विश्वकपमा पुग्न यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल
आईसीसी टी-२० पुरुष विश्वकपमा पुग्न आज नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दै छ।
आज अपराह्न ३ः४५ बजे ओमनको अल अमेरत क्रिकेट मैदानमा नेपाल र यूएईको खेल हुँदै छ। टी-२० पुरुष विश्वकपको ग्लोबल छनोट अन्तर्गत यूएईसँग हुने पहिलो सेमिफाइनल जितेमा नेपाल विश्वकपमा पुग्नेछ।
ग्लोबल छनोट अन्तर्गत नेपालको समूहमा रहेका आठ टोलीमध्ये चार टोली सेमिफाइनलमा पुगेका छन्। जसमध्ये फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर र नोभेम्बरमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन्।
आज पहिलो सेमिफाइनलमा नेपाल र यूएई तथा दोस्रो सेमिफाइनलमा आयरल्यान्ड र ओमन भिड्नेछन्।
नेपाल समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको हो। सोमबार भएको समूह चरणको अन्तिम खेलमा क्यानाडालाई आठ विकेटले पराजित गरेको थियो। त्यसअघि दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले र पहिलो खेलमा ओमनलाई ३९ रनले पराजित गरेको थियो।
यूएई भने समूह चरणका तीन खेलमा दुई जित र एक हार बेहोर्दै सेमिफाइनलमा पुगेको हो। यूएईले आयरल्यान्डलाई १८ र जर्मनीलाई २४ रनले पराजित गरेको थियो भने बहराइनसँग दुई रनले हारेको थियो।
अहिलेसम्म नेपालले यूएईसँग चार वटा अन्तर्राष्ट्रिय टी-२० खेलमा प्रतिस्पर्धा गरेको छ। जसमा नेपालले दुई र यूएईले दुई खेल जितेका छन्।
सन् २०१९ मा भएका तीन खेलमा नेपालले दुई खेल जितेको थियो। एउटा खेल चार विकेटले र अर्को खेल १४ रनले जितेको थियो।
त्यस्तै, सन् २०१९ मा भएको तेस्रो खेलमा २१ रनले यूएईसँग हारेको थियो। त्यस्तै, केही दिनअघि ओमनमै भएको खेलमा पनि नेपाल यूएईसँग २५ रनले हारेको थियो।
आजको खेलमा जिउज्यान लगाएर खेल्ने नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बताएका छन्। नेपाललाई विश्वकपमा पुर्याउने लक्ष्य अनुसार सबै खेलाडीले राम्रो प्रदर्शन गरिरहेको उनले बताए।
बलरले शुरूआतदेखि नै राम्रो प्रदर्शन गरिरहेको र ब्याटर पनि फर्ममा आइसकेको उनको भनाइ छ। त्यस्तै, फिल्डिङमा पनि धेरै सुधार भएको लामिछानेले बताएका छन्।