एमसीसीको विपक्षमा उभिने एकीकृत समाजवादीको निर्णय
नेकपा (एकीकृत समाजवादी) संसद्मा टेबल भएको एमसीसी सम्झौताको विपक्षमा उभिने भएको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार काठमाडौंमा बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसीको समर्थन नगर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जनन्नाथ खतिवडाले जानकारी दिए।
बैठकबारे जानकारी दिंदै खतिवडाले भने, “संसद्मा टेबल भएको एमसीसी प्रस्तावको विपक्षमा मतदान गर्ने र विपक्षमा मतदान गर्ने वातावरण बनाउने काममा लाग्नेछौं।”
सरकारले ल्याएको प्रस्तावमा भोट नहाले पनि सरकारबाट भने नबाहिरिने उनले बताए। एमसीसी प्रस्ताव र सरकारमा जाने सन्दर्भ फरक फरक भएको खतिवडाको भनाइ छ।
“सरकारभन्दा देश ठूलो हो, देशको पक्षमा वकालत गर्न कसैले पाठ पढाइरहनु पर्दैन,” उपमहासचिव खतिवडाले बैठकपछि भने, “सरकारमा बस्ने र बाहिरने कुरा समयले निर्धारण गर्छ।”
एमसीसी सम्झौता ८ फागुनमा प्रतिनिधि सभामा टेबल भएको छ। एकीकृत समाजवादीको यसअघिको बैठकले संसद्मा टेबल गर्न नरोक्ने निर्णय गरेको थियो।