तिब्बत जोड्ने चैनपुर–ताक्लाकोट सडक निर्माण ४ वर्षमा ३३ किलोमिटर
छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्र जोड्ने चैनपुर–ताक्लाकोट सडक निर्माण ४ वर्षमा ३३ किलोमिटर मात्र भएको छ ।
सेती लोकमार्ग अन्तर्गत उत्तरखण्डमा पर्ने चैनपुर–ताक्लाकोट सडक निर्माणका लागि दुई कम्पनीले काम गरिरहेका भए पनि निर्माण कार्यले गति लिन सकेको छैन ।
ठेक्का सम्झौता भएर तुरुन्तै काम शुरु गरेको भए पनि हालसम्म ३३ किलोमिटर मात्र काम सम्पन्न गरेको छ । सम्झौताको अवधि सकिन सात महीना मात्र बाँकी हुँदा ७० प्रतिशत मात्र काम भएको छ ।
चार वर्षको अवधिमा भएको उक्त प्रगति हेर्दा तोकिएको म्यादभित्र काम सम्पन्न हुनेमा शंका रहेको चैनपुर–ताक्लाकोट सडक आयोजना कार्यालयका प्रमुख ऐनबहादुर सिंहले बताए ।
सडक निर्माण क्षेत्रमा कडा चट्टान लागेको र विस्फोटक पदार्थ आवश्यक भएकाले जिल्लाका सबै प्रक्रिया पूरा गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको तर मन्त्रालयबाटै ढिलाइ हुँदा समस्या भएको उनले जानकारी दिए ।
ट्रयाक खोल्ने ठाउँमा विस्फोटन गर्नुपर्ने र विस्फोटक पदार्थका लागि आवश्यक प्रक्रिया भइसकेकाले काम सुस्तगतिमा देखिए पनि तोकिएको समयमा काम सम्पन्न हुने ठेकेदार कम्पनी स्वच्छन्द बानियाँ नागार्जुन जेभीका सञ्चालक दीपकबहादुर सिंहको भनाइ छ ।
सो सडक छिटो निर्माण गर्न सेती लोकमार्ग अन्तर्गत उत्तरखण्ड (चैनपुर–ताक्लाकोट) मार्गको छुट्टै कार्यालयसमेत स्थापना गरिएको छ ।
चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मानिएको यस सडकको लम्बाइ ११८ किलोमिटर छ । साइपाल गाउँपालिकाको धुलीदेखि सीमा क्षेत्र उरै भन्ज्याङसम्म ६० किलोमिटरको डीपीआरसमेत तयार भइसकेको छ ।
यो सडकखण्ड निर्माण गर्न सके सुदूरपश्चिम प्रदेश त्रिदेशीय व्यापारिक क्षेत्रका रूपमा स्थापित हुने बताइएको छ ।