संसद् बैठक शुरू नहुँदै नयाँ बानेश्वरमा प्रदर्शन
प्रतिनिधि सभाको बैठक प्रारम्भ नहुँदै संघीय संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन शुरू भएको छ।
आज प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामा छलफल हुँदै छ। त्यसको विरोध गर्दै विभिन्न राजनीतिक दल र विद्यार्थी संगठनले प्रदर्शन शुरू गरेका हुन्।
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनामोर्चाका नेता तथा कार्यकर्ता सडकमा उत्रिएका छन्। उनीहरूले बिहानैदेखि एमसीसी र सरकार विरुद्ध नाराबाजी गरिरहेका छन्।
प्रदर्शनकारी बढ्दै गएपछि सुरक्षा सतर्कता बढाएको छ। संघीय संसद् भवन अगाडि ठूलो सङ्ख्यामा जनपद प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
एमसीसी विरुद्धको प्रदर्शनका कारण नयाँ बानेश्वर क्षेत्रको यातायात आवागमन अवरुद्ध छ। प्रदर्शनकारीलाई रोक्न सुरक्षाकर्मीले पनि ठाउँ ठाउँमा काँडेतार लगाएका छन्।
सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी सम्झौताको पक्षमा उभिएका छन्। त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने अझै कुनै निर्णय गर्न सकेको छैन। एमाले संसदीय दलले एमसीसी सम्झौताको विषयमा निर्णय गर्ने जिम्मा नेतृत्वलाई दिएको छ।