एमसीसीमाथि १२ फागुनबाट संसद्मा छलफल हुने सहमति छ: कांग्रेस प्रवक्ता
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले १२ फागुनबाट अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा संसद्मा छलफल हुने सहमति भएको बताएका छन्।
सरकारले ८ फागुनमा एमसीसी सम्झौतालाई प्रतिनिधि सभामा टेबल गराएको छ। यसलाई लिएर सत्तारूढ गठबन्धनमै रहेका दलका नेताहरूले विरोध गरिरहेका छन्। जसले यसमाथिको छलफललाई लिएर आशङ्का उत्पन्न भएको छ।
कांग्रेस प्रवक्ता महतले अब संसद्मा छलफल अघि बढ्ने बताए। “पाँच दलीय गठबन्धनको बैठकले सहमति जनाएपछि संसद्मा टेबल भएको हो,” कांग्रेस प्रवक्ता महतले भने, “अब १२ फागुनबाट संसद्मा छलफल अगाडि बढाउने सहमति भएको छ।”
एमसीसी सम्झौताबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले अन्तर्राष्ट्रिय विश्वसनीयतामा समस्या देखिन थालेपछि यसलाई अगाडि बढाएको बताए।
“यो प्रक्रिया माओवादीकै सरकारले अघि बढायो। त्यति वेला बाबुराम भट्टराई प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री थिए। त्यसपछि सबै सरकार संलग्न भए,” महतले भने, “एमसीसी सम्झौताबारे निर्णय नगर्दा अन्तर्राष्ट्रिय विश्वसनीयतामा समस्या आएपछि अगाडि बढाएका हौं।”
एमसीसी सम्झौतामाथि संसद्मा छलफल अगाडि बढ्ने र निर्णयार्थ प्रस्तुत हुने उनले बताए। “१२ गते अगाडि बढाउने निर्णय भएको छ। यसमा सबै दलले सहयोग गर्नुपर्छ,” महतले भने।