विश्वकप छनोटमा कस्तो छ नेपाली खेलाडीको प्रदर्शन?
आईसीसी टी-२० पुरुष विश्वकप छनोट अन्तर्गत समूह चरणका खेल सकिंदा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको छ।
विश्वकपको ग्लोबल छनोट अन्तर्गत आजदेखि सेमिफाइनलका खेल हुँदै छन्। समूह चरणका खेलमा धेरै रन बनाउने र धेरै विकेट लिने तीन खेलाडीमा नेपाली पनि छन्।
नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले सबैभन्दा बढी आठ विकेट लिएका छन्। उनले तीन खेलमा १२ ओभर बलिङ गर्दा ४१ रन खर्चेर सात विकेट लिएका हुन्।
त्यस्तै, दोस्रो नम्बरमा बहराइनका जुनैद खानले सात र तेस्रो नम्बरमा रहेका ओमनका खवर अलीले सात विकेट लिएका छन्। ओमन सेमिफाइनलमा पुगेको छ।
यो सूचीको पाँचौं नम्बरमा नेपाली बलर कमलसिंह ऐरी छन्। उनले दुई खेलमा ३१ रन खर्चेर पाँच विकेट लिएका छन्।
त्यस्तै, नवौं नम्बरमा अविनाश बोहरा छन्। उनले तीन खेलमा ३९ रन दिएर चार विकेट लिएका छन्। अहिलेसम्म नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन खेलमा तीन, कुशल मल्लले दुई खेलमा दुई, जितेन्द्र मुखियाले तीन खेलमा दुई र गुल्सन झाले एक खेलमा एक विकेट लिएका छन्।
ब्याटिङमा पनि नेपालीले खेलाडीले राम्रो प्रदर्शन गरेका छन्। धेरै रन बनाउने उत्कृष्ट तीन खेलाडीमा नेपालका कुशल भुर्तेल छन्। यूएईका भृत्य अरविन्दले तीन खेलमा २२१, बहराइनका सर्फराज अलीले तीन खेलमा १४० र नेपालका भुर्तेलले तीन खेलमा १४३ रन बनाएका छन्। भुर्तेलले फिलिपिन्स विरुद्ध एक शतक प्रहार गरेका थिए।
त्यस्तै, चौथो नम्बरमा नेपालकै दीपेन्द्रसिंह ऐरी छन्। उनले तीन खेलमा १२१ रन बनाएका छन्। उनले फिलिपिन्स विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका थिए।
नेपाली ब्याटर आरिफ शेखले तीन खेलमा ३८, लोकेश बमले तीन खेलमा २२, आशिफ शेखले तीन खेलमा २१, सन्दीप लामिछानेले तीन खेलमा १६ र ज्ञानेन्द्र मल्लले १५ रन बनाएका छन्।
त्यस्तै, अहिलेसम्मका खेलमध्ये धेरैलाई ‘डिसमिसल’ गर्ने खेलाडीमा पनि नेपालका आसिफ शेख छन्। उनले तीन खेलमा चार जनालाई क्याच आउट र दुई जनालाई स्टम्पिङ गरेका छन्।
यसै गरी धेरै क्याच गर्ने खेलाडीमा पनि नेपाली खेलाडी छन्। नेपालका कुशल भुर्तेलले तीन खेलमा तीन क्याच लिएका छन्। यस्तै, कुशल मल्लले दुई खेलमा दुई, सन्दीप लामिछानेले तीन खेलमा दुई, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र लोकेश बमले एक-एक क्याच लिएका छन्।
आज अपराह्न ३ः४५ बजे नेपाल र यूएईको खेल हुँदै छ। यो खेल जितेमा नेपाल विश्वकपका लागि छनोट हुनेछ।