'डल्ले भूत' भनिने सालकका वासस्थान मासिंदै, जोगाउने कसरी?
सालक संरक्षणका लागि यसको वासस्थान रहेकाे चन्द्रागिरि लगलगेपाखा सामुदायिक वन क्षेत्रमा ‘सालक पार्क’ बनाइएको छ भने कीर्तिपुर नगरपालिका क्षेत्रको बाघभैरव सामुदायिक वनलाई ‘सालक पदमार्ग’ घोषणा गरिएको छ।
३२ वर्षअघि जुद्धबहादुर गुरुङ पाटन संयुक्त क्याम्पसमा प्राणीशास्त्रको अध्यापक हुँदा पहिलो तलबले कुनै प्राणी प्रजातिको अध्ययन गर्ने विचार गरे। उनलाई साथ दिने अर्का अध्यापक थिए, पारसनाथ आचार्य।
गुरुङले सालकको अध्ययन गर्न नार्गाजुन वन क्षेत्रलाई रोजे भने आचार्यले ओतको अध्ययनका लागि बेगनास ताल रोजे। दुवै जनाले त्रिभुवन विश्वविद्यालयबाट पाएको पहिलो तलबको पैसाले सालक र ओतमा नेपालको पहिलो वैज्ञानिक अध्ययन सम्पन्न भयो।
त्यसपछि भएका अध्ययनले उनीहरूकै अध्ययनलाई आधार माने। तीन दशकपछि सो विषयमा अध्ययन गर्नेहरुको सङ्ख्या मात्र बढेको छैन, संरक्षणका प्रयास पनि प्रभावकारी भएका छन्।
नेपालमा कालो ओत पाइएको हालै पुष्टि भएको छ भने सालक संरक्षणमा पनि प्रभावकारी काम हुँदै छ। गत शनिबार सालक दिवस मनाउने क्रममा काठमाडौंको चन्द्रागिरि नगरपालिकामा रहेको लगलगेपाखा सामुदायिक वनकी सदस्य सुशीला आले मगरले स्थानीय युवाले सालक भेटेपछि मोबाइलमा भिडियो खिचेर जङ्गलमै छोडिदिएको कुरा सुनाइन्।
मगरको कुराले गुरुङ खुशी छन्। “हामीले अध्ययन गरेपछि नेपालमा सालकमाथि धेरै अध्ययन अनुसन्धान भएका छन्,” गुरुङ भन्छन्, “धेरै मान्छेले सालकबारे थाहा पाएका छन्। यद्यपि गर्नुपर्ने धेरै काम बाँकी नै छन्।”
विगतमा मानिसहरूले सालकको मासु खाने गरेका थिए। यसरी सालकलाई मारेर खानुको विविध कारण होलान्। विगतमा मानवीय स्वास्थ्यमा यो वा त्यो फाइदा हुने गलत प्रचारका कारण पनि मासुका लागि विभिन्न प्राणी मारिन्थे।
“पहिला त गाउँघरमा सालकलाई सालमाछा भन्थे। मारेर खान्थे भन्ने पनि सुनिएको हो,” चन्द्रगिरिकी-३ की आले मगर भन्छिन्, “यो डल्लो परेर माथिबाट तलतिर गुड्दै आउने हुँदा डल्ले भूत पनि भन्थे। मान्छेहरूले भेट्दा समात्थे। अहिले हाम्रो समुदायमा भने संरक्षण भएको छ।”
किसानको साथी
सालक कमिला र धमिरा खाने प्राणी हो। जमीनमा प्वाल बनाएर बस्दा माटो उर्वर हुने भएकाले यसलाई कृषकको साथी भन्ने गरिन्छ। रातमा बढी सक्रिय हुने सालकले बर्सेनि विश्वभर झण्डै सात करोड कीरा-धमिरा खाने गरेको अनुमान छ।
“सालक नभए ती कीरालाई व्यवस्थापन गर्न पनि कीटनाशकको प्रयोग गर्नुपर्ने थियो जसले अन्ततः मानव स्वास्थ्यमा प्रतिकूल असर पर्थ्यो,” साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेशनका सञ्जन थापा भन्छन्, “तर पछिल्लो दिनमा चोरी शिकारी र वासस्थान विनाशले यसको सङ्ख्या घटिरहेको छ।”
सालकको खपटामा औषधीय गुण हुने अन्धविश्वासका कारण पनि यो सङ्कटमा पर्ने गरेको छ। नेपालमा इन्डियन प्याङ्गोलिन र चाइनिज प्याङ्गोलिन गरी दुई प्रजातिका सालक पाइन्छन्। इन्डियन प्याङ्गोलिन नेपाल बाहेक चार देशमा र चाइनिज प्याङ्गोलिन १० देशमा मात्र पाइन्छ। हालसम्म नेपालका ४३ जिल्लामा सालक पाइएको पुष्टि भएको छ। नेपालमा संरक्षण क्षेत्र बाहिर पनि सालक पाइने हुँदा ती ठाउँमा कसरी प्रभावकारी संरक्षण गर्ने भन्ने रणनीति बनाउन आवश्यक छ।
“स्थानीयले अपनत्व नलिएसम्म संरक्षण प्रभावकारी हुन नसक्ने देखिएको छ,” अनुसन्धानकर्मी थापा भन्छन्, “हालसम्म सय वटा सामुदायिक वनसम्म मात्र संरक्षणकर्मी पुगेको अवस्था हाे जबकि देशमा २२ हजार सामुदायिक वन छन्।”
सालकलाई ४८ वर्षअघि नै संरक्षणको सूचीमा राखिए पनि संरक्षण शिक्षा भने तल्लो तहसम्म पुग्न नसकेको धारणा व्यक्त गर्छिन्, सालक सम्बन्धी विद्यावारिधि शोध गर्दै गरेकी तुलसीलक्ष्मी सुवाल। “कुनै पनि संरक्षण अभियानमा स्थानीयलाई सहभागी गराउन सक्दा मात्र त्यो सफल हुन्छ,” उनी भन्छिन्।
खासमा प्राणी जोगाउने श्रेय स्थानीयलाई नै जान्छ। तसर्थ, संरक्षणमा स्थानीयको भूमिका महत्त्वपूर्ण हुने वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख राधा वाग्लेको तर्क छ। “स्थानीयलाई प्राणीको आनीबानी पनि थाहा हुन्छ र उनीहरू प्राणीसँग नजिक पनि हुन्छन्,” उनी भन्छिन्, “सालकको संरक्षणमा पनि अब बन्ने कार्ययोजनाले स्थानीयको सक्रिय सहभागितालाई जोड दिनुपर्छ।”
पाँच वर्षअघि पहिलो पटक बनेको सालकको संरक्षण लक्षित कार्ययोजनाको समयसीमा यसै वर्ष सकिंदै छ। अब बन्ने कार्ययोजनामा सालकको अल्पकालीन र दीर्घकालीन निगरानीलाई समेट्नुपर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका वार्डेन लक्ष्मण पौडेल बताउँछन्।
मानिसहरूमा सालकबारे अझै जानकारी नपुगेको बताउँछन्, टौडलछाप सामुदायिक वनका महेश्वर बोहोरा। “मानिसहरूले अझै सालकलाई किन जोगाउने भन्ने बुझेका छैनन्,” बोहोराले भने, “सामुदायिक वनका सदस्यलाई नै यसबारे थाहा छैन भने घाँसदाउरा गर्न जानेलाई झन् के जानकारी होला?”
लगलगेपाखा सामुदायिक वनकी आले मगर स्थानीय स्कूलहरूमा संरक्षण कक्षा चलाउनुपर्नेमा जोड दिन्छिन्। “केही नभए पनि स्कूलमा वर्षमा दुई पटक कक्षा लिन सकियो भने प्राणी जोगाउनुपर्छ भन्ने चेतना समाजमा फैलाउन सकिन्छ,” उनी भन्छिन्।
त्यस्तै, स्थानीय स्तरमा पर्यापर्यटनका लागि पार्क, पिकनिक स्थल बनाउँदा प्राणीको वासस्थान नाश हुँदै गएको देखिन्छ। “मानिसलाई जङ्गल क्षेत्रमा जान दिंदा डढेलो, प्रदूषणले प्राणीका वासस्थान नाश हुने देखिन्छ,” उनी भन्छिन्, “यसलाई नियन्त्रण गर्न पनि निश्चित क्षेत्रभन्दा भित्र जाने अनुमति नदिने प्रावधान गर्नुपर्छ।”
देशभरका २२ हजार सामुदायिक वनमा एउटा-एउटा पोस्टर मात्र पठाउन सकिने हो भने पनि त्यसले ठूलो सन्देश जाने प्रा. गुरुङको तर्क छ। त्यस्तै, देश संघीयतामा गएसँगै स्थानीय सरकारलाई संरक्षणमा सहभागी गराउनुपर्ने उनी बताउँछन्। “देशभरमा सात सय ५१ पालिकाले प्राणी संरक्षणका लागि एक लाख मात्र बजेट विनियोजन गर्ने हो भने स्थानीय स्तरमा ठूलो काम हुन्छ,” गुरुङ भन्छन्, “अबका दिनमा अध्ययन अनुसन्धानमा एनजीओ, आइएनजीओको मात्र भर नपरी स्थानीय सरकारलाई पनि संलग्न गराउनुपर्छ भने सामुदायिक वनको केही आम्दानीलाई संरक्षणमा लगानी गर्ने व्यवस्था गर्नुपर्छ।”
संरक्षणका लागि अन्तर्राष्ट्रिय संगठन, आइयूसीएन नेपालका नरेन्द्रमानबाबु प्रधान सालक संरक्षणमा केही चुनौती देखिए तापनि हालसम्मको प्रगतिलाई सन्तोषजनक मान्नुपर्ने बताउँछन्। “अब नयाँ कार्ययोजना बनाउँदा हामीले विगतमा के के प्रतिबद्धता गरेको थियौं, सो अनुसार काम गर्न सकियो वा सकिएन। नसकिएको भए के कारणले सकिएन पुनरावलोकन गर्न जरुरी छ,” उनले भने।
अबको चुनौती भनेको वासस्थान विनाश राेक्ने र संरक्षण कार्यलाई प्राथमिकता राख्ने हो। त्यसमाथि संरक्षण कार्यक्रममा ठूला प्राणी प्राथमिकतामा पर्दा साना प्राणी संरक्षणको मुद्दा सधैं ओझेलमा पर्ने गरेको छ।
संरक्षण कार्यमा ठूला प्राणी प्राथमिकतामा पर्नु विश्वव्यापी प्रवृत्ति भएको उल्लेख गर्दै विश्व वन्यजन्तु कोषका शान्तराज ज्ञवाली भन्छन्, “नीति-नियममा साना र ठूला प्राणीलाई उही व्यवस्था भए पनि कार्यान्वयन तहमा भने साना प्राणी छुटिरहेको अवस्था हो।” अब बन्ने कार्ययोजनाले यस विषयलाई सम्बोधन गर्नुपर्ने उनको तर्क छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल साना र ठूला सबै वन्यजन्तुको संरक्षणलाई उत्तिकै प्राथमिकतामा राख्नुपर्ने बताउँछन्। “हामीले ठूला तथा साना प्राणीको संरक्षण कार्यलाई सँगैसँगै लान सक्दा मात्र हाम्रो प्रयास सफल हुन्छ,” महानिर्देशक कँडेल भन्छन्, “सालकको संरक्षणमा पनि नियमित काम बाहेक नौलो विधि के अपनाउन सकिन्छ त्यसमा पनि ध्यान दिनुपर्छ।”
काठमाडौंमा प्राणीहरूलाई उद्धार गर्ने तथा प्राकृतिक वासस्थानमा छोड्ने ‘रेस्क्यु एन्ड रिलिज’ को स्थान बनाउनुपर्ने धारणा संरक्षणकर्मी थापाकाे छ। “गैरकानूनी चोरी शिकारीको ट्रान्जिट काठमाडौं भएको अवस्थामा प्राणीहरूलाई उद्धार गर्ने केन्द्रको अवधारणामा पनि काम हुनुपर्ने देखिन्छ,” थापा भन्छन्।
सालककै संरक्षणका लागि काठमाडौंमा यसको वासस्थान भएको चन्द्रागिरि लगलगेपाखा सामुदायिक वन क्षेत्रमा ‘सालक पार्क’ बनाइएको छ भने कीर्तिपुर नगरपालिका–३ को बाघभैरव सामुदायिक वनलाई ‘सालक पदमार्ग’ घोषणा गरिएको छ।
यस कार्यमा साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेशनले भूमिका निर्वाह गरेको थियो। सो दुई स्थानमा भएको संरक्षणको प्रयासको परिणाम सकारात्मक देखिएको बताउँदै फाउन्डेशनका थापा स्थानीय समुदायलाई सहभागी गराउँदै संरक्षण मार्फत वैकल्पिक आय आर्जनको बाटो खोज्न सकिए संरक्षण दिगो हुने बताउँछन्।