एमसीसी सम्झौतामाथि छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न प्रतिनिधि सभाको बैठक बस्दै छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। १२ फागुनमा बोलाएको बैठक सभामुख अग्निप्रसाद सापकोटाले आजलाई सारेका हुन्।
आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफल पनि रहेको छ। संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा अर्थ मन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव राख्ने उल्लेख छ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गर्ने सम्भावित कार्यसूचीमा रहेको संघीय संसद्का महासचिव भरतराज गौतमले जनाएका छन्।
१२ फागुनमा अर्थ मन्त्री शर्माका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल गरेका थिए।