अपूरै रह्यो नेपालको विश्वकप सपना, यूएईसँग ६८ रनले पराजित
नेपालको आईसीसी टी-२० पुरुष विश्वकप खेल्ने सपना अपूरै रहेको छ। मंगलबार सेमिफाइनल खेलमा यूएईसँग ६८ रनले पराजित भएको छ।
यूएईले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमै समेटिएको छ। यूएईका बलरसामु नेपाली ब्याटर टिक्न सकेनन्।
नेपालले पहिलो ओभरमै आरिफ शेखलाई गुमाएको थियो भने दोस्रो ओभरमा लोकेश बम पनि आउट भए। त्यसपछि लगातार विकेट झर्दै जाँदा नेपाल खेलमा फर्किन सकेन।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८, ज्ञानेन्द्र मल्ले २० र आरिफ शेखले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि बनाउन सकेनन्।
यूएईका लागि अह्मद राजाले पाँच, जुनैद सिद्दीकीले तीन, जहूर खान र रोहन मुस्ताफाले एक-एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको यूएईले सात विकेट गुमाउँदै १७५ रन बनाएको थियो। यूएईका लागि मोहम्मद वासिमले ७०, भृत्य अरविन्दले ४६, मोहम्मद उस्मानले १७ र फवाज फरिदले ११ रन बनाए।
नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले तीन-तीन तथा सन्दीप लामिछानेले एक विकेट लिए।
यो जितसँगै यूएई विश्वकपका लागि छनोट भएको छ। त्यस्तै, अर्को खेलमा ओमनलाई हराउँदै आयरल्यान्ड पनि विश्वकपका लागि छनोट भएको छ।