नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश
नेपाल समूह विजेता बन्दै टी-२० पुरुष विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
ओमनको अल अमेरत क्रिकेट मैदानमा क्यानाडालाई पराजित गर्दै नेपाल समूह ‘बी’ को विजेता बनेको हो। समूह चरणका तीनै खेल जितेर ६ अङ्क बटुलेको नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता यूएईको सामना गर्नेछ।
आज भएको खेलमा नेपालले क्यानाडालाई आठ विकेटले पराजित गरेको छ। क्यानाडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो।
नेपालका लागि कुशल भुर्तेलले ३४, दीपेन्द्रसिंह ऐरीले २७ र आसिफ शेखले १७ रन बनाए। त्यस्तै, ओमनका लागि कलिम साना र सल्मान नाजरले एक-एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानाडा १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमै समेटियो। नेपालको धारिलो बलिङअघि क्यानाडाका ब्याट्सम्यान टिक्न सकेनन्।
क्यानाडाका लागि डिलोन हेलिगरले २४, नवनित धलिवालले १८, रायन पठानले १४ र सल्मान नजरले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन, कमलसिंह ऐरी र अविनाश बोहराले दुई-दुई तथा कुशल मल्लले एक विकेट लिए।
टी-२० पुरुष विश्वकपमा छनोटका लागि नेपाल मंगलबार पहिलो सेमिफाइनलमा यूएईको सामना गर्नेछ। ओमनको अल अमेरत क्रिकेट मैदानमा मंगलबार अपराह्न ३ः४५ बजे नेपाल र यूएईबीचको खेल हुनेछ।
त्यस्तै, आयरल्यान्ड र ओमनबीचको दोस्रो सेमिफाइनल पनि मंगलबार अपराह्न ३ः४५ बजे हुनेछ।