चट्टानमा खोपिएको ह्योल्मो चिनारी
मेलम्चीको बाढीले माथिबाट ढुङ्गा र बालुवा तल बगरमा थुपारिदिंदा थुप्रै क्रसर व्यवसायी मालामाल भएका छन्। तर, ती ढुङ्गाहरूलाई सम्पदा मान्ने माथिका ह्योल्मोहरू भने चिन्तामा छन्।
सिन्धुपाल्चोक, मेलम्चीको माथिल्लो भेगमा बस्ने ह्योल्मो समुदायले गत जेठ अन्तिमतिरै अनिष्टको सङ्केत पाइसकेको थियो। मेलम्ची र याङ्ग्रीसँगै बग्ने इन्द्रावतीको सुसाहट त्यस दिन अलि असामान्य थियो। त्यसैले तिम्बु, खार्चुङ, सेर्माथाङ, तार्केघ्याङ, मिलिम्छिमघ्याङ, नाकोतेसम्मका ह्योल्मोले लेकका गोठ झरिसकेका थिए। खोला किनारमा घर भएकाहरू छिमेकमा सर्दै थिए।
यता काठमाडौंबासी चाहिं दशकौं लामो प्रतीक्षा चिर्दै मेलम्ची पानीधारामा झर्न लागेको खबरले उत्साही थिए। नभन्दै ह्योल्मोहरूले अनुमान गरे झैं १ असारमा इन्द्रावतीले भयानक रूप लिंदै मेलम्ची आसपासका बस्ती बढारिदियो। खोलाको माथिल्लो भेगमा बसेकाहरूले डरलाग्दो पहिरो सामना गर्नुपर्यो। यो विपत्तिले ठूलो जनधनको क्षति गरायो। सडक, पुल, सञ्चारसम्मका संरचना ध्वस्त भए। घटनाको मानसिक प्रभाव स्थानीयमा अझै छ।
भूगर्भविद्हरूले यस विपत्तिको कारक भूमण्डलीय तापक्रम वृद्धिलाई बनाए, ह्योल्मोहरूले दैवी शक्तिलाई। स्थानीय बासिन्दामाझ त्यहाँको कुनै सार्वजनिक कार्यक्रममा कालो बोको बलि चढाइएकाले अनिष्ट भएको हल्ला चल्यो। “समुदाय बाहिरका मान्छेले निरीह जनावर मारी खाएकोमा हामीले यो विपत् झेल्नुपर्यो,” एक लामा गुरुको मान्यता थियो।
हेलम्बु सहित नुवाकोट, रसुवा, रामेछाप, गोर्खा, लमजुङ, कास्की, इलाम अनि दार्जीलिङ र सिक्किमसम्म छरिएका ह्योल्मो समुदायको सांस्कृतिक पहिचान समयसँगै रूपान्तरित हुन पुग्यो। कुनै वेला आफूलाई शेर्पा भन्न रुचाउने उनीहरूले २०४६ पछि आफूलाई छुट्टै पहिचान बोकेको सांस्कृतिक समूहका रूपमा दाबी गरे। यद्यपि, आफ्नो थातथलो भोटलाई नै माने।
प्रकृतिपूजक बोन परम्परा अँगाल्दै आएका उनीहरूले कालक्रममा पद्मसम्भव वा गुरु रिम्पोछेलाई पछ्याउँदै तन्त्रमा आधारित वज्रयानी बौद्धमार्ग अपनाए। बोन धर्म मान्दा ह्योल्मोहरू परिव्याप्त आत्माहरूलाई सन्तुष्ट पार्न भन्दै जनावरको बलि दिन्थे। बौद्धमार्गी भएपछि बलि दिने परम्परालाई क्रूरता र हिंसाको प्रतीक मानियो। धेरैले बलि छाडे पनि केही बोम्बो (झाँक्री) ले यो परम्परा यथावत् राखेका छन्। उनीहरू पनि निषिद्ध क्षेत्रमा भने बलि दिंदैनन्।
हेलम्बुको उचाइमा रहेको पर्वत ‘आमा ज्योमो याङ्ग्री’ लाई ह्योल्मोहरू श्रद्धा र पवित्रताको मानक ठान्छन्। त्यही पर्वतले आफ्नो संरक्षण गरिरहेको उनीहरूको विश्वास छ। उक्त पर्वतको फेदमा फैलिएको मिलिम्छिमघ्याङ र निकटवर्ती बस्तीका महिलाहरूले गठन गरेको ‘आमा समूह’ ले त्यस वरपर पशु काटमारलाई बन्देज लगाएको छ।
यसको अर्थ ह्योल्मोहरू मासु खाँदै नखाने भने होइनन्। तिम्बु बाहेक अरू स्थानमा मासु काटेर बेच्न चाहिं पाइँदैन। उक्त नियम नमान्नेले हर्जाना तिर्नुपर्छ। ह्योल्मोमध्ये केहीको शैव मार्गमा पनि आस्था देखिन्छ। हेलम्बुका एक म्हेमे (बाजे) ले हामीलाई शिवपार्वती र पद्मसम्भवसँग गाँसिएको किंवदन्ती सुनाए। अर्कातिर लामा र झाँक्रीको आआफ्नै भूमिका छ।
लामाले धार्मिक रीत र अनुष्ठान गराउँछन्। तन्त्र-मन्त्र मार्फत रोगव्याधका पारम्परिक निदानमा बोम्बोहरू अघि सर्छन्। यो धार्मिक सम्मिश्रणले संस्कृतिविद् प्रयागराज शर्माको नेपाली समाजलाई मिश्रित र अन्तर्घुलित प्रक्रियाबाट विश्लेषण गरेको अवधारणा ‘हिन्दू-ट्राइबल इन्टरफेस’ अर्थात् हिन्दू र जनजातिको अन्तर्घुलन-अन्तःक्रियालाई पुष्टि गर्छ।
फेरि फर्कौं, मेलम्ची बाढीकै प्रसङ्गमा। उक्त विपत्तिले स्थानीय बासिन्दाको जनजीवन पूरै बिथोलियो। तर, केही व्यक्तिका लागि त्यही विध्वंस फलिफाप बन्न पुग्यो। बाढीले माथिबाट ढुङ्गा र बालुवा ल्याई बगरमा थुपारिदिंदा क्रसर व्यवसायी मालामाल भए। मेलम्चीमाथिका ह्योल्मोहरू भने तिनै ढुङ्गाहरू कसरी जोगाउने भन्ने चिन्तामा छन्। ती ढुङ्गा, गुम्बा र गुफालाई अत्यधिक श्रद्धा गर्छन् उनीहरू। पद्मसम्भव आठौं शताब्दीतिर त्यस भेगमा आई तिनै गुफा र चट्टानहरूमा बसेर ध्यान गरेको स्थानीयको बुझाइ छ।
यो पङ्क्तिकार (वाङ्गेल) ले आफ्ना वंशजको मूल खोज्दै जाँदा हेलम्बु पुगी त्यहाँका गुम्बा र चट्टानहरूको तस्वीर पहिल्यै खिचिसकेको थियो। थप जिज्ञासा मेटाउन हामी लेखकद्वय गएको पुस अन्त्यतिर हेलम्बुतर्फ लाग्यौं। त्यहाँका चट्टान रहेको स्थानको रेखदेख गर्दै आएका आङबाबु ह्योल्मोले ‘तपाईंहरू ढुङ्गाको अध्ययन गर्न आउनुभाको कि यसलाई बेच्न?’ भन्दा शुरूमा हामी अवाक् भयौं। तर, हाम्रो उद्देश्य बुझेपछि उनले तस्वीर खिच्ने अनुमति दिए।
ह्योल्मो समुदायमाथि लेखिएका केही लेख-रचनामा यी चट्टानबारे केही प्रसङ्ग त आउँछन्, तर तिनको अस्तित्व र सांस्कृतिक आयामबारे व्याख्यान भएको पाइँदैन। न त तिनमा रहेका आकृतिहरूबारे स्थानीयले नै भन्न सक्छन्। यद्यपि, उनीहरू सबै जना यी चट्टानलाई पद्मसम्भवको प्रतीक मान्छन्।
तिम्बुबाट जङ्गलको ठाडो उकालो हिंड्दा हामीलाई मिलिम्छिमघ्याङ पुग्न १० घण्टा लाग्यो। सोही क्रममा नाकोतेबाट लगभग एक घण्टाको उकालोपछि उर्गेन पेसो पुगियो। यो सानो चट्टानी गुफा हो। उर्गेन पद्मसम्भवकै नाम हो भने पेसोको स्थानीय अर्थ टोपी हो। उक्त गुफालाई ढाकेको चट्टानको माथिपट्टि गोलाकार आकृति देख्न पाइन्छ। यो आकृति पद्मसम्भवको शिरको टोपी रहेको स्थानीयको बुझाइ छ। कोही पद्मसम्भव ध्यान गरी एक्कासि उठ्दा टाउको ठोकिएर त्यो आकृति बनेको ठान्छन्। कोही चाहिं असुरले ध्यान बिथोल्न खोजेपछि पद्मसम्भवले टाउकाले प्रतिकार गर्दा उक्त आकृति बनेको किंवदन्ती सुनाउँछन्।
मिलिम्छिमघ्याङ बस्तीको उत्तर पश्चिमतर्फ पद्मसम्भवले लामो समय ध्यान गरेको विश्वास गरिएको मुख्य गुफा देख्न पाइन्छ। यहाँ तिब्बती शैलीको शिल्प रचनामा पद्मसम्भव सहित अवलोकितेश्वर र वज्रपाणिको मूर्ति राखिएको छ। उक्त गुफा अँगेनो आकृतिको छ- बडेमानका तीन चट्टानलाई माथिबाट अर्को चट्टानले छोपे जस्तो। यसलाई स्थानीय भाषामा ‘ढाक्फुक ङिदा राङजेन’ भनिन्छ। गुफाभित्र पद्मसम्भव ध्यानस्थ छँदा माथिल्लो ढुङ्गामा चामत्कारिक ढङ्गले सूर्य-चन्द्रको आकृति बनेको किंवदन्ती छ।
मिलिम्छिमघ्याङबाट पश्चिमतर्फ झोलुङ्गे पुल तरेपछि पद्मसम्भवले ध्यान गरेको भनिएको प्रहाङछाङ (स्थानीयले स्युक्ठी पनि भन्छन्) पुगिन्छ। त्यहाँ यस्ता अद्भुत आकृतिका चट्टान छरपस्ट देख्न पाइन्छ। किंवदन्ती अनुसार, असुरहरूले साधनामा लीन पद्मसम्भवलाई निकै दुःख दिन्थे। ती असुर शक्तिशाली मात्र नभई विद्यामा पनि निपुण थिए।
अन्ततः पद्मसम्भवले तन्त्रविद्या मार्फत असुरहरूलाई नियन्त्रणमा आफ्नो धर्मपालक बनाए। ती असुर खासमा को थिए भन्ने थाहा छैन, तर तिनका बहुमूल्य पुस्तकहरू रहेको ठानिने एउटा ढुङ्गा पनि त्यहाँ छ। उक्त पत्रेढुङ्गामा हजारौंको सङ्ख्यामा रहेका अक्षरले असुरहरूको विद्वत्ताको प्रमाण दिने र ती लिपि तान्त्रिक शक्ति हुनेले मात्र पढ्न सक्ने स्थानीयको विश्वास छ। उनीहरूका अनुसार, पद्मसम्भवले उक्त स्थान छाड्ने क्रममा त्यो चट्टान पनि ढल्न पुगेको थियो।
चट्टानमा जीवजन्तुको आकृति पनि देखिन्छ जसलाई स्थानीय भाषामा सुङ्मा भनिन्छ। जसको अर्थ हो- धर्मको रक्षा निम्ति कटिबद्ध हुनु। उक्त चट्टानमा नागबेली आकृतिको सर्प र स्थिर अवस्थामा रहेको भ्यागुताको आकृति छ। अनि एउटा चट्टानमा पद्मसम्भव ध्यानस्थ भएको र त्यहाँ उनको पाइला रहेको विश्वास गरिन्छ। यी चट्टानसँग जोडिएका प्रसङ्गले ह्योल्मोवासीलाई शताब्दियौंदेखि धार्मिक र आध्यात्मिक आस्थामा बाँधेका छन्।
त्यहाँ अरू पनि थुप्रै चट्टान छन् जसले एकसाथ जीवन, मृत्यु, धर्म, दर्शन, पर्यावरण, दैवी चमत्कार, करुणा, प्रतिज्ञा जस्ता मर्म समेटेका छन्। प्रत्येक चट्टानलाई एकटकले हेरिरहँदा मस्तिष्कलाई काल्पनिकीमा डुबाउँदै अनेकौं दृश्यागमन गराइदिन्छ। पद्मसम्भवका नामले यो भेग आफैंमा एउटा तीर्थस्थल बनेको छ। अर्कातिर ह्योल्मोहरूको स्थानान्तरण, पूर्वजको आगमन र पहिचानको इतिहास पनि जोडिएको छ।
तिब्बतबारे अध्ययन गरेका केही पश्चिमाले भने पद्मसम्भवको अस्तित्वको प्रमाण नदेखिएको भन्दै उनलाई काल्पनिक पात्र मानेका छन्। जबकि, ह्योल्मोहरूमाझ उनी पूरै जीवित छन्। त्यसैले त तल मेलम्चीमा प्रकृति भताभुङ्ग पारेर दोहन चलिरहँदा माथि ह्योल्मोहरू पद्मसम्भवमा समर्पित हुँदै प्राकृतिक स्रोत-साधन र जैविक विविधता संरक्षणमा खटिएका छन्।
(लामा र केसी ह्योल्मो समुदाय र संस्कृतिको खोज-अनुसन्धानमा आबद्ध छन्। हिमालको २०७८ फागुन अङ्कबाट।)