युक्रेनमाथि दोस्रो दिन पनि रूसी आक्रमण
रुसले दोस्रो दिन पनि युक्रेनमाथिको आक्रमण जारी राखेको छ। बिहानैदेखि युक्रेनको राजधानी किइभमा आक्रमण भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
स्थानीय समय अनुसार, शुक्रबार बिहान ६ बजेदेखि नै रूसले आक्रमण थालेको छ। रूसी सैनिकहरू युक्रेनको राजधानी किइभ नजिक पुगेको जनाइएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सैनिक राजधानी प्रवेश गरेको बताएका छन्।
रूसी सैनिकको आक्रमणका कारण राजधानी किइभमा कर्फ्यू लगाइएको छ। नगरबासीलाई घर बाहिर ननिस्कन उर्दी जारी गरिएको छ।
युक्रेनको पूर्वी क्षेत्रमा भीषण आक्रमण भइरहेको जनाइएको छ। युक्रेनी सेना पनि प्रतिरक्षामा उत्रिएका छन्। रूसले उत्तर र दक्षिणतर्फबाट पनि आक्रमण शुरू गरेको छ।
हजारौं युक्रेनी राजधानी किइभ छोडेर सुरक्षित स्थलतर्फ लागेका छन्। उनीहरू छिमेकी देश पोल्यान्ड र रोमानियातर्फ गएका छन्। राजधानीका धेरै जसो बासिन्दा भूमिगत मेट्रो स्टेशनमा आश्रय लिइरहेका छन्।
युक्रेन सरकारले सर्वसाधारणलाई पनि लडाइँमा उत्रिन आह्वान गरेको छ। स्वस्फूर्त रूपमा लडाइँमा उत्रिन चाहने नागरिकलाई सरकारले हतियार उपलब्ध गराउने जनाएको छ।
यूरोपियन युनियन, अस्ट्रेलिया र जापानले रुससँगको व्यापारमा रोक लगाएका छन्। उनीहरूले ब्यांक, वित्तीय संस्था तथा कम्पनीलाई लक्षित गरेर रोक लगाएका हुन्।
त्यस्तै, पश्चिमा देशरूले युक्रेनलाई सहायता उपलब्ध गराउन भएका छन्। उनीहरूले सैन्य सहयोगसँगै मानवीय सहायता पठाउन लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
फ्रान्सेली राष्ट्रपति इम्यानुल म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेर आक्रमण रोक्न आग्रह गरेका छन्। उनले युक्रेनमाथिको आक्रमण तत्काल रोक्ने विषयमा कुराकानी भएको जनाएका छन्।