एमसीसी सम्झौतामाथि आज प्रतिनिधि सभामा छलफल
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि आज प्रतिनिधि सभामा छलफल हुन लागेको छ।
प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा छलफल हुने भएको छ। यसमाथि छलफल मात्रै गर्ने कि आजै पारित गर्ने भन्ने विषयमा निर्क्योल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ११ बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। परामर्श समितिको बैठकले आज छलफल मात्रै गर्ने कि निर्णयार्थ प्रस्तुत गर्ने भन्ने कार्यसूची तय गर्ने जनाएको छ।
संघीय संसद् सचिवायलले बुधबार जारी गरेको सम्भावित कार्यसूचीमा भने अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता छलफलका लागि प्रतिनिधि सभामा प्रस्तुत गर्ने उल्लेख छ। अर्थमन्त्री शर्माका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ८ फागुनमा एमसीसी सम्झौता संसद्मा टेबल गरेका थिए।
नेपाली कांग्रेसले भने आज बस्ने प्रतिनिधि सभा बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। सचेतक पुष्पा भुसालले सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरिएको बताइन्।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। बुधबार बसेको लोसपा संसदीय दलको बैठकले संसद्मा टेबल भएको एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
सत्तारूढ नेकपा (एकीकृत समाजवादी) ले यसको विपक्षमा उभिने निर्णय गरेको छ। सत्तारूढ गठबन्धनका नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा पनि यसको विपक्षमै देखिएका छन्। जनता समाजवादी पार्टी (जसपा) पनि यसलाई पारित गर्ने पक्षमै छ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) भने यस विषयमा निर्णय गर्न सकेको छैन। एमाले संसदीय दलको बैठकले यस विषयमा निर्णय गर्ने जिम्मा नेतृत्वलाई सुम्पिएको छ।