानिससँग बसेर कम्प्युटर सिकाउन आग्रह गरें, उनीहरूको भर परें। म अझै पनि सम्झन्छु, मैले पहिलो पटक एक अनुच्छेद टाइप गरेको थिएँ र मसँगै काम गर्ने मेरो साथीले यसलाई प्रिन्ट गरिदिएका थिए। त्यति वेला म निकै खुशी भएको थिएँ।
विदेशमा रहँदा विगतका ससाना पलहरूले नै पनि खूब सताउँछन्। जस्तो आफ्ना बालबच्चासँग खेल्ने, उनीहरूलाई विद्यालय पुर्याउने लगायत दैनिक क्रियाकलाप निकै याद आउँछन्।
कोरोनाभाइरसको सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीमा आठ महीना नेपालमै अड्किएँ। बन्दाबन्दी खुल्ने बित्तिकै कुवेत फर्कने निर्णय गरेको थिएँ। नेपालमा हुँदा होटल तथा रेस्टुराँ खोल्ने सोचेको थिएँ। यसबारे बुझ्दा आफैंले व्यापार व्यवसाय शुरू गर्ने आँट नै आएन।
म यहाँको जीवनशैलीमा ढलिसकेको थिएँ। वैदेशिक रोजगारी नै सजिलो बनिसकेको थियो। मेरा कैयौं साथी जसले कुवेतबाट कमाएको पैसा नेपालमा लगानी गरेर नोक्सानी बेहोरेर फेरि कुवेतमै काम गर्न फर्केको भेटेको छु।
धेरै वर्षपछि नेपाल फर्कंदा हाम्रो सम्बन्ध धेरै मानिससँग रहँदैन। अर्को भ्रष्टचारसँग जुध्न र अन्य कामकाज गर्न पनि पर्याप्त ज्ञानको कमी होला। तैपनि मलाई विश्वास छ, नेपालमा इमानदार भएर काम गर्दा सफलता पाउन सकिन्छ।
विदेशमा रहँदा विगतका ससाना पलहरूले नै पनि खूब सताउँछन्। जस्तो आफ्ना बालबच्चासँग खेल्ने, उनीहरूलाई विद्यालय पुर्याउने लगायत दैनिक क्रियाकलाप निकै याद आउँछन्। तर, प्रवासी कामदारको छोरा र आफू बुबा भएको अनुभवले यति भन्न सक्छु- विदेशबाट अभिभावकत्व निर्वाह गर्न केही सजिलो भएको छ।
जब म सानो थिएँ, हुलाकले हरेक बिहीबार बुबाको चिठी घरमा ल्याइदिन्थ्यो। हामी चिठी कुरिरहन्थ्यौं। कहिलेकाहीं चिठी कतै अड्केका कारण ६ महीनामा ६ वटा चिठी एकै पटक आइपुग्थे। त्यति वेला हामी निकै आत्तिइसकेका हुन्थ्यौं। अहिले म मेरा छोराछोरीलाई केही महीनामै भेट्न सक्छु भने उनीहरूसँग दैनिक कुराकानी गर्छु।
अहिले टाढा भए पनि नेपालमा बसेर भन्दा विदेशबाट देशलाई सहयोग गरिरहेको छु। भूकम्पको समयमा होस् या कोभिड-१९, हामीले निकै सहयोग गरेका थियौं, अक्सिजन सिलिन्डर समेत पठाएका छौं।
खाडी मुलुकमा कैयौं नेपाली समस्यामा पर्छन्। मेरो तलबबाट कटाएर हरेक महीना मद्दत गर्छु। विदेशमा पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गर्न पाउनु मेरो अहोभाग्य हो। जब म समस्यामा परेका मानिसको कुरा सुनेर आफ्नो कोठामा जान्छु, आफैं भावुक हुन्छु। यस्तो समयमा म कविता कोर्ने गर्छु।
मलाई सबैभन्दा पीडादायी क्षण काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कँदा भएको थियो, जति वेला केही मान्छेले सामानको ट्रलीमा दुई वटा लाश धकेलिरहेका थिए। ती शव म आएको जस्तै जहाजबाट स्वदेश ल्याइएका थिए।
त्यसपछि मैले यी पङ्क्ति कोरें:
घर गाउँमा रुवाबासी पीर पठाएछ,
सम्झनालाई अन्तिम चिनो तस्वीर पठाएछ,
खुशी बोकी घर फिर्छु भन्थ्यो परदेशीले,
कठै! आज बाकसभित्र शरीर पठाएछ।
यो वैदेशिक रोजगारीमा रहेका कामदारको नियति जस्तै हो। कोही न कोही त्रिभुवन विमानस्थलबाट बाकसमा घर फर्किरहेकै हुन्छन्।
घरपरिवार छोडेर विदेशमा बस्नु उस्तै पनि पीडादायी नै हुन्छ। त्यही गाह्रोसाह्रोभित्र खुशी पनि छोप्नुपर्छ। मलाई सबैभन्दा राम्रो लागेको यादगार क्षण २०७४ मा सालमा बुबालाई कुवेत ल्याउँदाको हो। बुबा मेरो अफिसमा आउनुभयो र मेरो कुर्सीमा शानले बस्नुभयो। उहाँले साउदीमा गरेको दुःखबारे बताउनुभयो र त्यो दुःख अहिले काम लागेको बताउनुभयो।
अहिले मैले पाएको सफलता पछाडिको प्रेरणाको स्रोत बुबाले साउदीबाट लेख्नुभएको चिठी नै हो। उहाँले हाम्रा लागि आफ्नो जीवन व्यतीत गर्नुभयो। गत वर्ष हामीले उहाँलाई गुमायौं। उहाँलाई हरेक दिन सम्झिन्छु।
(नेपाली टाइम्समा प्रकाशित लेखको भावानुवाद।)