प्रदेश १ ले इस्कुसबाटै भित्र्याउन सक्छ वार्षिक तीन अर्ब
पूर्वि नेपालमा अत्यधिक उत्पादन हुने इस्कुसको प्रवर्द्धन र बजारीकरण गर्न सकिए प्रदेशलाई नै आर्थिक रुपमा सबल बनाउन सहयोग पुग्छ।
तरकारी खाइँदै आएको इस्कुस पूर्वी नेपाल र प्रदेश १ मा अत्यधिक उत्पादन हुने कृषि उपज हो। पूर्वी नेपालमा सुपरिचित इस्कुस सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका लागि त्यति धेरै उपयोग हुने तरकारी हाेइन।
पश्चिमका यी प्रदेशमा एक करोड २५ लाख मानिस बसोबास गर्छन्। विश्व खाद्य संगठनका अनुसार, प्रति दिन एक वयस्क मानिसलाई एक सय ५० ग्राम तरकारी आवश्यक पर्छ। त्यस हिसाबले पश्चिमका ती प्रदेशमा दैनिक कम्तीमा १५ लाख किलो तरकारी आवश्यक हुन्छ। यदि पूर्वी नेपालमा उत्पादित इस्कुसलाई पश्चिम नेपाल पुर्याउन सकिए बजारको दुःख हुदैन।
आँकडामा हेर्ने हो भने पश्चिम क्षेत्रको तरकारीको मागको ३० प्रतिशत स्थान इस्कुसले लिने हो भने दैनिक ६ लाख किलो इस्कुस आवश्यक पर्छ, जुन वर्षमा २१ करोड ९० लाख किलो हुन्छ। सो परिमाणलाई नगदमा रूपान्तरण गर्ने हो भने प्रदेश १ का कृषकले पाउने प्रति दिनको मूल्य न्यूनतम प्रति किलो १५ रुपैयाँका दरले ९० लाख रुपैयाँ हुन आउँछ भने वार्षिक तीन अर्ब २८ करोड ५० लाख रुपैयाँ हुन्छ। यो पश्चिम नेपालका चारवटा प्रदेशमा बिक्री गर्न सकिने इस्कुसको अनुमानित तथ्याङ्कमा आधारित छ।
त्यस्तै, १ करोड ६६ लाख मानिसको बसोबास रहेको मधेश र बागमती प्रदेशमा पनि तरकारीको माग र खपत उच्च छ। यी प्रदेशमा पूर्वको इस्कुसको प्रवर्द्धन गर्ने हो भने वार्षिक करोडौं रुपैयाँ बराबरको खपत हुन सक्छ।
इस्कुसको मात्रै होइन, यसको मुन्टा र जराको पनि उत्तिकै महत्त्व छ। इस्कुसको फलभन्दा मुन्टा र जराको मूल्य उच्च छ। किनभने, फलको तुलनामा जराको उत्पादन कम हुन्छ।
इस्कुसलाई बारीदेखि बजारसम्म लाने संयन्त्र बनाउने क्रममा सङ्कलन, ग्रेडिङ, प्याकिङ, ढुवानी, आपूर्ति, बिक्री केन्द्रमा रोजगारी सिर्जना हुनेछ।
त्यसैले प्रदेश सरकारले इस्कुसको मात्र प्रवर्द्धन गर्दा वार्षिक २० अर्ब रुपैयाँको कारोबार हुने देखिन्छ। यो कृषकले बारीमै पाउने मूल्य हो। यसरी इस्कुसले प्रदेश १ लाई आर्थिक रुपमा सबल बनाउन सहयोग पुर्याउन सक्छ।
कृषकले यसको फल, मुन्टा र जरा बिक्रीबाट प्रति रोपनी न्यूनतम वार्षिक २५ देखि ३० हजार कमाउन सक्छन्। यसरी हेर्दा १० रोपनी जग्गामा इस्कुस लगाउनेले वार्षिक तीन लाख कमाउन सक्छन्। मध्य तथा उच्च पहाडी क्षेत्रका बाँझो राखिएका जमीन इस्कुसका लागि उर्वर हुन सक्छ।
इस्कुसलाई बारीदेखि बजारसम्म लाने संयन्त्र बनाउने क्रममा सङ्कलन, ग्रेडिङ, प्याकिङ, ढुवानी, आपूर्ति, बिक्री केन्द्रमा रोजगारी सिर्जना हुनेछ।
के हो इस्कुस?
वैज्ञानिक नाम ‘सेचिअम इडुल’ रहेको इस्कुसलाई अंग्रेजीमा ‘चायोट’ भनिन्छ। यसको पारिवारिक नाम ‘क्युकबिटासिआई’ हो। इस्कुसको उत्पत्ति नेपालको महाभारत पर्वत श्रृङ्खलादेखि मध्य अमेरिकी क्षेत्रसम्म भएको मानिन्छ। नेपालमा यसको खेती परापूर्वकालदेखि नै हुँदै आएको भए पनि यसलाई व्यवसायीकरण गर्न सफल भएका प्रदेश १ का इलाम, पाँचथर, तेह्रथुम, संखुवासभा र धनकुटा जिल्ला मात्रै हुन्। अन्य जिल्लामा यसको खेती फाट्टफुट्ट मात्रै हुने गरेको छ।
इस्कुसको लामो अध्ययन अनुसन्धानमा संलग्न रहेका विज्ञ डा. मोहदत्त शर्माका अनुसार, सय जातिका नेपाली र पछिल्लो समय मेक्सिकोबाट भित्रिएका दुई सय जाति समेत गरी हाल नेपालमा तीन सय जातका इस्कुसको खेती हुँदै आएको छ।
इलाम, पाँचथर, संखुवासभा तथा धनकुटा जिल्ला इस्कुस उत्पादनमा अग्रणी छन् भने इलाम जिल्ला व्यावसायिक रूपमा उत्कृष्ट इस्कुस उत्पादन तथा विविधीकरण भएको जिल्ला हो।
परम्परागत प्रजातिमा घोच्ने काँडा धेरै हुने र यसलाई ताछ्न गाह्रो हुन्थ्यो। हाल यसका अनेकौं जातको विकास भएको छ र काँडा नभएका प्रजाति पनि प्रशस्तै छन्। यसै गरी उसिनेर मात्रै खान मिल्ने प्रजाति पनि बजारमा उपलब्ध छन्।
इस्कुस खेती गर्न सकिने स्थान
नेपालको मध्यपहाडी भूभागमा इस्कुसको खेती परापूर्वकालदेखि नै हुँदै आएको छ। प्रविधिको विकासको कारणले नेपालको तराईमा पनि इस्कुस खेतीको सम्भावना भए पनि मध्य तथा उच्च पहाडी क्षेत्रमा यो उपयुक्त हुन्छ।
प्रदेश १ का पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, धनकुटा, इलाम, पाँचथर, उदयपुर, ताप्लेजुङ, तेह्रथुम र उत्तरी मोरङमा इस्कुसको खेतीका सम्भाव्य ठाउँ हुन्। हाल इलाम, पाँचथर, संखुवासभा तथा धनकुटा जिल्ला इस्कुस उत्पादनमा अग्रणी छन् भने इलाम जिल्ला व्यावसायिक रूपमा उत्कृष्ट इस्कुस उत्पादन तथा विविधीकरण भएको जिल्ला हो। इलामले बर्सेनि करोडौं रुपैयाँको इस्कुस बेच्दै आएको छ।
उत्तरी मोरङका केही स्थान तथा अन्य ११ वटा जिल्लाले इस्कुसको अधिक उत्पादन गरी यसलाई बाह्य प्रदेश तथा विदेशमा समेत निर्यात गर्न सक्छन्। प्रदेश १ ले यसमा ध्यान दिए यो अन्य प्रदेशका लागि समेत एउटा महत्त्वपूर्ण पाठ हुन सक्छ।
मुख्यतः यसको खेती गर्नका लागि समुद्री सतहबाट ७ सयदेखि २५ सय मिटरसम्मको उचाइ उपयुक्त हुन्छ। तर, ७ सय मिटरभन्दा तल र २५ सय मिटरभन्दा माथिको ठाउँमा इस्कुसको खेती गर्न परे कृत्रिम तापक्रम वा बेमौसमी प्रविधिको उपयोग गर्नुपर्छ, जुन खर्चिलो र समय लाग्ने हुन सक्छ।
इस्कुसको खेती सहज छ। एक पटक रोपेपछि पाँच-सात वर्ष रोपण गर्नु पर्दैन। एक बोटबाट अर्को बोट दुई मिटरको फरक र एक लाइनबाट अर्को लाइन २.५ मिटरको फरकमा रोप्न सकिन्छ।
यसैले हामीले प्राकृतिक रूपमा नै प्राप्त गरेको विशाल ठाउँ इस्कुसका लागि उपयुक्त छ। जसबाट प्रदेशलाई इस्कुसमय बनाउन सक्ने आधार निर्माण गर्न सकिन्छ।
खेती गर्ने तरीका
इस्कुसको खेती सहज छ। यो बहुवर्षीय बाली हो। एक पटक रोपेपछि पाँच-सात वर्ष रोपण गर्नु पर्दैन। एक बोटबाट अर्को बोट दुई मिटरको फरक र एक लाइनबाट अर्को लाइन २.५ मिटरको फरकमा रोप्न सकिन्छ।
दुई फिट गहिरो तथा दुई फिट गोलाइ भएको खाल्डोमा जङ्गलको पत्कर वा राम्रोसँग पाकेको मल एक डोको हालेर इस्कुसको बीउलाई एउटै खाल्डोमा न्यूनतम दुई तथा अधिकतम पाँच वटासम्म लगाउन सकिन्छ।
इस्कुसको मुन्टा आउने भागलाई माथितिर फर्काएर रोप्नुपर्छ। यसको बीउ छनोट गर्ने समय असारदेखि मंसीरसम्म हो भने रोप्ने समय साउनदेखि माघलाई उपयुक्त मानिन्छ।
यसलाई अनिवार्य रूपमा थाँक्राको प्रबन्ध गर्नुपर्छ। आधुनिक युगमा यसको थाँक्रा विभिन्न खालका कम्पनीले बनाएको प्लास्टिक वा अन्य फलामे प्रविधिलाई प्रयोग गरेर बनाउन सकिन्छ भने परम्परागत रूपमा बाँसको प्रविधिलाई धेरैले प्रयोग गरेको पाइन्छ। बाँसको प्रविधि बढीमा दुई वर्षका लागि मात्रै हुन्छ भने आधुनिक तरीकाले बनाइएको थाँक्रा पाँच-सात वर्षसम्म टिक्छ।
थाँक्रा व्यवस्थापन गर्दा प्रत्येक बिरुवा रोपेको ठाउँमा बाँस गाड्नुपर्छ र माथिबाट मचान जस्तो यसको लहरा जाने अनि मुनिबाट मानिसहरू पसेर यसको मुन्टा र फल टिप्न मिल्ने बनाउनुपर्छ।
इस्कुसको सेवनले मानिसको रगतमा चिनीको मात्रालाई सन्तुलन कायम गर्छ। गर्भमा रहेको शिशुको स्वस्थका लागि लाभदायक हुन्छ।
इस्कुस उत्पादन गर्नेहरूले हालसम्म यसमा रासायनिक मल तथा विषादीको प्रयोग गर्ने गरेका छैनन्। यसैले हालसम्म यो सुगम ठाउँमा समेत पनि अर्गानिक उत्पादनका रूपमा नै लिन सकिन्छ। यसलाई राम्ररी पाकेको गोबरमलको प्रयोग गरेरै प्रशस्तै मात्रामा उत्पादन गर्न सकिन्छ।
इस्कुसको उपादेयता
इस्कुसमा धेरै पोषक तत्त्व हुन्छ र यसलाई अनेकौं रोग भएकाहरूले समेत खान सक्छन्। इस्कुस विज्ञ डा. शर्माका अनुसार, एक वयस्क व्यक्तिका लागि चाहिने पोषण यसमा प्रति २०३ ग्राममा कार्बोहाइड्रेट नौ ग्राम, प्रोटिन दुई ग्राम, रेसा चार ग्राम- दैनिक आवश्यकताको १४ प्रतिशत, भिटामिन सी दैनिक आवश्यकताको २५ प्रतिशत, भिटामिन बी १, २, ३, ५ थायमिन, भिटामिन बी ६ दैनिक आवश्यकताको आठ प्रतिशत, भिटामिन बी ९ फोेलेट दैनिक आवश्यकताको ४७ प्रतिशत, भिटामिन के दैनिक आवश्यकताको १० प्रतिशत, म्याग्निज दैनिक आवश्यकताको १९ प्रतिशत, कपर दैनिक आवश्यकताको १२ प्रतिशत, पोटासियम दैनिक आवश्यकताको ७ प्रतिशत, म्याग्नेसियम दैनिक आवश्यकताको ६ प्रतिशत फ्याट यसमा ०.१३ ग्राम तथा कोलेस्टोरल भने शून्य हुने गर्छ। यसका साथै इस्कुसलाई फोलेट तत्त्वको धनी मानिन्छ।
इस्कुसको सेवनले मानिसको रगतमा चिनीको मात्रालाई सन्तुलन कायम गर्छ। गर्भमा रहेको शिशुको स्वस्थका लागि लाभदायक हुन्छ। यसमा क्यान्सर प्रतिरोधात्मक गुण हुन्छ। हृदय स्वास्थलाई राम्रो प्रवर्द्धन गर्छ। कलेजोको कार्यप्रणालीमा उच्च सुधार गर्छ। मानिसको स्वस्थ शरीरका लागि सन्तुलन कायम गर्छ। मजबूत पाचनप्रणाली कायम गर्छ र यो एक प्रकारको एन्टिअक्सिडेन्ट फल हो।
इस्कुसको बजार
नेपाली समाजमा कृषिको बजारबारे कसैले पनि राम्रो अनुमान र विश्लेषण गरेको पाइँदैन। विदेशीले हामीलाई बजार बनाइरहँदा पनि हामीले यहाँको बजार देख्दैनौं। इस्कुसको सबैभन्दा राम्रो बजार भनेको पश्चिम नेपालका चार प्रदेश– गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम हुन्। जहाँ इस्कुसको उत्पादन हुँदैन, तर खेती विस्तार गर्न सकिन्छ। हालसम्म भने इस्कुस उत्पादनको प्रयास भएको छैन।
यसका साथै इस्कुसको विशाल बजार भारत हो। भारतको धेरैजसो भूभाग वर्षातको समयमा डुबानमा पर्ने हुँदा नेपालको मध्य तथा उच्च पहाडमा फल्ने इस्कुसलाई भारतमा बेच्न सकिन्छ।
इस्कुसका मुन्टा, जरा र फल खान सकिन्छ। पूर्वी नेपालमा समेत इस्कुसलाई उसिनेर खाने तथा तरकारीका रूपमा खाने प्रचलन छ। केहीले यसको अचार पनि बनाउँछन्। यसबाट अनेकौं परिकार बनाउन सकिन्छ।