एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल हुँदै (लाइभ)
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई प्रतिनिधि सभाको बैठकमा टेबल गरिंदै छ।
सभामुख अग्निप्रसाद सापाकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा एमसीसीलाई अघि बढाउने सहमति जुटेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।
बैठकमा एमसीसी सदनमा टेबल गर्ने वा नगर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएकामा सत्तारूढ कांग्रेसका तर्फबाट आजै प्रस्ताव पेश गर्ने सहमति जुटेको हो।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्ने सहमति भएको हो।
२६ माघ २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा पेश गर्न स्वीकृति दिएको थियो। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता संसद्को साधारण बहुमतबाट अनुमोदन गर्न ३० असार २०७६ मा संसद्मा दर्ता गरेका थिए।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था समितिको बैठकमा नेपाली कांग्रेसतर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, संसदीय दलका सचेत पुष्पा भुसाल सहभागी थिए।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) संसदीय दलका सचेतक रेखा शर्मा र सांसद जयपुरी घर्ती, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेत जीवनराम श्रेष्ठ तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लक्ष्मणलाल कर्ण र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल उपस्थित थिए।