टिम्मुर, रुद्राक्ष र गुलुप
यो ‘सानो’ लेखोटमा कौनो ‘ठूलो’ बात भन्न खोजेको होइन। बस्, यति भन्न खोजेको हो- तपाईंको राशि हात्ती चढ्नेसित मिल्दैमा तपाईंको राशिफलमा धुरी चढ्न पाइन्छ भनेर लेखिएको नहुन सक्छ।
उहाँको र उसकोे राशि उही। किनभने, दुवैको नाम वर्षमान। उमेर पनि मिल्दोजुल्दो। राजनीतिक चेत पनि काइदाले मिल्ने। लडाइँको मोर्चामा एक-दुई हातको फरकमा बन्दुकै समाएर उभिएका दुवै। तर, उहाँलाई चिट्ठा पर्यो, उसलाई परेन। त्यसैले ऊ संविधानसभा सदस्य हुन पाएन। सांसद हुन पाएन। मन्त्री पनि हुन पाएन।
ऊ उति वेला पनि रैती थियो, पछि पनि रैती नै रह्यो। ऊ उहाँ जस्तो सम्मानित हुन पाएन। उहाँलाई मतदाताले पत्याए र बुई चढाएर सत्ताको चास्नीवाला बडेमानको स्वर्णिम कराहीमा पुर्याए। ऊ चाहिं सत्ताले वेलावेलामा दनक दिइरहने मतदाता बनिरह्यो र टिम्मुरको छोपमा चित्त बुझाइरह्यो।
चास्नीवाला वर्षमान र सत्तालाई रूखमा फलेको बेललाई झैं ट्वाल्ल हेरिरहेको टिम्मुरवाला वर्षमानबीच एउटा कुरामा चाहिं चौपट्टै समानता देखियो। दुवैलाई असाध्य र महँगो रोगले पत्यायो। रोगले दिएको पीडा पनि दुवैको उस्तै उस्तै र पीडाबाट उत्पन्न आँसुको स्वाद पनि दुवैको उस्तै।
रोग लागेर चास्नीजीले बैंककका अस्पताल ओहोरदोहोर गरिरहँँदा टिम्मुरवाला वर्षमान भने जसोतसो भेरी अञ्चल अस्पतालसम्म ओहोरदोहोर गर्दै थियो।
उपचारपछि पनि रोगले गाँज्न दुवैलाई छोडेन। चास्नीवाला वर्षमानजी थप उपचारका लागि विमान चढेर सरकारी खर्चमा चीन जानुभयो। ऊ भने टिम्मुर फल्ने बारी नै बेचेर खटारो बस चढेर कोहलपुर अस्पताल पुग्यो।
उपचारपछि चास्नीवाला वर्षमानलाई चीनबाट स्वदेश फिर्ता ल्याउन सरकारले बडेमानको जहाज नै ‘चार्टर’ गरेर पठायो। टिम्मुरे वर्षमानलाई भने घर फर्कने सौभाग्य मिलेन। ऊ उपचारका क्रममै बित्यो।
कस्तो संयोग! सत्तावाला वर्षमानजी चीनमा विमान चढ्दा यता टिम्मुरवाला वर्षमानको मृत देहलाई आफन्तजनले सरकारी अस्पतालको थोत्रो शववाहनमा कोचकाच गर्दैै थिए।
सत्तावाला वर्षमानजी सकुशल चीनबाट उडेर काठमाडौंको विमानस्थलमा अवतरण गरी सम्मानसाथ वातानुकूलित गाडीमा सवार भएर सरकारी सुविधायुक्त निवास पुग्दा टिम्मुरवाला वर्षमानको शव बोकेको गाडीले आधा बाटो पनि छिचोलेको थिएन।
यो ‘सानो’ लेखोटमा कौनो ‘ठूलो’ बात भन्न खोजेको होइन। बस्, यति भन्न खोजेको हो- तपाईंको राशि हात्ती चढ्नेसित मिल्दैमा तपाईंको राशिफलमा धुरी चढ्न पाइन्छ भनेर लेखिएको नहुन सक्छ।
रुद्राक्ष
अन्ततः चुनाव समयमा नगर्ने भन्ने सरकारी निर्णय विरुद्ध सर्वोच्चमा मुद्दा दायर भयो। समयमै चुनाव भएमा प्रतिपक्षलाई फाइदा हुने स्थिति देखेपछि सत्तारूढ गठबन्धनको सरकारले त्यस्तो निर्णय गरेको थियो। गठबन्धनलाई जसरी पनि यो मुद्दा जित्नु थियो। त्यसैले गठबन्धनमा आबद्ध पार्टीका शीर्ष नेताहरू ज्योतिषीहरूकहाँ पुग्नुभयो र एक स्वरमा अनुनय गर्नुभयो, ‘माई लर्ड, यो मुद्दा जित्ने उपाय बताउनुस्।’
मलाई मेरो सपना साँचो भइदेला भन्ने ठूलो त्रास छ। किनभने, जब राजनेता भनाउँदाहरूले रुद्राक्ष धारण गर्छन्, देश जोगी बन्छ र अदालतमा धान फल्न थाल्छ।
ज्योतिषीजीहरूको ‘फूल बेन्च’ बाट निजहरूलाई सल्लाह प्राप्त भयोे- ‘यसै महीनाको त्रयोदशी तिथिका दिन हे चक्रधर, हे चक्रपाणिनी, हे चक्रायुधधारीयः नमो नमः भनेर १०८ पल्ट जप गर्नुस्। मुद्दामा जित हात पार्न शिवजीको कृपा हुन जरुरी छ। त्यसका लागि आजैदेखि रुद्राक्षको माला धारण गर्नुहोस्।
फैसलाको दिन बिहान कालो चामलको ११/११ दाना आआफ्नो पार्टी कार्यालयको दक्षिण दिशातिर फ्याँकिदिनुस् र पहेंलो कागतीमा चार वटा ल्वाङ पनि गाडिदिनुस्। उक्त दिन अदालत जाँदा निधारमा रातो कनेरको फूल पिसेर बनाएको टीका लगाउनु उत्तम हुनेछ। सो दिन एक एक मुठी धान इजलासमा कसैले नदेख्ने गरी छर्किदिनुस्।’
वास्तवमा यो मेरो सपनामा घटित भइरहेको कुरो थियो। मैले सपनामै देखें, गठबन्धनका ती नेताहरू ज्योतिषीको कार्यकक्षबाट निस्किँदा आपसमा भन्दै थिए, ‘जनताको मन जित्ने भन्ने कुरा यस्तैउस्तै हो साथीहरू। सजिलो त मुद्दा जित्नु नै रहेछ।’
प्रिय पाठक! मलाई मेरो सपना साँचो भइदेला भन्ने ठूलो त्रास छ। किनभने, जब राजनेता भनाउँदाहरूले रुद्राक्ष धारण गर्छन्, देश जोगी बन्छ र अदालतमा धान फल्न थाल्छ।
गुलुप
परार सालतिरको कुरा हो, नेपाल प्रज्ञा-प्रतिष्ठानमा नयाँ प्राज्ञहरू भर्तीको मौसम शुरू हुने तर्खरमा थियो। निजलाई मैले तिनताक नै भेटेको थिएँ। उहाँलाई देखेर साढे चारछक परेको थिएँ। सोधें, ‘सरजी, तपाईंको शरीर त शून्य दशमलव एक जिरो टनको थियो। यसरी नर्कट जस्तो पातलो कसरी हुनुभयो? सुगर वा कुनै असाध्य रोगले गाँज्यो कि?’
मुसुमुसु हाँस्दै सरजीबाट मर्जी भयो, ‘कठोर व्यायाम र मर्निङ वाकको परिणाम हो यो बाबु। ज्यान काइदाको बनाइयो।’
‘अनि यसरी काइदाको ज्यान बनाउने त्यस्तो के आइलाग्यो सरजी?’ जिज्ञासा राखें।
उहाँले गर्वले चहकिलो अनुहार पारेर भन्नुभयो, ‘नेपाल प्रज्ञा-प्रतिष्ठानमा प्राज्ञ नियुक्तिको मौसम आएको छ। यस पटक मलाई’नि प्राज्ञ हुने रहर छ। तर, नेतागण र मन्त्रीगणको चाकडीमा बहुतै दौडधुप गर्नुपर्ने रहेछ। त्यसैले दौडधुपका लागि सहज होस् भनेर वजन घटाएको हुँ।’
यति भनेर उहाँ फेरि मुस्कुराउनुभयो। उहाँको मुहारबाट सय वाटको एलइडी गुलुपको उज्यालो प्रवाहित भयो। औंशीको रात। त्यसमाथि इलाकाको बत्ती केही दिनदेखि बेपत्ता थियो। तर, त्यो रात उहाँको अनुहारबाट प्रवाहित भएको त्यही गुलुपीय उज्यालोमा बाटो पहिल्याउँदै म सकुशल आफ्नो गुँडमा आइपुगेको थिएँ।
अब फेरि प्राज्ञ नियुक्तिको त्यही मौसम शुरू हुनेवाला छ। केही स्वघोषित स्वाभिमानी साहित्यजीवीहरूको व्यायाम शुरू भइसकेको सूचना निरन्तर प्राप्त भइरहेछ। ढुक्क छु, यस पटक पनि औंशीको रातमा उज्यालो हुने निश्चितप्रायः छ।
(हिमालको २०७८ फागुन अङ्कबाट।)