युक्रेनमा रहेका नेपालीको उद्धार गर्न आग्रह
युक्रेन-रुस तनावपछि त्यहाँ रहेका नेपालीलाई उद्धार गर्नुपर्ने आवाज उठेको छ।
अध्ययनका लागि युक्रेन पुगेका उनीहरूले युद्धको वातावरणमा रहन सकस भएकाले सरकारसँग तत्काल उद्धारका लागि पहल गर्न आग्रह गरेका हुन्।
गैरआवासीय नेपाली संघले ३८ जना नेपाली विगत लामो समयदेखि युक्रेनमा पेशा व्यवसाय गर्दै आएको जनाउँदै बिहीबार जारी गरेको विज्ञप्तिमा विद्यार्थी र ट्रान्जिटमा रहेको नेपालीको सङ्ख्या दुई सय नाघ्न सक्ने जनाइएको छ ।
मन्त्रालयले बुधबारसम्म युक्रेनमा भएका ३८ नेपाली सम्पर्कमा आएको जनाएको थियो भने बीबीसीले सो सङ्ख्या अझ धेरै हुन सक्ने बताएको छ । बीबीसीको रिपोर्ट अनुसार, त्यहाँ रहेका नेपालीले अवस्था त्रासदपूर्ण भएको र उद्धारका लागि नेपालले विमान पठाउने आशा गरेका छन्।
परराष्ट्र मन्त्रालयले भने बुधबार ‘ट्राभल एड्भाइजरी’ प्रकाशित गर्दै नेपाली नागरिकहरूलाई युक्रेन भ्रमणमा नजान आग्रह गर्दै अत्यावश्यक भए बाहेकका नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको थियो ।
त्यहाँ भएका नेपालीहरू कर्फ्यू लाग्नुअघि नै राजधानी किइभबाट पोल्यान्डको सीमा नजिकको सहरमा जाने तयारीमा छन्। त्यहाँ भएका नेपालीहरू एकआपसमा सम्पर्क गरेर सुरक्षित स्थानमा बस्ने तयारीमा रहेको समाचारहरूमा जनाइएको छ ।
रूसका लागि पूर्व नेपाली राजदूत हिरण्यलाल श्रेष्ठ सरकारले युक्रेनमा रहेका नेपालीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँछन्। उनले हिमालखबरसँग भने, “सरकारले सम्भव भएसम्म तुरुन्तै उद्धार गरेर नेपाल फर्काउनुपर्छ, त्यसो गर्न सकिंदैन भने सुरक्षित अन्य देशमा लैजानुपर्छ।”
परराष्ट्र मन्त्रालयले आवश्यक परेको अवस्थामा नेपाली दूतावास वा मस्कोस्थित दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ। मन्त्रालयले बर्लिनस्थित दूतावासका तृतीय सचिव सहारा चौलागाईं र मस्कोस्थित कार्यवाहक राजदूत सुशील घिमिरेलाई सहजताका लागि सम्पर्क गर्न सूचित गरेको छ ।
दश वर्षअघिसम्म युक्रेनमा नेपाली विद्यार्थीहरू चिकित्सा र इन्जिनियरिङ अध्ययनका लागि जाने गरे पनि पछिल्ला दिनमा सो क्रम घटेको थियो । तर, अहिले भने म्यानपावरहरूले विद्यार्थीको आवरणमा कामदार युक्रेनमा पठाउने गरेका छन् । धेरै नेपाली युक्रेनका शहरमा विभिन्न काममा संलग्न छन् ।
मानव तस्करले युरोपेली मुलुकहरू रोमानिया, हंगेरी, स्लोभाकिया, पोल्यान्ड हुँदै यूरोपमा जान युक्रेनलाई उपयोग गर्ने गरेका छन् । विभिन्न देशबाट युक्रेन जानेहरू पाए यूरोप छिर्ने नपाए केही वर्ष त्यहीं बसेर फर्कन्छन् । युक्रेनमा काम गर्न पुगेका नेपाली युवाले झण्डै एक लाख कमाउने गरेका छन् ।
वैदेशिक रोजगार विभागको २०७७/७८ को तथ्याङ्कमा व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर गत वर्ष ४७ पुरुष र ६ महिला युक्रेन गएको देखिन्छ ।
एनआरएनको चिन्ता
युक्रेनमा भएको घटनाप्रति गैरआवसीय नेपाली संघले पनि चिन्ता व्यक्त गर्दै युक्रेनमा रहेका भनिएका ३८ जना नेपाली लामो समयदेखि त्यहीं बसोबास गर्दै आएको जनाउँदै उनीहरू सकुशल रहेको जनाएको छ ।
त्यस बाहेक संघले आफ्नो त्यहाँ दुई सय ४४ रहेको जानकारी प्राप्त भएको बताएको छ। संघले जारी गरेको वक्तव्यमा युक्रेनमा अध्ययनरत विद्यार्थी ४४ जना रहेको पुष्टि भएको जनाएको छ । त्यस्तै, विभिन्न युरोपेली मुलुकमा जानका लागि हवाई यात्राको ट्रान्जिटमा दुई सयभन्दा अधिक नेपाली रहेको संघको विज्ञप्तिमा उल्लेख छ ।
यूरोप छिर्ने मार्गका रूपमा युक्रेनलाई उपयोग गर्ने क्रममा कतिपय नेपाली मानव तस्कर तथा म्यानपावरको जालमा त्यहाँ पुगेको हुन् । कतिपय विद्यार्थी भिसामा त्यहाँ जाने र पटक पटक म्याद थप्दै बसेर यूरोप छिर्ने गर्छन् । नेपालीहरू युक्रेनको ओडेसा, किभ, खार्काेभ, लुज्क, बेलिर्चेकोभ लगायत सहरमा छन् ।
गैरआवासीय संघले त्यहाँ रहेका सबै नेपालीलाई आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउन आग्रह गरेका छ । साथै, युक्रेनमा रहेका सबै नेपालीलाई आफू सुरक्षित रहन र त्यहाँको घटनाक्रम मूल्याङ्कन गरी आवश्यक परे स्वदेश फर्कन पनि संघले आग्रह गरेको छ । संघले आवश्यक परेको अवस्थामा राष्ट्रिय समन्वय परिषद् युक्रेनका हरि मल्ललाई सम्पर्क व्यक्ति तोकेको छ ।
युक्रेनको राजधानी किइभ बाहेकका सहर खर्किभ, मोल्डोभा, ओडेसामा नेपाली विद्यार्थी रहेका छन् । युक्रेनमा नेपाल बाहेक दक्षिणएशियाली मुलुक भारत, बाङ्लादेश लगायत देशका विद्यार्थी विभिन्न विषयमा अध्ययनरत छन् । त्यहाँको विमानस्थल बन्द भइसकेको हुँदा आफूले चाहेर मात्र आउने सक्ने सम्भावना छैन ।
नेपालले युक्रेनसँगको कूटनीतिक मामिलालाई रूसको राजधानी मस्कोमा भएको नेपाली दूतावासबाट हेर्दै आए पनि सन् २०१४ देखि रुस-युक्रेन द्वन्द्व चर्कन थालेपछि युक्रेनको सहप्रमाणीकरणको जिम्मा जर्मनीको बर्लिनस्थित नेपाली दूतावासलाई दिएको थियो ।
युक्रेनमा कति नेपाली छन् भन्ने पुष्टि भएको छैन । रोजगारी तथा विभिन्न प्रयोजनको लागि त्यहाँ आठ सयसम्म नेपाली रहेको अनुमान छ । केही नेपाली स्लोभाकिया र हंगेरीको सीमाक्षेत्रमा रहेको सहर उजरोडतिर सुरक्षित हुने आशमा त्यता लागेको समाचार पनि आइरहेको छ ।
द्वन्द्वको कारण
१९९१ मा सोभियत संघ टुक्रिएपछि स्वतन्त्र भएको युक्रेनमा सन् २०१३ मा जनविद्रोह भएको थियो । त्यसपछि रसियन प्रभुत्व रहेको दोनेत्सक र लुहान्स्क क्षेत्रमा छिटफुट भिडन्त भइरहने क्रममा विगत आठ वर्षमा १४ हजारको मृत्यु भइसकेको छ ।
दोनेत्सक र लुहान्स्कमा झण्डै ८५ प्रतिशत जनता रसियाली मूलका छन् । उनीहरू रसियाप्रति नरम छन् र विगतदेखि नै युक्रेनबाट अलग्गिनुपर्ने धारणा राख्छन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नाटोको सदस्यता दिन नहुने धारणालाई पश्चिमा राष्ट्रले अस्वीकार गरिदिएपछि रसियाले युक्रेनलाई दबाबमा राख्न थालेको हो । स्थिति बिग्रंदै गएर युद्धको अवस्थासम्म आइपुगेको छ ।