वृषेशचन्द्र लालले छोडे लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्यद्वय वृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गरेका छन्।
मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी दुवै जनाले लोसपा परित्याग गरेको घोषणा गरेका छन्। नेता लाल राष्ट्रिय सभाका पूर्व सदस्य हुन् भने डा. सिंह संविधानसभा सदस्य हुन्।
लोसपा विधि, विधान र लोकतान्त्रिक पद्धतिबाट नचलेकाले परित्याग गरेको लालले बताए। नेतृत्वपङ्क्ति मधेशकेन्द्रित नामबाटै तर्सिन थालेको र लोकतन्त्रवादी मधेशी जनतालाई वामपन्थीको खोल ओढाउन थालेको आरोप लगाए।
उनले भूमि, इतिहास, भाषा, संस्कृति र जीवनशैली बोकेको मधेशलाई विभिन्न नाममा विभाजन गरी स्वार्थ सिद्ध गर्न खोजेको बताए। मधेशी जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकाङ्क्षा र आवश्यकता बमोजिम स्वशासन र संघीयताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेशका एजेन्डाप्रति प्रतिबद्ध राजनीतिक दलको आवश्यकता भएको उनको भनाइ थियो।
डा. सिंहले मधेश जनविद्रोहबाट जन्मेका शक्तिहरू बिस्तारै मधेश शब्दबाट विमुख हुँदै गएको आरोप लगाए।
महन्थ ठाकुर नेतृत्वको लोसपा छोडेर नेताहरू तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) लाई ब्युँताउने तयारीमा जुटेका छन्। जसपाभित्र पनि विवाद चलिरहेकै वेला निर्वाचन आयोगमा तमलोपा दर्ता भएको थियो।
धनुषाका रविशंकरलाल कर्णको नेतृत्वमा तमलोपा दर्ता भएको हो। कर्ण नेता लाल निकट मानिन्छन्।
मधेश आन्दोलनको शुरूआतसँगै तमलोपा हुँदै लोसपासम्म आइपुग्दा पार्टीले आन्दोलनकारीलाई अवमूल्यन गरेको असन्तुष्ट नेताहरूले आरोप लगाउँदै आएका छन्।