घरजग्गा, गाडी, शेयर लगायतका क्षेत्रमा जाने ऋणमा राष्ट्र ब्यांकको अङ्कुश
नेपाल राष्ट्र ब्यांकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख गरे बमोजिम आयात, घरजग्गा, शेयर, सवारी साधन, ओभरड्राफ्ट लगायत कर्जा प्रवाहमा अंकुश लगाएको छ। ऋण प्रवाहलाई निरुत्साहित गर्न केन्द्रीय ब्यांकले जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरेको हो।
बुधबार निर्देशन जारी गर्दै केन्द्रीय ब्यांकले शेयर धितो, सवारी साधन, घरजग्गा, ओभरड्राफ्ट ऋणमा जोखिम भार १५० प्रतिशत पुर्याएको छ। यसअघि यो ७५ देखि १०० प्रतिशतसम्म थियो। आयातको ट्रस्ट रिसिप्टमा रु.एक करोड तलको ७५ प्रतिशत र एक करोडभन्दा माथिको हकमा शतप्रतिशत जोखिम भारको हालको व्यवस्था बढाएर १२० प्रतिशत पुर्याइएको छ। तर, यी व्यवस्था आगामी असारदेखि मात्र लागू हुनेछन्।
जोखिम भार बढ्दा शेयरधनीको पूँजीबाट धेरै रकम लगाउनुपर्ने भएकाले ब्यांकहरूले ऋण दिन आनाकानी गर्ने र ऋण प्रवाह निरुत्साहित हुने अनुमान छ।
केन्द्रीय ब्यांकले संस्थापक शेयर खरीद-बिक्रीमा पनि कडाइ गरेको छ। कुनै एक ब्यांक वा वित्तीय संस्थाको एक प्रतिशत वा त्योभन्दा बढी संस्थापक शेयर भएका शेयरधनीले उक्त संस्था बाहेक अन्य कुनै ब्यांक वा वित्तीय संस्थाको जतिसुकै संस्थापक शेयर खरीद-बिक्री गर्नुअघि राष्ट्र ब्यांकबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।