प्लेयर अफ द म्याच भएपछि सन्दीपले भने- नेपाललाई विश्वकपमा पुर्याउन जिउज्यान लगाउँछौं
आईसीसी टी-२० पुरुष विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा ‘प्लेयर अफ द म्याच’ बनेका सन्दीप लामिछानेले नेपाललाई विश्वकपमा पुर्याउन सेमिफाइनलमा जिउज्यान लगाएर खेल्ने बताएका छन्।
ओमनको अल अमेरत क्रिकेट मैदानमा सोमबार भएको खेलमा क्यानाडालाई आठ विकेटले पराजित गर्दै नेपाल सेमिफाइलनमा प्रवेश गरेको छ। मंगलबार पहिलो सेमिफाइनलमा नेपालले यूएईको सामना गर्नेछ।
सोमबारको खेलमा तीन विकेट लिएका नेपाली टोलीका कप्तान लामिछाने ‘प्लेयर अफ द म्याच’ भए। उनले चार ओभरमा १२ रन मात्रै दिए।
यसअघि फिलिपिन्स विरुद्धको खेलमा पनि नौ रन खर्चेर तीन विकेट लिएका थिए। त्यस्तै, ओमनसँगको खेलमा २० रन खर्चेर दुई विकेट लिएका थिए।
मंगलबार हुने यूएईसँगको सेमिफाइनल खेल जितेमा नेपाल टी-२० विश्वकपका लागि छनोट हुनेछ।
नेपाली टोलीका कप्तान लामिछानेले विश्वकपमा छनोट हुने आशा रहेको बताए। अहिलेसम्मका तीनै खेलमा राम्रो प्रदर्शन गरेको जनाउँदै उनले विश्वकप छनोटका लागि नजिक पुगेको बताए।
“अहिलेसम्म हामीले राम्रो प्रदर्शन गरेका छौं। बलर र ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेका छन्,” लामिछानेले भने, “जसरी अहिलेसम्म शतप्रतिशत क्षमता लगाएर खेलेका छौं, भोलि पनि त्यसरी नै खेल्छौं।”
ओमनको मैदानमा थुप्रै खेल खेलिसकेकाले भोलिको खेल पनि जित्ने उनको विश्वास थियो। “भोलिको खेलमा जिउज्यान लगाउँछौं,” कप्तान लामिछानेले भने, “नेपाललाई विश्वकपमा पुर्याउने आशा छ।”
टी-२० पुरुष विश्वकपका लागि ग्लोबल छनोटको यो समूहमा आठ टोली छन्। यो समूहबाट फाइनलमा पुग्ने दुई टोली विश्वकपका लागि छनोट हुनेछन्।