आठ वर्षअघि नेपाललाई विश्वकपमा पुर्याउने त्यो अन्तिम खेल
आगामी टी-२० पुरुष विश्वकप छनोटका लागि आज नेपालले सेमिफाइनलमा यूएईको सामना गर्दै छ भने आठ वर्षअघि क्वार्टरफाइनलमा हङकङलाई हराउँदै विश्वकप खेलेको थियो।
सन् २०१४ को विश्वकपका लागि नोभेम्बर २०१३ छनोट प्रतियोगिता भएको थियो। यस पटक जस्तै त्यति वेला पनि दुई समूहमा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए। त्यसबाट ६ टोली छनोट भएका थिए।
यस पटक भने चार टोली मात्रै छनोट हुनेछन्। नेपाल सहित आठ टोली रहेको ग्लोबल क्वालिफयर ‘ए’ बाट फाइनलमा पुग्ने दुई टोली छनोट हुनेछन्।
त्यति वेला नेपाल रहेको समूह ‘बी’ मा अफगानिस्तान, नेदरल्यान्ड्स, स्कटल्यान्ड, पपुवा न्यूगिनी, केन्या, बर्मुडा र डेनमार्क थिए। त्यस्तै, समूह ‘ए’ मा आयरल्यान्ड, हङकङ, यूएई, नामिबिया, इटाली, क्यानाडा, युगान्डा र अमेरिका थिए।
समूह चरणका सातमध्ये चार खेल जितेको नेपाल आठ अङ्क सहित अङ्कतालिकाको तेस्रो स्थानमा थियो। नेपालले डेनमार्कलाई पाँच विकेटले, केन्यालाई ६ विकेटले, पपुवा न्यूगिनीलाई सात विकेटले र बर्मुडालाई २१ रनले पराजित गरेको थियो।
विश्वकप छनोटका लागि भने क्वार्टरफाइनलमा हङकङलाई अन्तिम बलमा पराजित गरेको थियो। पहिले ब्याटिङ गरेको हङकङले आठ विकेटको क्षतिमा १४३ रन बनाएको थियो। नेपालका लागि जितेन्द्र मुखियाले तीन, अविनाश कर्णले दुई र पारस खड्काले एक विकेट लिएका थिए।
प्रत्युत्तरमा नेपालले राम्रो शुरूआत गरेको थियो। सुवास खकुरेल र सागर पुनले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए। खकुरेलले १६ रन बनाएका थिए।
त्यसपछि दोस्रो विकेटका लागि पुन र ज्ञानेन्द्र मल्लले २२ रनको साझेदारी गरेका थिए। पुन २२ रन बनाएर आउट भएका थिए।
तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र पारस खड्काले ३३ रनको साझेदारी गरेका थिए। मल्लले ३० र खड्काले ४६ रन बनाएका थिए। विनोद भण्डारी सात रन बनाएर आउट भएसँगै खड्का पनि बाहिरिएका थिए।
अन्तिम दुई ओभरमा २६ रन आवश्यक थियो। क्रिचमा जमिरहेका कप्तान खड्का १८.३ ओभरमा आउट भएपछि नेपाली टोली धरमराएको थियो।
अन्तिम ओभरमा नेपाललाई १३ रन आवश्यक थियो। क्रिचमा शरद भेषवाकर र प्रदीप ऐरी थिए। अन्तिम ओभरको पहिलो बलमै भेषवाकरले छक्का प्रहार गरे। लगत्तै दोस्रो बलमा चौका हाने।
तेस्रो बलमा एक रन आयो भने चौथो बलमा नेपालले रन लिन सकेन। पाँचौं बलमा ऐरीले एक रन लिए भने छैटौं बलमा एक रन आवश्यक थियो। भेषवाकरले अन्तिम बलमा सुरक्षित तरीकाले एक रन लिंदै नेपाललाई पहिलो पटक टी-२० विश्वकपमा पुर्याएका थिए। त्यो खेलमा कप्तान खड्का प्लेयर अफ द म्याच भएका थिए। उनले ४६ रन बनाएका थिए भने एक विकेट पनि लिएका थिए।
आज फेरि नेपाल विश्वकप छनोटका लागि केही बेरमा यूएईसँग भिड्दै छ। नेपाल र यूएईको खेल अपराह्न ३:४५ बजे ओमनको अल अमेरत क्रिकेट मैदानमा हुनेछ।