एमसीसी: दाहालको ‘चीन वफादारी’ को परीक्षा
एमसीसी सम्झौताका विषयमा हुने अन्तिम निर्णय नेपालको चीनसँगको सम्बन्ध मात्रै होइन, पुष्पकमल दाहालको चीनप्रतिको वफादारीको पनि परीक्षा हुनेछ।
चीनको राजधानी बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा भर्खरै स्नातक अध्ययन शुरू गरेको थिएँ। २०७३ सालमा विश्वविद्यालयको शुरूआती समयमै एक जना चिनियाँ साथीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले किन माओवाद (माओइस्ट) नाम राखेको भन्दै प्रश्न गरे। माओत्सेतुङको नामलाई बदनाम गरेकोमा उनले दुःख व्यक्त गरे।
उनको विचार सान्दर्भिक नै थियो। तर, मलाई यसको जवाफ कसरी दिने थाहा भएन। उनको कुरामा मैले सहमति जनाएँ, किनकि ‘माओवादी’ शब्दसँग धेरै नेपाली डराएका थिए, जसले सशस्त्र युद्ध, हत्या तथा अपहरण देखेका वा भोगेका थिए।
मेरो सहपाठीको चिन्ता माओवादी विद्रोहले गति लिंदा चिनियाँ सरकारको प्रारम्भिक प्रतिक्रिया र चिन्तासँग मिल्दोजुल्दो थियो।
२०५६ सालको अन्त्यतिर चीनको विदेश मन्त्रालयका प्रवक्ता लिउ जियानचाओले वर्षौंको हिंसात्मक सङ्घर्षपछि सन् १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टीलाई सत्तामा ल्याउने माओत्सेतुङको नाम विद्रोहीहरूले ‘कब्जा’ गरेको र यसमा विद्रोहीसँग चीनको कुनै सम्बन्ध नभएको बताएका थिए। चिनियाँ सरकारले नेपालका माओवादीलाई सरकार विरोधी र अव्यवस्था ल्याएको भन्दै आलोचना गर्दै व्यङ्ग्यात्मक रूपमा ‘आतङ्कवादी’ भनेर संज्ञा दिएको थियो।
२०५७ सालसम्म चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग अन्तर्गतको कन्टेम्प्रोरी वर्ल्ड म्यागेजिनले ‘बढ्दो रूपमा सक्रियः नेपाल कम्युनिष्ट पार्टी (माओवादी)’ नामक एउटा लेख प्रकाशित गर्यो। जसमा माओवादी नेताहरू एकजुट नभएको र एकजुट हुन नसक्ने जस्ता समस्या रहेको उल्लेख थियो। यससँगै माओवादीले अन्य दलसँग गठबन्धन गर्न नसकेको पनि जिकिर थियो।
यस बाहेक नेपालको वास्तविकताभन्दा टाढा रहेकाले अधिकांश मानिसले माओवादी पार्टीलाई समर्थन नगरेको लेखमा दाबी गरिएको थियो। यससँगै ‘अन्तर्राष्ट्रिय आतङ्कवादी संगठनहरूसँग उनीहरूको सम्बन्धको कारण अन्तर्राष्ट्रिय समुदाय पनि उनीहरूलाई मान्यता दिन हिचकिचाएको छ’ भनेर लेखिएको थियो।
माओवादप्रति चिनियाँ प्रारम्भिक प्रतिक्रिया शङ्कास्पद र घृणामिश्रित थियो। २०६३ सालमा भएको बृहत् शान्ति सम्झौतापछि त्यसमा परिवर्तन आयो। माओवादी शक्तिमा उदय भएको, माओको छविलाई अझ सुधार गर्ने कथाहरू, विशेष गरी अध्यक्ष पुष्पकमल दाहाललाई नेपालमा सामन्तवाद विरोधीको ‘ट्रेल ब्लेजर’ का रूपमा गरिएको चित्रणले सकारात्मक सोच ल्याएको थियो। यद्यपि, चिनियाँ विद्वान्हरूद्वारा लिखित अध्ययनमा केही निष्पक्ष सामग्री छन्, जुन अब सान्दर्भिक छैनन्।
नेपालमा माओवादीको इतिहास हेर्ने हो भने पार्टीको मार्गदर्शक सिद्धान्तको सट्टा पार्टीको नाममा ‘माओवाद’ प्रयोग गरिएको छ। जहाँसम्म माओवादको अवधारणाको सवाल छ, वास्तवमा माओत्सेतुङ स्वयं यसको विपक्षमा थिए।
चिनियाँ कम्युनिष्ट पार्टीका एक वरिष्ठ नेता वाङ जियाक्सियाङसँगको कुराकानीमा माओले भनेका थिए, “माओवादको उल्लेख गर्न सकिंदैन। म मार्क्स र लेनिनको विद्यार्थी हुँ। म उनीहरूलाई कसरी वर्गीकरण गर्न सक्छु? मार्क्ससँग ‘मार्क्सवाद’ छ, लेनिनसँग ‘लेनिनवाद’ छ। मलाई ‘माओवाद’ भनेर लेबल गर्न सकिंदैन। मसँग कुनै ‘वाद’ छैन। मेरो ‘वाद’ मार्क्सवाद र लेनिनवाद हो। तपाईंले माओत्सेतुङ विचारको उल्लेख गर्नुपर्छ। सबैका आआफ्ना विचार छन्। हामी अनायासै ‘वाद’ भन्न सक्दैनौं। मलाई अझै विश्वास छ कि म सोचको प्रणालीका रूपमा परिपक्व हुन सकेको छैन। यो सत्य हो।”
कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को विधान अनुसार, माओत्सेतुङ विचार ‘चीनमा मार्क्सवाद-लेनिनवादको प्रयोग, विकास र व्यवहारबाट प्रमाणित चीनको क्रान्ति र निर्माणको सही सैद्धान्तिक सिद्धान्त र अनुभवजन्य सारांश हो।’
२०६९ सालमा एक चिनियाँ विद्यार्थीले ल्याओचेङ विश्वविद्यालयको सामाजिक विज्ञान जर्नलमा ‘नेपाल कम्युनिष्ट पार्टीको नजरमा माओवाद’ शीर्षकको एउटा लेख प्रकाशित गर्यो। जसमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नाम प्रत्यक्ष रूपमा ‘माओवाद’ सँग जोडिएको उल्लेख छ। तर, यो नाम निश्चित परिस्थितिमा रणनीतिक छनोट मात्रै रहेको र नेपालका माओवादीका क्रियाकलापहरू ‘माओवाद’ बाट निर्देशित नभएको उल्लेख छ।
संसदीय लडाइँमा पनि माओवादीका ‘माओवाद’ निर्देशित भएको नदेखिएको र अन्य राजनीतिक दलसँग गरेका सहमति तथा सम्झौतामा पनि मार्क्सवादका आधारभूत सिद्धान्तको उल्लङ्घन भएको लेखमा औंल्याइएको छ। जसले गर्दा माओवादीको हातमा विभाजन मात्रै परेको दाबी गरिएको छ।
माओवादीले आगामी दिनमा क्रान्तिकारी कार्यदिशामा अडिग रहन सर्वहारा पार्टीको आधारभूत सिद्धान्त पालना गर्नुपर्ने जर्नलले सुझाएको छ। यससँगै पार्टीलाई सुधारवादी बन्न नदिन नयाँ सैद्धान्तिक मार्गदर्शन हुनुपर्ने उल्लेख गरेको छ।
नेपाली माओवादी आन्दोलनमा चीनको नजरमा परेका कुनै एक व्यक्ति थिए भने, ती पुष्पकमल दाहाल थिए। यद्यपि, शुरूआती चरणमा नेकपा (माओवादी) ले चीनबाट केही मात्रामा आलोचना पाए पनि चिनियाँ सञ्चार माध्यमसँग दाहालले दिएका अन्तर्वार्ताले भने बेग्लै कथा बताउँछन्।
२०६३ सालमा ग्लोबल टाइम्ससँगको अन्तर्वार्तामा ‘राष्ट्रपतिको उम्मेदवार बन्ने कि’ भनेर सोधिएको प्रश्नको जवाफमा दाहालले नम्रतापूर्वक जनता र पार्टीले आवश्यकता ठाने एक पटक मात्रै बन्ने जवाफ दिएका थिए। त्यसपछि पार्टी केन्द्रीय समितिको सदस्य र बिस्तारै अवकास लिने, पढ्ने, लेख्ने र अनुसन्धान गर्ने’ बताएका थिए। त्यसको एक वर्षपछि २०६४ काे संविधानसभा निर्वाचनमा माओवादीले जित हासिल गर्यो। सबैभन्दा ठूलो पार्टी बनेको माओवादीका तर्फबाट दाहाल प्रधानमन्त्री बने।
त्यस्तै, १० वर्षपछि २०७३ सालमा फेरि उनी दोस्रो पटक नेपालको प्रधानमन्त्री बने। जबकि, उनले ग्लोबल टाइम्ससँगको अन्तर्वार्तामा एक पटक मात्रै बन्ने भनेका थिए।
२०६४ सालसम्म चिनियाँ सञ्चार माध्यममा दाहाल र उनको पार्टीलाई चिनाउने गरी सशस्त्र विद्रोहबारे थुप्रै लेख र अन्तर्वार्ता आइसकेका थिए। २०६४ सालमै राज्यबाटै सञ्चालित चाइना डेलीसँगको अन्तर्वार्तामा दाहालले चीनका अन्तिम सम्राट् पु यीलाई चीनले कसरी सम्हाल्यो भनेर ईर्ष्या लागेको बताएका थिए। दाहालले भनेका थिए, ‘पु यी जस्तै ज्ञानेन्द्र पनि आम नागरिक बनेमा नेपाली जनताका लागि आशीर्वाद हुनेछ।’
त्यतिवेला काठमाडौंमा दाहालले बिताइरहेको सादा जीवनशैली र जनताप्रतिको समर्पणबाट अन्तर्वार्ताकार प्रभावित भएको देखाइएको थियो। बिहान ६ बजे अन्तर्वार्ताका लागि आउँदा पनि कैयौं मानिस दाहाललाई भेट्न पर्खिरहेको उल्लेख गरिएको थियो। अन्तर्वार्ताकारले त्यति वेला नेपालमा प्रचलित वाक्यांश सम्झिएका थिए, ‘प्रचण्डसँग जोकोहीले हात मिलाउन सक्छन्।’
दाहालको अक्षमताका बावजूद पनि चीनले उनलाई सहनुको मुख्य कारण माओको नाम उनको पार्टीसँग जोडिएकाले हो। अर्कातिर, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ सञ्चार माध्यममा आलोचना खेप्दै आएका छन्। त्यसको एउटै कारण हो, नेकपा विभाजन। ओलीले एमाले र माओवादीलाई एक हुन नदिएको ठम्याइ छ। जबकि, दाहालबारे विरलै यस्तो सोचिन्छ।
यो पनि सत्य हो कि दाहालले ओलीले जस्तो चिनियाँ सरकारको धैर्यको परीक्षा गरेका छैनन्। देशभित्र आलोचना भए पनि ओलीको जस्तो दाहालको आलोचना चीनसम्म पुगेको छैन। चीनमा नेकपा (माओवादी केन्द्र) प्रतिको कुनै पनि नकारात्मक समाचार फैलिन नदिन चिनियाँ सरकार सचेत देखिन्छ। यो चिनियाँ सरकार आफ्नै इज्जत बचाउनलाई पनि होला।
यस्तो वेला नेपालमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय चर्किएको छ। यो विषय चीनसम्म पनि पुगेको छ, जससँग दाहाल पनि जोडिएका छन्। दाहाल पनि एमसीसी सम्झौताको विषयले चीनसँगको सम्बन्ध फेरि सुध्रिने वा बिग्रने आकलन गरिरहेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा र दाहालले एमसीसीलाई पठाएको पत्र बाहिरिएसँगै चिनियाँ सञ्चार माध्यमलाई आलोचना गर्ने अवसर मिलेको छ। तर, चिनियाँ सञ्चार माध्यम असाधारण रूपले मौन छन्।
माओवादी पार्टी अध्यक्ष दाहालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा हस्ताक्षर गरी चीनलाई प्राथमिकतामा राखेको देखाएका छन्। अन्य यस्तै कार्यले गरेर आफूलाई चीनसँग नजिक मात्रै राखेका छैनन्, चीनमा हुने आलोचनाबाट पनि जोगाएका छन। तर, एमसीसी सम्झौताका विषयमा हुने अन्तिम निर्णय नेपालको चीनसँगको सम्बन्ध मात्रै होइन, दाहालको चीनप्रतिको वफादारीको पनि परीक्षा हुनेछ।
(राजभण्डारी चीनको रेनमिन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत छिन्। यो सामग्री अङ्ग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुस्।)