कोरोनाबाट चार जनाको मृत्यु, ३८८ मा सङ्क्रमण
कोभिड-१९ बाट आज पनि चार जनाको मृत्यु भएको छ भने ३८८ जनामा सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आठ हजार १४० जनाको स्वाब परीक्षण गर्दा ३८८ जनामा कोरोना पुष्टि भएको हो। आज पाँच हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा २४७ जनामा र दुई हजार ९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनामा कोरोना देखिएको हो।
त्यस्तै, कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ। आइतबार पनि चार जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२५ पुगेको छ।
पछिल्लो २४ घण्टामा एक हजार २०५ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या पनि नौ लाख २५ हजार ५९९ पुगेको छ। अझै ११ हजार २८२ सक्रिय सङ्क्रमित छन्।