नेपालले पायो १७६ रनको लक्ष्य
आईसीसी टी-२० पुरुष विश्वकप छनोट अन्तर्गत सेमिफाइनलमा नेपालले १७६ रनको लक्ष्य पाएको छ।
ओमनको अल अमेरत क्रिकेट मैदानमा भएको सेमिफाइनलमा यूएईले सात विकेट गुमाउँदै १७५ रन बनाएको छ। नेपालले दुई क्याच छोड्दा यूएईले राम्रो स्कोर बनाउने मौका पाएको हो।
यूएईका लागि मोहम्मद वासिमले ७०, भृत्य अरविन्दले ४६, मोहम्मद उस्मानले १७ र फवाज फरिदले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि बनाउन सकेनन्।
नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले तीन-तीन तथा सन्दीप लामिछानेले एक विकेट लिए।
यूएईको पहिलो विकेट ६ रनमै गएको थियो। मुखियाले १.४ ओभरमा चिराग सुरीको विकेट लिएका थिए। त्यसपछि वासिम र अरविन्दले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे।
लामिछानेले अरविन्दको विकेट लिएपछि नेपाल खेलमा फर्किएको थियो। तर, जीवनदान पाएपछि वासिमले निर्धक्कसँग ब्याटिङ गरे। वासिम र मोहम्मद उस्मानले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे।
अविनाश बोहराले उस्मानको विकेट लिएपछि भने यूएईको रन बनाउने गति कम भएको थियो। त्यसपछि जितेन्द्र मुखिया र बोहराले विकेट लिँदै गएपछि यूएई १७५ रनमा रोकिएको हो।