गाँजालाई औषधिमा प्रयोग गर्न मिल्ने गरी विधेयक तयार
गाँजालाई औषधिमा प्रयोग गर्न मिल्ने गरी कानून निर्माण गर्न गृह मन्त्रालयले तयारी थालेको छ।
यसका लागि गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक, २०७८ तयार छ। विधेयक तयार गरेर सैद्धान्तिक सहमतिका लागि गृहमन्त्री बालकृष्ण खाँडले मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेका छन्।
मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाएको मन्त्रालयको लागूऔषध नियन्त्रण शाखाका प्रमुख गोकर्णप्रसाद उपाध्यायले बताए। उनका अनुसार, विधेयकमा गाँजाको उत्पादन, सङ्कलन, बिक्री वितरण र निकासी कसरी गर्ने भन्ने विषय समेटिएको छ।
यो विधेयक कानून बनेपछि लागूऔषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा लगाएको बन्देज खुल्नेछ। उपाध्यायले भने, “लागूऔषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्ण रूपमा लगाएको बन्देज कानून बनेपछि खुल्छ।”
अहिले काठमाडौं विश्वविद्यालयले गाँजाको अनुसन्धान गर्न अनुमति मागेको छ। त्यस्तै, अन्य केही संघसंस्था तथा फर्मले गाँजाको खेती गर्न अनुमति मागेको मन्त्रालयले जनाएको छ।