‘फिल्ममा नेपाली समाजका विविधताका कथा भन्न सक्नुपर्छ’
‘फिल्म बनाउन आधारभूत लगानी त चाहिन्छ नै, तर लगानीलाई बहाना बनाएर बस्न चाहिं नहुने रहेछ। उपलब्ध लगानी जति छ, त्यसबाटै राम्रो परिणाम निकाल्ने कोशिश गर्नुपर्ने रहेछ।’
७२औं बर्लिनाल-२०२२ (बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभल) यस वर्ष १०-२० फेब्रुअरीमा भयो। यो फिल्म मेलामा दुई नेपाली फिल्मले प्रतिस्पर्धा गरेका थिए, दीपक रौनियारको फोर नाइट्स र सूर्य शाहीको ह्वील्स् अन द बस। दलित विद्यार्थीको भोगाइ र मित्रताको विषयमा बनेको ह्वील्स् अन द बसका टीमले महोत्सवमा सहभागिता समेत जनाएको थियो। बर्लिनालमा पुगेका यस फिल्मका निर्देशक सूर्य शाही, कार्यकारी निर्माता जगदीश हमाल र प्रबिनकुमार रावतसँग सेन्छेलुङ लिम्बूले गरेको कुराकानीको सारसङ्क्षेपः
संसारको प्रतिष्ठित फिल्म महोत्सवमा सहभागिता जनाउँदाको अनुभव कस्तो रह्यो?
केही अवरोधका बीच धेरै कोशिश गरेर हामीले बर्लिनालमा फिल्म पठाएका थियौं। नेपालको हुम्ला, हुम्लाको पनि विकट गाउँको कथा र त्यहाँ बनाइएको फिल्म बर्लिनाल जस्तो प्रतिष्ठित फिल्म मेलामा छनोट भयो। हामी कर्णालीको कथा भन्नेहरूका लागि यो गौरवको विषय थियो।
महोत्सवमा हामीले आफ्ना अनुभव सुनायौं। हाम्रा कथाहरू भन्यौं। नेपाली फिल्मले गरिरहेको प्रगतिको कुरा गर्यौं। हामीले थुप्रै देशका फिल्म हेर्यौं। ती देशका फिल्ममेकर्सलाई भेट्यौं र उनीहरूका अनुभव सुन्यौं। हाम्रा लागि यो निकै उपलब्धिपूर्ण भयो।
अरू देशका मेकर्ससँगको कुराकानीबाट के कुरा पाउनुभयो?
सबैभन्दा ठूलो कुरा चाहिं आत्मविश्वास हो। हामीले हाम्रै जस्तो सोच भएका मेकर्स भेट्यौं। उनीहरूका कुरा सुन्यौं। हामीले बनाइरहेका फिल्महरू पनि खासै कम होइन रहेछन्। नेपालको अहिलेको फिल्ममेकिङको स्थिति निकै फेरिएको छ। त्यसैले हामी उनीहरूसँग सहकार्य गर्न सक्ने रहेछौं। तर, सहकार्यका लागि थप काम गर्नुपर्ने चाहिं रहेछ। महोत्सवमा आएपछि हामीमा जागेको बलियो आत्मविश्वास भनेको हामीले हाम्रा कथाहरू ठूलो दायरामा भन्न सक्ने रहेछौं। हामी पनि विश्व सिनेमामा प्रतिस्पर्धा गर्न सक्ने रहेछौं।
हाम्रा कथाहरूलाई विश्व सिनेमामा प्रतिस्पर्धा गर्न सक्ने गरी कसरी बनाउन सकिने रहेछ?
हामीले यहाँ जति फिल्म हेर्यौं, तिनमा के पायौं भने उनीहरूले आफ्नै कथा भनिरहेका छन्, फरक फरक तरीकाले भनिरहेका छन्। उनीहरूले जलवायु परिवर्तनले पारेको असर, विकसित देशका किसानले भोगिरहेका दुःख, युवाका पीडा, शासकले नागरिकलाई दिएको सास्ती जस्ता विषयलाई मिहिन रूपमा उठाइरहेका छन्। उनीहरूले भनिरहेका जस्ता ससाना कथाहरू त हामीसँग पनि थुप्रै छन्।
उनीहरूको र हाम्रो भन्ने तरीका नमिले पनि अनुभूति गर्ने कुरा चाहिं उस्तै छ। उनीहरूले फिल्म मार्फत भनेका मान्छेका दुःख र मानवताका कुरा हामीले भनिरहेका कुरासँग मिल्छ। त्यसरी हेर्दा हामी पनि उनीहरूकै तहमा काम गर्न सक्छौं भन्ने लागेको हो।
तर, विदेशी मेकर्सको दाँजोमा त हामीकहाँ अझै काम हुन सकेको छैन। के कुराले नेपाली फिल्मलाई त्यहाँसम्म पुर्याउँछ?
फिल्म यसरी नै बन्नुपर्छ भन्ने खास सूत्र त छैन। सबै मेकर्सले खोजी र प्रयोग गर्दै छन्। विदेशी मेकर्सहरू पनि आफ्नो कुरा अझै फरक फरक तरीकाले संसारलाई सुनाइरहेका छन्। तर, खुशीको कुरा हामी पनि अहिले त्यही बाटोमा छौं।
हाम्रो देशको सुन्दर कुरा भनेको हामीसँग भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय विविधता छ। यो हाम्रा लागि ठूलो अवसर हो। ती विविधताका कथा भन्न सक्नुपर्छ जस्तो लाग्छ। फिल्म बनाउन एकै किसिमको शैली पछ्याउने होइन, निर्देशकको शैली प्रधान रहने फिल्म बन्नुपर्छ।
फिल्म निर्माणमा लगानीको कमीले पनि गाह्रो पार्ला नि?
हाम्रोमा लगानीको समस्या नै छ। सरकारी निकायबाट सहयोगको आश गर्ने ठाउँ छैन। साथीभाइबाट सहयोग जुटाउनुपर्ने, थोरै जनशक्तिले बढी काम गर्नुपर्ने अवस्था छ। ह्वील्स् अन दी बसमा पनि केही साथीले निःशुल्क काम गरेका थिए।
विदेशी मेकर्सको लगानी खोज्ने र खर्च गर्ने तरीका फरक रहेछ। उनीहरूका अरू खालका आफ्नै दुःख होलान्। हामीलाई चाहिं खर्च जुटाउने समस्याले पिरोल्ने गरेको छ। तर, हामी अभावका बीच पनि फिल्म बनाइरहेका छौं। राम्रो फिल्म बनाउन ठूलै लगानी चाहिन्छ भन्नु शतप्रतिशत सत्य भने होइन, कम लगानीमा पनि राम्रा फिल्म बन्न सक्छन्। फिल्म बनाउन आधारभूत लगानी त चाहिन्छ नै, तर लगानीलाई बहाना बनाएर बस्न चाहिं नहुने रहेछ। उपलब्ध लगानी जति छ, त्यसबाटै राम्रो परिणाम निकाल्ने कोशिश गर्नुपर्ने रहेछ। र, त्यो सम्भव छ भन्ने लाग्छ।
ह्वील्स् अन द बसको प्रिमियरपछि कस्तो प्रतिक्रिया पाउनुभयो?
बर्लिनालमा हाम्रो फिल्म हेरेपछि विदेशी मेकर्सहरूले सराहना गरेका थिए। उनीहरूले फरक किसिमको फिल्म भनेर प्रतिक्रिया दिए। हामीले अवार्ड त जितेनौं, तर उनीहरूको सराहनाले ठूलो ऊर्जा दिएको छ। फिल्ममा समेटिएको जातीय विभेदको विषयमाथि उनीहरूले चासो व्यक्त गरेका थिए। अहिले पनि छुवाछूत रहेकोबारे हामीलाई थुप्रै प्रश्न सोधिएको थियो।
हुम्लामा गरीबी, अशिक्षा, अभाव जस्ता धेरै विषय छन्, तपाईंहरूले छुवाछूतकै विषय किन टिप्नुभयो?
कर्णालीमा अझै पनि दलित समुदायको अवस्था दयनीय छ। बाहिरबाट जाँदा कति कुरा ढाकछोप गरिए पनि छुवाछूत त्यहाँको यथार्थ नै हो। त्यसैले यो विषय सिनेमाको माध्यमबाट अरूलाई भन्नुपर्छ, विश्वलाई देखाउनुपर्छ भन्ने हामीलाई लाग्यो।
फेरि, हामी तीनमध्येकै एक जनाले स्कूल पढ्दाताका दलित साथीमाथि बुलिङ गरेका थियौं। तर, त्यो त ठूलो भूल रहेछ। त्यो कुरा बुझ्न धेरै वर्ष लाग्यो। त्यसैले, ह्वील्स् अन दी बस दलित समुदायमाथि हामीले गरेको गल्तीको स्वीकारोक्ति र प्रायश्चित्त पनि हो।